खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु (भिडियासहित)

१.‘सार्वजनिक गाडी बन्द गरी निजीमा जोरबिजोर प्रणाली लगाऔं, नाकामा सेना खटाई कडा गरौं’
काठमाडौं उपत्यकामा पुनः सार्वजनिक गाडी बन्द गर्न उपत्यका फोरमले माग गरेको छ । फोरमले उपत्यका छिर्ने नाकामा सेना खटाई निजी गाडीमा जोरबिजोर प्रणली लागू गर्न पनि माग गरेको हो । आज बसेको काठमाडौं उपत्यका नगरपालिका फोरमको बैठकले उपत्यका छिर्ने सबै नाकामा सेना खटाई प्रवेशमा कडाई गर्न माग गरेको हो । बैठकले कोरोना संक्रमण कम गर्न यस्तो माग गरेको बताइएको छ ।  फोरमका अध्यक्ष काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य कोरोना संक्रमणका कारण होम आइसोलेसनमै रहेकाले उपाध्यक्ष महर्जनको अध्यक्षतामा बैठक बसेको थियो ।

२.स्वास्थ्य मन्त्रालयले भन्यो : ‘पीसीआर टेस्ट् गरेर मात्रै परीक्षामा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर टेस्ट् गरेर मात्रै परीक्षामा सहभागी गराउने निजी मेडिकल कलेजहरुको निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको छ । लक्षण भएका, संक्रमितको सम्पर्कमा आएकाहरु, अग्रपङ्तिमा काम गर्नेलगायतका सरकारले तोकेको मापदण्डभन्दा बाहिरको मानिसहरुलाई टेस्ट् गराउनु गलत भएको मन्त्रालयले जनाइको छ ।

३ .आजको मन्त्रिपरिषद् बैठकले गरेको यी निर्णयहरु !
आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा. अन्जन शाक्यलाई अधिकार दिने निर्णयसमेत गरेको छ । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री ओली र पुष्पकम दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि बोलाइएको आकस्मिक बैठकले उक्त निर्णयहरु गरेको श्रोतले बताएको छ ।
अध्यक्षद्वयबीचको भेटमा मन्त्रिमण्डल हेरफेरबारे कुराकानी भएपनि बैठकमा भने उक्त कुराले प्रवेश नपाएको एक मन्त्रीले बताए ।

४. एकैदिन १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । हालसम्म ४७७ जनाको मृत्यु भएको छ भने ५३ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । देशभरमा सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

५. ३३ नागरिक अगुवाहरुद्वारा डा. केसीको जीवन रक्षाको माग
चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि निरन्तर अभियानरत अभियन्ता प्रा. डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नागरिक समाजका अगुवाले सरकारसँग अपिल गरेका छन् ।  विगत १४ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनीहरुले आइतबार एक विज्ञप्ति जारी गर्दै सकारसँग जीवन रक्षाका लागि अपिल गरेका हुन् । डा. केसीले भदौ २९ मा जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए ।

६. भान्सेमा कोरोना पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा
नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा सेल्फ क्वरेण्टीनमा बसेका छन् । प्रधानसेनापति निवासको भान्सामा कार्यरत एक सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी सेल्फ क्वरेण्टीनमा बसेका हुन् । शनिबार भान्सेमा कार्यरत ती सदस्यमा सङ्क्रमण पुष्टि भएको थियो । प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षता अपनाउँदै सेल्फ क्वरेण्टीनमा बसेका हुन् ।

