मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचारहरु (भिडिओसहित)

भालुवाङ राजधानी बनाउने प्रस्तावको विरोधमा प्रदेशसभामा तोडफोड

भालुवाङ स्थायी राजधानी राख्ने प्रस्तावको विरोधमा प्रदेश नं. ५ को प्रदेशसभामा विपक्षी कांग्रेसले तोडफोड गरेको छ ।

स्थायी राजधानी भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावमाथि छलफल सुरु भएसँगै विपक्षी दलका सांसदहरुले तोडफोड गरेका हुन् ।

लुम्बिनी नै स्थायी राजधानी हुुनुपर्ने माग राख्दै विपक्षी सांसदहरुले बैठक कक्षमा नाराबाजी गर्दै टेबुल कुर्सी भाँचेका हुन् ।

यसअघि आजै कांग्रेसको विरोधका कारण बैठक रोकिएको थियो । दोस्रोपटक सुरु भएको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले छलफल गर्ने प्रस्ताव पेश गरेसँगै विपक्षीले नाराबाजी गरेका थिए ।

ओली–प्रचण्डबीच छलफल, मंगलबारका लागि तोकियो सचिवालय बैठक

पटक पटक स्थगित भएको सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि (मंगलबार) बस्ने भएको छ ।

मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

यसअघि शनिबार र आइतबारका लागि तय भएको बैठक स्थगित गरिएको थियो।

आजको कोरोना अपडेटःथप १९ को मृत्यु, संक्रमित कति ?

नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ५५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा दुई हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक हजार १३३ जना संक्रमणमुक्त भएर फर्किएका छन् ।

आजको थप अपडेटसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । आज थपिएका संक्रमितमध्ये १ हजार ५ सय ३१ जना भने काठमाडौं उपत्यकाका रहेका छन् ।

आक्रोशित सांसदलाई मुख्यमन्त्री पोखरेलको सान्त्वना : ‘बुटवललाई वित्तीय राजधानी बनाउँछु’

प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले असन्तुष्ट नेकपाका सांसदहरुलाई बुटवललाई वित्तीय राजधानी बनाउने आश्वासन दिएका छन् ।

दाङको भालुवाङलाई प्रदेशको प्रशासनिक राजधानी बनाउन तम्सिएका मुख्यमन्त्री पोखरेलले बुटवललाई वित्तीय र पर्यटकीय राजधानी बनाउने प्रतिबद्दता जनाएका हुन् ।

दाङको भालुभाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेश सभामा पेश भएलगत्तै सत्तारुढकै १४ सांसदहरुले फरक मत राखेपछि पोखरेलले यस्तो बताएका हुन् ।

अबदेखि बोल्दा सजगता अपनाउछु : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाका विषयमा आफूले दिएको अभिव्यक्तिले केही अलमल निम्त्याएको बताएका छन् ।

विश्वको तुलनामा नेपालमा बलात्कार र महिलाहिंसाको अवस्था चिन्ताजनक छैन भन्ने अभिव्यक्ति विवादमा आएपछि थापाले आफ्नो अभिव्यक्तिले अलमल निम्त्याएको बताएका हुन् ।

थापाले गत बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भएको छलफलमा विश्वका २ सय बढी मुलुकको तथ्याङ्क विश्लेषण गर्दा नेपालको अवस्था चिन्ताजनक नरहेको बताएका थिए ।

दाङ राजधानी बनाउने प्रस्तावमा मतदान गर्न नेकपाको ह्विप

सत्तारुढ नेकपाको प्रदेश ५ को संसदीय दलले सो प्रदेशको राजधानी दाङ गर्ने प्रस्तावमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको छ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको नेकपा संसदीय दलको बैठकले दाङ राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दै नेकपा सांसदहरुलाई सो प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको हो।

बुटवलमा रहेको अस्थायी राजधानी सारेर दाङको भालुवाङ लग्ने निर्णय भएपछि अहिले नेपाली कांग्रेस, अन्य विपक्षी दल लगायतले बुटवलमा आन्दोलन चर्काएका छन्।

