तरुण दलले रक्तदान कार्यक्रम गर्ने, ३ सय पाउण्ड जम्मा गर्ने लक्ष्य

चितवन। जिल्लामा बढ्दो रगतको अभावलाई मध्यनजर गर्दै नेपाल तरुण दल चितवनले भोलि आइतबार रत्ननगरमा बृहत् खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपाल तरुण दल चितवनको आयोजना तथा नेपाल तरुण दल क्षेत्र नं. १ र ने.वि.संघ क्षेत्र नं. १ को सह–आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको शनिवार रत्ननगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपाल तरुण दल चितवनका सभापति राजन ताम्राकारले कोभिड १९ को महामारीमा चितवनमा रगतको अभाव भएसँगै रक्तदान जस्तो महान् कार्य गर्न लागिएको जानकारी दिए ।

रत्ननगर–१ मा रहेको हरिहर बेन्क्युटमा बिहान ८ बजे देखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम हुने बताउँदै कम्तीमा पनि ३ सय भन्दा बढी रगत सङ्कलन गर्न लक्ष्य लिइएको छ ।

नेपाल तरुण दल चितवनका सचिव प्रह्लाद उप्रेतीले तरुण दलको अहिलेको कार्य समितिले २०७३ साल असोजदेखि हाल सम्म ९०० पाउण्ड भन्दा बढी रगत सङ्कलन गरी सकेको जानकारी दिँदै निकट भविष्यमा नै चितवनमा सबैभन्दा धेरै रगत सङ्कलन गर्ने संस्था आफूहरू हुने बताए ।

उप्रेतीले तरुण दलले अहिलेसम्म सडकमा रहेका बेवारिसे मानिसहरूलाई खाना खुवाउनेदेखि लिएर, गरिबीका कारणले गर्दा रोजीरोटी गुमाएकाहरूलाई सहयोग गर्ने, कोभिडको बेला प्रहरी प्रशासन, अस्पताल तथा विभिन्न सङ्घ संस्थामा मास्क, स्यानिटाइजर, औषधि वितरण तथा अलपत्रमा परेकाहरूको उद्धारमा सधैँ लागि रहेको बताए ।

उक्त रक्तदान कार्यक्रमका संयोजक तथा नेपाल तरुण दल चितवनका सदस्य सुजन क्षेत्रीले कार्यक्रम भव्य रूपमा सम्पन्न हुने विश्वास लिँदै चितवन जिल्लाका कुनै पनि ठाउँबाट जो कोही पनि आएर रक्तदान गर्न सकिने तथा यातायातको सुविधा नभएकाहरूलाई सवारी साधनको पनि व्यवस्था गरिने बताए ।

कार्यक्रमको सह–आयोजक ने.वि.सङ्घ क्षेत्र नं. १ का सभापति आयुष चन्द्र श्रेष्ठले कार्यक्रमको तयारी गर्ने क्रममा विगत एक हप्ता देखि नै सम्पूर्ण टिम नै सक्रिय भई लागेको बताए ।

प्रतिक्रिया