७. कांग्रेस नेता दीपक खड्काविरुद्ध किटानी जाहेरी, गाडीले हानेर मान्छे मारेको आरोप
कांग्रेस सभापति शेर बहादुर देउवानिकट मानिने कांग्रेस नेता दीपक खड्काविरुद्ध महानरीय प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी परेको छ । गत असोज ७ मा बा ११ च ४१४१ नम्बरको प्राडो गाडीले बूढानीलकण्ठ वडा नं. ६ का विक्रम कार्की र अनुपा पाण्डे कार्कीलाई ठक्कर दिएर फरार रहेको गाडी कांग्रेस नेता खड्काको भन्दै उजुरी परेको वृतका प्रवक्ता राजकुमार घिसिङले मकालु खबरलाई जानकारी दिए । प्रवक्ता घिसिङका अनुसार गाडी चालकलाई नियन्त्रणमा लिइएको छ भने थप अनुसन्धान भइरहेको छ । घटनामा घाइते भएकी अनुपा पाण्डेको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका श्रीमान विक्रम कार्कीले वृतमा दिएको उजुरीको आधारमा थप अनुसन्धान इरहेको प्रवक्ता घिसिङले बताए ।
प्रत्यक्षदर्शीले किचिएका मानिसको उद्धार गरी त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगेका थिए । प्रवक्ता घिसिङले गाडी कसको हो भनेर यातायात विभागबाट पुष्टि भइनसकेको पनि बताए । मृतक अनुपाको शव त्रिवि शिक्षण अस्पतालमै रहेको छ भने खड्काविरूद्धमा घाइते अवस्थामा रहेका उनका पतिले महानगरीय प्रहरी वृत महाराजगञ्जमा किटानी जाहेरी दिएका छन् ।

८. नेप्से परिसूचक १५६५ विन्दुमा, ३ अर्बमाथिको शेयर कारोबार
आज नेप्से परिसूचक वृद्धि भएर बन्द भएको छ । आज नेप्से परिसूचक ४.२९ अंक वृद्धि भई १५६५.५५ विन्दुमा उक्लिएको हो । आज कारोबार रकममा पनि वृद्धि भएको छ । १९१ कम्पनीको ४२ हजार १०८ पटकको शेयर कारोबारमा एक करोड ९९ लाख ७२ हजार कित्ता शेयर ३ अर्ब १३ करोड ८२ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री सोल्टी होटल लिमिटेडको भएको छ । यो कम्पनीको ४८ करोड ५६ लाखभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

९.हैदराबादमाथि कोलकाताको जित, गिलले बनाएर ७० रन
इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । हैदरावादले दिएको १४३ रनको लक्ष्य पछाएको कोलकोताले १८ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
यो कोलकाताको जारी आइपिएलमा पहिलो जित हो भने हैदराबादको लगातार दोस्रो हार हो । कोलकोताको जितमा शुभमन गिलले अविजित ७० रन बनाए । गीलले ६२ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै ७० रन बनाएका थिए । यस अघि हैदरावादले २० ओभरमा ४ विकेट गुमाउदै १४२ रन बनाएको थियो । जितसँगै कोलकत्ताले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा कोलकत्ता मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो । आइपिएल अन्तर्गत आज राजस्थान रोयल्स र किंग्स इलेभेन पञ्जाबबीच हुँदैछ ।

१०. चीनको कोइला खानीमा च्यापिएर १६ मजदुरको मृत्यु
चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको छ ।
दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ ।

चिनियाँ सरकारी टिभी सिसिटिभीले सो कुराको जानकारी गराएको हो । सो खानीमा कार्बन मोनोअक्साइड ग्याँस विस्फोट भएको हो । जसका कारण ती मजदुरहरु भाग्न नसकेर च्यापिएर ज्यान गएको बताइएको छ । आइतबार बिहान सो दुर्घटना भएको थियो । यस दुर्घटनामा परेर अरु पनि मजदुरहरु सो खानीमा च्यापिएको अनुमान गरिएको छ ।

उद्धारकर्मीहरुले स्वास्थ्यकर्मी तथा औषधिसहितको टोली समेत लिएर त्यहाँ पुगेका थिए । उनीहरुले खानीबाट उद्धार गरिएका नागरिकलाई उपचार गरेर बचाउने प्रयास गरेका थिए । तर पनि १६ जनाको सो खानीभित्रै ज्यान गएको थियो । एक जनालाई उद्धार गरेर बाहिर निकालिएको थियो । अरु पनि सो खानीमा मजदुरहरु परेको हुनसक्ने आशंकामा उद्धारको कार्य जारी राखिएको बताइएको छ ।

चीनमा खानी दुर्घटनामा परी वर्षेनी ठूलो संख्याका नागरिक ज्यान गुमाउन बाध्य हुने गर्दछन् ।

प्रतिक्रिया