अमेरिकी राष्ट्रपतीय निर्वाचन : अन्तरिक्षबाट समेत मतदान !

एजेन्सी । अमेरिकामा नोभेम्बरमा राष्ट्रतीय निर्वाचन हुँदैछ । अमेरिकाले निर्वाचनमा अन्तरीक्षमा रहेका आफ्ना नागरिकहरुले समेत राष्ट्रपतीय चुनावमा भोट हाल्न पाउने व्यवस्था गर्दै आएको छ ।

पृथ्वीभन्दा २ सय माइल टाढा रहेको इन्टरनेसनल स्पेस स्टेसनमा रहेका अमेरिकी अन्तरीक्षयात्रीहरुले आगामी नोभम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनावमा मतदान गर्न पाउनेछन् । निर्वाचनमा भोट हाल्न अन्तरीक्षमा रहेका अमेरिकी अन्तरीक्षयात्रीका लागि विशेष व्यवस्था गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

यसअघि सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अन्तरीक्षयात्रीहरु ग्रेग चेमिटफ र एडवर्ड माइकल फिंकले अन्तरीक्ष स्टेसनबाट विशेष प्रविधिको माध्यमले भोट हालेका थिए ।

अमेरिकाको कानून अनुसार यदि चुनावका बेला कोही अमेरिकी नागरिक अन्तरीक्षमा भएमा उनीहरुले संघीय पोस्टकार्ड आवेदन अर्थात् एफपिसिएको माध्यमबाट मतदान गर्न सक्दछन् । यसका लागि सबैभन्दा पहिले नासाको सचिवालयमा सूचना दिनुपर्दछ । साथै अन्तरीक्षबाट अनलाइन मतदान गर्न अनुमति लिएसँगै गोप्य मतपत्र प्राप्त गर्नुपर्छ ।

निर्वाचनकाे पहिलो दिन अन्तरीक्षयात्रीलाई एक एनक्रिप्टेड विद्युतीय मतपत्र प्रेषित गरिन्छ । इमेल मार्फत पठाइएको सोही युनिक मतपत्रको प्रयोग गरी अन्तरीक्षयात्रीले मतदान गर्न सक्नेछन् । अन्तरीक्षबाट गरिएको मतदानको डाटा पृथ्वीमा रहेको नासाको स्टेसनले डाउनलिंक गरेर विद्युतीय माध्यमबाटै सम्बन्धित निर्वाचन क्षेत्रमा गणना हुन्छ । मतदान तथा मेसिनले गर्ने मतगणना पूर्ण रुपमा गोप्य हुने बताइएकाे छ ।

अहिले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालमा छन् । काेराेना भाइरस (काेभिड १९) संक्रमित उनी अस्पताल भर्ना भएपछि निर्वाचन सर्न सक्ने आँकलन पनि गरिएको छ । निर्वाचनकाे तारिखमा परिवर्तन गर्नैपरे यो निर्णय अमेरिकी सांसदले गर्नेछन्,  ट्रम्पले होइन । चुनावको तारिखमा कुनै परिवर्तनको पक्षमा संसदको दुवै सदनमा बहुमत हुन आवश्यक छ ।

दुवै सदनका सांसदको बहुमत आएमा निर्वाचन मिति परिवर्तन हुन सक्छ, जसको सम्भावना कम छ । किनकी अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेभिभ्स’ मा डेमोक्रेटिक पार्टीको बहुमत छ र उनीहरुले पहिले नै भनेका थिए कि निर्वाचनमा ढिलाइको कुनैपनि प्रस्तावलाई समर्थन गरिँदैन ।

प्रतिक्रिया