चीनले हुम्लामा भूमि मिचेकोबारे सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

सर्वोच्च अदालतले चीनले हुम्लामा नेपाली भूमि मिचेको भन्दै दायर रिटमा सरकारसँग जवाफ माग गरेको छ ।

अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो ।

रिटमा ‘नेपालको भूमि के कति मिचिएको छ त्यसको तुरुन्तै नापनक्सा गरी कूटनीतिक माध्यमबाट सो मिचिएको भूमि फिर्ताको पहल नगर्ने हो भने नेपाल सार्वभौमसत्ता माथि नै आँच आउने हुँदा सरकारको नाममा उक्त भूमि फिर्ता गर्न कूटनीतिक तहबाट दुई राष्ट्रबीच वार्ता गरी नापनक्सा गर्न भनी अन्तरिम आदेश’ माग गरिएको थियो ।

डा. केसीको समर्थनमा वीपी प्रतिष्ठानका आवासीय डाक्टरहरुको प्रदर्शन

स्वास्थ्य शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनसनमा बस्दै आएका डाक्टर गोविन्द केसीको समर्थनमा वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरुले आन्दोलन थालेका छन् ।

वीपी प्रतिष्ठान, वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल लगायतका देशभरीका आवासीय डाक्टर आन्दोलनमा उत्रिएका छन् । आज सोमबार उनीहरुले प्रतिष्ठानको जी ओपीडी अगाडी धर्नामा बसी दैनिक दुई घण्टा आकस्मिक लगायतका सम्पूर्ण उपचार सेवा २ घण्टा ठप्प पारेका छन ।

सरकारले केसीको मागको सम्बोधन नगरे वा उनको ज्यान रक्षाका निम्ती कुनै कदम नचाले आफुहरु जस्तोसुकै कदम चाल्न बाध्य हुने जुनियर रेसिडेन्ट वेलफेयर सोसाईटीका उपाध्यक्ष डा। पदम नेपालीले बताए ।

आयशा र पार्वतीलाई प्रथम बंगलादेश तेक्वान्दो अनलाइन स्वर्ण

आयशा शाक्य र पार्वती गुरुङले प्रथम बंगलादेश तेक्वान्दो अनलाइन अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका छन् ।

महिलातर्फ आयशाले ४० वर्षमुनि र पार्वतीले ३० वर्षमुनि उमेर समूहमा स्वर्ण जितेका हुन् ।

पार्वतीले स्वर्ण जितेको प्रतिस्पर्धामा निता गुरुङ रजतमा सीमित भइन् । पुरुष २४ वर्षमुनि कृष्णबहादुर तामाङले रजत हात पारे भने दीपेन्द्र गुरुङ छैटौं स्थानमा रहे ।

सोही उमेर समूहको महिला प्रतिस्पर्धामा सिना मादेन दोश्रो भइन् ।

नोबेल पुरस्कार घोषणा सप्ताह शुरु, सोमबार चिकित्साशास्त्र तर्फको पुरस्कार घोषणा

सन् २०२० को नोबेल पुरस्कार घोषणा सप्ताह आजदेखि सुरु भएको छ । सप्ताहको पहिलो दिन चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार  तीन  वैज्ञानिकलाई दिइने घोषणा गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ ।

जअनुसार रक्तजनित हेपाटाइटिस, सिरोसिस तथा लिभर क्यान्सर रोगबारे नयाँ आविष्कार गरेका दुई अमेरिकी तथा एक बेलायती वैज्ञानिकलाई यस वर्षको चिकित्साशास्त्र तर्फको पुरस्कार दिइने घोषणा गरिएको हो ।

नोबेल पुरस्कार विजेताले एउटा स्वर्ण पदक र ११ लाख १८ हजार डलर नगद पुरस्कार प्राप्त गर्दछन् ।

प्रतिक्रिया