८२ लाख लागतमा चाबहिल चाेकमा निर्माण भएकाे आकाशे पुलकाे उद्घाटन

काठमाडौं । काठमार्डाैं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड महामारीको समस्या समाधान गर्दै पार्क निर्माण र हरियाली प्रवर्द्धनलाई जोड दिएको बताएका छन् ।

वडा ६ मा मात्रै करीब ८ करोड रुपैयाँ लागतमा २ वटा पार्क निर्माण भइरहेको पनि उनले जानकारी दिए । आज बिहान आकाशे पुलको उद्घाटन, वडा भवन र पार्क निर्माणस्थलको अवलोकनपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

वडा ७ चाबहिल चोकमा आकाशे पुलको उद्घाटनपछि मेयर शाक्यले वडा ६ को भवन निर्माण स्थल, त्यही वडाको निर्माणाधीन बागमती नगर पार्क र शान्ति नमूना पार्क, वडा ७ को मचागाः पार्कको अवलोकन गरेका थिए ।

अवलोकनका क्रममा वडा ६ कार्यालय भवन निर्माण कार्यको प्रगति विवरण लिएका थिए । त्यस्तै बागमतीनगर र शान्ति नमूना पार्क निर्माण स्थलको अवलोकन गरेपछि उनले भने, ‘महानगरका क्षेत्रगत काममध्ये आजको अवलोकन यात्रु सुरक्षा तथा ट्राफिक व्यवस्थापन, पार्क निर्माण र हरियाली प्रवर्द्धन कार्यक्रममा केन्द्रीत छ ।’

त्यस्तै मेयर शाक्यले काठमाडाैंमा पार्किङ, व्यवस्थापनमा ठुलाे समस्या रहेकाे बताए । कसैले जग्गा उपलब्ध गराए महानगरलेनै पार्किङ भवन बनाइदिने उनकाे भनाइ छ ।

आकाशे पुलको संख्या थपिँदै

फलामबाट बनेको चाबहिलको पुलको लागत ८२ लाख ६६ हजार ७८३ रुपैयाँ हो । बोलपत्रबाट छनौट भएको कान्छामान निर्माण सेवाले यसको निर्माण गरेको हो । २०७६ कार्तिक २७ गते नै सम्झौता गरेर काम थालनी गर्ने बेलामा सडक किनारा क्षेत्र कम भएकोले निर्माण कार्य हुन सकेको थिएन । जग्गाको समस्या समाधान गरेर माघ १६ गते पुलको शिलान्यास गरिएको थियोे । सम्झौता बमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो ।

आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको छ ।

योसँगै वडा ८ को जयबागेश्वरीमा पनि आकाशे पुल निर्माण भइरहेको छ । महानगरका मेयर शाक्यका अनुसार मित्रपार्कबाट पशुपति जाने क्षेत्रका स्थानीयले पनि यस्तै पुल निर्माण गराउन माग गरेका छन् ।

वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल भन्छन्- ‘यसैको समानान्तर हुने गरी अर्को पाटोमा पनि यस्तै प्रकारको पुल बनाउन आवश्यक छ । प्रक्रिया यसका लागि प्रक्रिया अगाडि बढाइनेछ । आकाशे पुलले पैदल यात्रुलाई त सजिलो हुन्छ नै उनीहरुबाहेक दिनरात सडकमा बसेर सवारी व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको काममा पनि धेरै खुकुलो हुनेछ ।’

प्रतिक्रिया