गृहलाई स्वास्थ मन्त्रालयको पत्र : तोकेको भन्दा बढी शुल्क लिने निजी स्पताललाई कारबाही गर्नु

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसिआर परीक्षणका लागि तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृहलाई पत्राचार गरिएको जानकारी दिए ।

सरकारले पिसिआर परीक्षणका लागि दुई हजार निर्धारण गरे पनि केही निजी प्रयोगशाला तथा अस्पतालले बढी शुल्क लिँदै आएका छन् । उनीहरुले पीसीआर शुल्क बापत रु तीन हजार ८९९ लिँदै आएका जनाएका छन् ।

स्टार, ह्याम्स, वि एण्ड वि, नेपाल मेडिसिटी अस्पतालका प्रयोगशाला, डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर प्रालि, सेन्ट्रल डायगनोस्टिक ल्यावरोटरी एण्ड रिसर्च सेन्टर र इन्ट्राप्रिड डायगनोस्टिक सेन्टरले सरकारले तोकेभन्दा बढी शुल्क लिने गरेका जनाइएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र वाणिज्य विभागलाई बढी शुल्क लिने प्रयोगशालालाई आवश्यक कारबाही गर्न निर्देशन दिइसकेको बताए । ती प्रयोगशालाले तीन हजार ८९९ रुपैयाँ वैज्ञानिक शुल्क भएकोले सरकारले तोकेको दुई हजार रुपैयाँमा परीक्षण गर्न नसक्ने बताएका छन् । ती प्रयोगशालाले सोमबार एक विज्ञप्ति जारी गरी ३ हजार ८९९ मा नै परीक्षण गर्ने बताएका छन् ।

मन्त्रालयले शुरुको चरणमा पीसीआर परीक्षण गर्न पाँच हजार ५०० रुपैयाँ शुल्क तोकेको थियो । रिएजेन्ट अन्तर्राष्ट्रिय बजारमा सस्तो भएपछि मन्त्रालयले परीक्षण शुल्क दुई हजार कायम गरेको थियो ।

तर केही नीजि प्रयोगशालाले भने सरकारले तोकेको भन्दा कम १५०० मा पनि परीक्षण गरिरहेका छन् ।

हालसम्म १० लाख ९ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ ।

प्रतिक्रिया