मकालु खबर दिनभर : यी हुन् आजको प्रमुख १० समाचारहरु (भिडिओसहित)

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : डा. केसीलाई कात्रो पठाउने तयारी हो ?
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग वार्ता नगरेको भन्दै सरकारसँग आक्रोश पोखेको छ ।

आज कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै डा. केसीसँग वार्ता नगरी कात्रो पठाउने तयारी गरेको हो ? भनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

कांग्रेसको पालामा कयौँ पटक डा. केसी अनशन बस्दा वार्ता गरेर मागहरू पूरा गरिएको दाबी गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीमा लोकतान्त्रिक संस्कार नभएको आरोप समेत लगाए ।

सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, स्वास्थ्य प्रवक्ता भन्छन्–‘अस्पतालले धानेसम्म लकडाउन् हुँदैन’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुनः लकडाउन् नहुने बताएका छन् ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस)ले २५ हजार सक्रिय संक्रमितको संख्या नाघेमा पुनः लकडाउने गर्नु भनी गरेको सिफारिसबारे प्रवक्ता गौतमले यस्तो बताएका हुन् ।

यस्तै उनले अस्पताल र बेडले भ्याएसम्म लकडाउन् गर्ने मनस्थितिमा सरकार नरहेकोसमे बताए । आजको अध्यावधिक विवरणअनुसार आजको सम्मको संक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ ।

कोरोना संक्रमितको संख्या बढेको बढ्यै : गत २४ घण्टामा थपिए ३,४३९ नयाँ संक्रमित
गत २४ घण्टामा थप १५ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँग मृतकको संख्या ५ सय ७८ पुगेको छ । यस्तै गत २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा संंक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये ६८ हजार ६ सय ६८ जना निको भएर घर फर्किएका छन् । यक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ ।

बाबुराम भट्टराईले ‘केपी ओली महेन्द्रपथका अवतार’ किन भने ?
जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशहरुका नाम जाति र भाषाको पहिचानको आधारमा नराखिएको आक्रोश पोखेका छन् ।

हिजो मात्रै प्रदेश नं. ५ को नामाकरण लुम्बिनी दुई तिहाईले पास भएपनि डा. भट्टराईले आक्रोश व्यक्त गरेका हुन् । उनले जाति र भाषाको आधारमा प्रदेश नामाकरण गर्दा देश टुक्रिन्छ भन्नेहरुलाई भारत र अमेरिकाको उदाहरण हेर्न सुझाएका छन् ।

प्रदेशका नाम नदी र भूगोलको पहिचानमा मात्र राख्नुपर्ने तर, विविध जाति र भाषाको पहिचानमा राख्न भन्दै नेता भट्टराईले प्रश्नसमेत गरेका छन् ।

यस्तै उनले जनयुद्धताका शहीदहरुको सपनाविपरीत अहिलेको सरकार रहेको उल्लेख गर्दै शहीदहरुसँग माफीसमेत मागेका छन् ।

जाजरकोट जीप दुर्घटना : वडाध्यक्षसहित ५ जनाको मृत्यु, घटनाबारे थप बुझ्दै प्रहरी
जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको ज्यान गएको छ । जुनीचाँदे गाउँपालिका वडा नं. १ औलखोलानजिक भएको जीप दुर्घटनामा परी सोही वडाका अध्यक्षसहित ५ जनाको ज्यान गएको हो ।

बुधबार दिउँसो २ बजेको समयमा भे १ ज ९३५ नम्बरको जीप दुर्घटनामा पर्दा सवार उनीहरुको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

जीप सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घनाको प्रकृतिको बारेमा थप बुझ्दै गरेको प्रहरीले जनाएको छ ।

युवराज खतिवडासहित प्रस्तावित तीन राजदूतविरुद्ध उजुरीको आह्वान
संघीय संसदको संसदीय सुनुवाई समितिले प्रस्तावित तीन राजदूतविरुद्ध उजुरीको आह्वान गरेको छ । समितिको बुधबार बसेको बैठकले युवराज खतिवडासहित लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्माविरुद्ध उजुरीको आह्वान गरेको हो ।

उजुरीकर्ताको नाम गोप्य राखिने समितिले जनाएको छ । सूचनामा सिफारिस गरिएका व्यक्तिलाई राजदूत नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आाधार एवं सबुद प्रमाणसहित उजुरी दिन भनिएको छ ।

सबै तहका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय
सरकारले कोभिड १९ महामारीका कारण रोकिएका विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानका सबै परीक्षाहरु सञ्चालनका लागि अनुमति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरी सबै शैक्षिक संस्थालाई परीक्षा सञ्चालनको सैद्धान्तिक सहमति दिइएको उनको भनाइ छ ।

राप्रपालाई निर्वाचन आयोगले दियो वैधानिकता, कमल थापा भन्छन्–‘गौरव लागेको छ’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको छ ।

सो कुराको पुष्टि राप्रपा अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् गरेका छन् ।

एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ र चुनावचिन्ह ‘हलो’ हुने भएको छ ।

आइपिएलमा मुम्बई पुनः र्शीष स्थानमा
युएईमा जारी आइपिएलमा मुम्बई इन्डियन्स पुनः शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेपछि मुम्बईले पुनः शीर्ष स्थानमा कब्जा जमाएको हो ।

मुम्बईले ६ खेलबाट ८ अंक जोड्दा रनरेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको दिल्ली क्यापिटल्सको पनि ५ खेलबाट ८ अंक छ ।
अबुधावीमा भएको खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले ४ विकेटको क्षतिमा १९३ रन जोडेको थियो ।

उसका लागि सूर्यकुमार यादवले ७९ रनको योगदान दिए । उनले ४७ बलमा ११ चौका र २ छक्का प्रहार गरेका थिए ।

रसायन शास्त्रतर्फको नोबेल पुरस्कार दुई महिला वैज्ञानिकलाई
यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार दुई महिला वैज्ञानिकलाई प्रदान गरिएको छ ।

बुधबार फ्रान्सकी इम्यानुअल्ले कार्पेन्टियर र अमेरिकाकी जेनिफर एलाई संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

द रोयल स्विडिस एकेडेमी अफ साइन्सले उनीहरुलाई ‘जीनोम इडिटिङ’ को तरिका पत्ता लगाएकोमा यो पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । यो मानिसको जीवनको कोड (जीन) परिवर्तन वा सुधार गर्ने तरिका हो ।

 

प्रतिक्रिया