पौने दुई अर्वको विदेशी मुद्रा अपचलन : हाइटेक इन्टरनेसनलका सञ्चालकविरुद्ध मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले हाइटेक इन्टरनेसनलका सञ्चालकविरुद्ध विदेशी मुद्रा अपचलनको अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
विभागले भन्सार चोरी पैठारी गरी माल वस्तुको कानुनविपरित कारोबार गर्दै विदेशी मुद्रा अपचलन गरेको अभियोगमा हाइटेकका सञ्चालक हरिकुमार श्रेष्ठविरुद्ध १ अर्व ७१ करोड रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।
विभागका अनुसार श्रेष्ठले भन्सार बिन्दुबाट माल वस्तु पैठारी गर्दा लुकाई छिपाई चोरी पैठारी गरी नेपाल ल्याई त्यसको कारोबार नदेखाउने गरेको खुलेको छ । त्यसरी आयातित सामानको भुक्तानीका लागि बैङ्कको स्वीकृति विना श्रेष्ठले विदेशी मुद्रा पठाउने गरेको विभागले उल्लेख गरेको छ ।
श्रेष्ठविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७(१) बमोजिम जफत वा असुल उपर गर्न र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ (१), बमोजिम बिगोको तीन गुणासम्म जरिवाना र दफा १७ (८) र तथा १७ (९) बमोजिम ३ वर्षसम्म कैद सजाय समेत हुने गरी माग दाबी लिई मुद्दा दायर गरिएको छ ।








