कोरोनाको कहर रात्रिकालिन व्यवसायमा: लकडाउनले सुकायो, अब कसरी अगाडी बढ्ने ?

काठमाडौं । १० महिनाअघि राजधानीको प्रमुख पर्यटकीय स्थल ठमेल ज्वाजल्यमान थियो । २४ सै घण्टा आन्तरिक तथा बाह्य पर्यटकले खचाखच हुने ठमेल अहिले सुनसान छ । सात महिनादेखिको लकडाउन केही खुकुलो भएपनि ठमेलका रात्रिकालिन व्यवसाय अझै खुल्न सकेका छैनन् । सरकारले पनि रात्रिकालिन व्यवसाय खोल्ने कुनै तयारी गरेको छैन ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने मनोरञ्जनको प्रमुख क्षेत्र बन्दै गएको डान्स रेष्टुरेन्ट तथा क्लबहरु ठप्प हुँदा मुलुकको अर्थतन्त्रलाई असर त गरेको छ नै, त्यसमा आश्रित हज्जारौंको रोजगारी समेत गुमेको अवस्था छ । आन्तरिक, बाह्य पर्यटकले खचाखच हुने ठमेलमा पछिल्लो समय ब्राण्ड बनेर उदाएको एलओडी (लर्ड अफ द ड्रिङ्स) पनि नराम्ररी थलिएको छ । १६० भन्दा बढि कर्मचारीसहित राजधानीबासीलाई मनोरञ्जन गराउँदै आएको एलओडी नेपालकै उत्कृष्ट र भब्य नाइट क्लब हो ।

सञ्चालनमा आएको तीन वर्ष भएपनि आजभन्दा डेढ वर्षअघि १७ करोड बढि लगानी सहित नयाँ व्यवस्थापनमा आएपनि एलओडी युवाहरुमाझ लोकप्रिय भएको हो । एलओडीमा १६० भन्दा बढिले रोजगारी पाएकोमा पछिल्लो ७ महिनादेखि क्लब बन्द हुँदा लगानीकर्ता मात्र हैन त्यहाँ कार्यरत कर्मचारीलाई पनि आर्थिक असर गरेको सञ्चालकहरु बताउँछन् ।

एलओडीलाई मात्र हैन पर्यटनसम्बद्ध सबै व्यवसायलाई कोभिड–१९ ले नराम्ररी असर गरेको एलओडीका कार्यकारी निर्देशक रविन श्रेष्ठको भनाई छ । कोरोनाको असर नेपालमा पनि पर्न थालेपछि सरकारले लकडाउन गर्यो । सुरुसुरुमा श्रेष्ठले लकडाउन धेरै समय नजाला भनेर खासै चिन्ता लिएनन् तर, जब हप्ता दिन, १५ दिन हुँदै एक महिना पुग्यो उनलाई पनि अत्यास लाग्न थालेछ ।

‘कोरोनाले यस्तो असर गर्छ भनेर कसैले कल्पना नै गरेको थिएन । सुरुको लकडाउनमा घरभित्र बस्दा बैग्लै अनुभूति भयो तर, जव १५ दिन १ महिना हुँदै दोस्रो महिना लागेपछि भने चैं अब कसरी अगाडी बढ्ने भन्ने चिन्ता भयो ।’ लकडाउनको एकाध दिन घरपरिवारसँग विताएका श्रेष्ठले लगातार सात महिनासम्म लकडाउन हुँदा रात्रिकालिन व्यवसायहरु तहसनहस नै भएको जिकिर गरे ।

‘हामीसँग डेढ सयबढि स्टाफहरु छन्, दैनिक पाँच सय बढि कष्टमरहरु हुनुहुन्थ्यो । शुक्रबार र शनिबार त २ हजार २५ सय हुन्थे । एलओडी सबैको मनोरञ्जन गर्ने प्रमुख स्थल बनिसकेको थियो तर, लकडाउनले सबै ध्वस्त भयो ।’ श्रेष्ठ भन्छन् । अहिले एलओडीका प्रायः स्टाफहरु गाउँघर गएका छन्, काठमाडौंमै भएका अभर परेकाहरुलाई एलओडीले व्यवस्थापन गरिरहेको छ ।

ठमेलमा मात्र साना ठूला गरी तीन दर्जनको हाराहारीमा नाइट क्लबहरु रहेका छन् । त्यसमाथि करोडौ लगानीमा खोलिएका क्लब, रेष्टुरेण्ट बारहरु एक दर्जनको हाराहारीमा छन् । सयौं कर्मचारीहरु राखेर भब्य रुपमा चलाईएका यस्ता नाइट क्लबमा एकै दिन करोडौंको कारोबार हुने गरेकोमा सात महिनायता ताल्चा लागेको छ । ‘सबै क्षेत्र तहस नहस भएकाले चित्त बुझाउने ठाउँछ । कोभिड–१९ ले पर्यटन तथा मनोरञ्जनका क्षेत्रलाई धेरै नै असर गर्यो ।’

डिसेम्बर २०१९ मा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ ले १० महिने यात्रा गरिसक्दा पनि यसको कहर सकिएको छैन । विश्वका ९० प्रतिशत देशहरु कोरोनासँग लडिरहेकाले कुनै बेला यसबाट मुक्ति मिल्ला कि भन्ने आश भने छ । रविन पनि त्यहि आशमा छन् ।

‘महामारी हामीलाई मात्रै भएको हैन, विश्वका शक्तिशाली देशहरु समेत यसको चपेटामा परेकाले कहिँ न कतै यसको भ्याक्सिन बन्ला र उपचार आउला भन्ने आश छ । त्यतिञ्जेल पर्खनुको विकल्प पनि भएन ।’ कोरोना भाइरस जाला र एलओडी सूचारु गरौला भनेर बसेका रविन आशावादी सुनिए ।

कोरोना संक्रमण बढ्दै गएपनि सरकारले लकडाउन खुकुलो गरेकोले रात्रिकालिन व्यवसाय पनि केहि समयमा खोल्न सकिन्छ कि भन्ने सोच छ । तत्कालै नभएपनि डिसेम्बर अन्तिम वा अंग्रेजी नयाँ वर्षको छेउसम्म एलओडी खोल्ने योजना भएको जनाए ।

‘अरु क्षेत्र खुकुलो भएपनि रात्रिकालिन व्यवसाय भनेको भिडभाड हुने, जोखिम हुने क्षेत्र भएकाले पर्याप्त तयारी र योजना विना खोल्न सकिँदैन । हामीले अब कसरी सुरक्षित रहने र कष्टमरलाई पनि कसरी सुरक्षित राखेर व्यवसाय चलाउने चलाउने रणनीति बनाउनु पर्छ ।’ श्रेष्ठ भन्छन्–‘कामै नगरी बस्न सक्ने अवस्था छैन, सरकारका मापदण्डहरु पुरा गरेर, सेनिटाइज गरेर, ज्वरो नापेर मास्कहरु लगाएर व्यवसाय खोल्न सकिन्छ कि, अरु बेला २ हजार कष्टमर अट्थे, अब पाँच सय वा थोरै मात्र कष्टमर राखेर खोल्ने होकि !’

स्वास्थ्य सुरक्षा भनेको आफैंले पालना गर्नुपर्ने भएकोले कोरोना संक्रमणबाट जोगिन मुख्य रुपमा कष्टमर आफैं सचेत हुनुपर्ने उनको भनाई छ । नियमित सेनिटाइज गर्ने, मास्क लगाउने, भिडभाडमा कम जाने, सोसियल डिष्टेन्स मेन्टेन गर्ने हो भने विस्तारै कोरोनालाई जित्दै जान सकिने श्रेष्ठ भन्छन्–‘अब मान्छे आउँछन् भन्दैमा हजार दुई हजार छिराउने हैन कि, मापदण्ड बनाएर थोरै कष्टमरलाई सेवा दिने होकि भन्ने सोच बनाएका छौं ।’

सरकारले रात्रिकालिन व्यवसाय सञ्चालनमा सहयोग गरे आउँदो डिसेम्बर वा २०२१ को जनवरी १ बाट एलओडी सञ्चालनको तयारी गरिएको छ । अहिले सुनसान रहेको एलओडीलाई आवश्यक मर्मत सम्भार गरिँदैछ । रात्रिकालिन व्यवसाय लामो समय बन्द हुँदा आर्थिक रुपमा मारमा परेका व्यवसायीहरुले राज्यले आवश्यक सहयोग नगरेको गुनासो पनि छ । बैंकबाट करोडौं कर्जा लिएकाहरुलाई बैंकहरुले आवश्यक सहयोग गरेको र अब राज्यले ट्याक्स, भ्याट र मनोरञ्जनका क्षेत्रमा सहुलियत दिएर व्यवसाय टिकाउन सहज हुने व्यवसायीको भनाई छ ।

एलओडी राजधानीको सम्भ्रान्त वर्गमाझ लोकप्रिय क्लब हो । अन्तर्राष्ट्रियस्तरको क्लबमा सम्भ्रान्त वर्ग, सेलिब्रेटी, कर्पोरेट, बैंकर, चिकित्सक, इन्जिनियर तथा विदेशी पर्यटकहरु पनि नाचिरहेको भेटिन्छन् । खासगरी शुक्रबार र शनिबार एलओडी राजधानीका सभ्रान्त वर्गहरूबाट खचाखच हुन्छ । पूर्वराजा ज्ञानेन्द्र समेत एक समय क्लबमा गएर नाचेपछि एलओडीको सर्वत्र चर्चा भएको थियो ।

प्रतिक्रिया