मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु (भिडियोसहित)

१. गृहमन्त्रीको अभिव्यक्ति : ‘सरकारले मात्र सीमाको रक्षा गर्न सक्दैन’
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन् ।

दार्चुलाको खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्न सके मात्रै सीमा बलियो हुन सक्ने बताएका हुन् । दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक महत्वको रहेको बताउँदै उनले विश्वका दुई ठूला देश चीन र भारतसँग सीमा जोडिएको यस क्षेत्रलाई सरकारले विशेष महत्व दिएको बताए ।

उनले दार्चुलामा अध्यागमन स्थापनाको लागि छिट्टै आवश्यक निर्णय लिने र व्यासमा प्रभावकारी सञ्चार सुविधाका लागि थप टेलिफोन लाइन जडान गरिने समेत बताए ।

गृहमन्त्री थापासँग व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेललगायत सहभागी थिए ।

२. खानपानमा ध्यान दिए क्यान्सरबाट बच्न सकिन्छ : मन्त्री ढकाल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले खानपान र आहारविहारमा ध्यान दिए क्यान्सर रोगबाट बच्न सकिने बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१औँ वार्षिकोत्सव तथा १६औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस विषयमा जनचेतना जगाउन आवश्यक रहेकामा जोड दिएका हुन् ।

क्यान्सरका संक्रकितमध्ये एक तिहाईको मृत्यु हुने गरेको, एक तिहाईको निको हुने गरेको र एक तिहाईलाई केही मात्रामा घटाउन सकिएको भन्दै मन्त्री ढकालले रोग लाग्नुभन्दा रोग लाग्नै नदिनु उत्तम रहेको बताए ।

विश्वमा वार्षिक ९६ लाखको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । नेपालमा वार्षिक २६ हजार हाराहारीको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । यसमध्ये ७० प्रतिशत न्यून आय भएका व्यक्तिहरु रहेको बताइएको छ ।

३. कोरोना संक्रमणबाट थप ८ जना बिते, बित्नेको संख्या ४६७ पुग्यो
काठमाडौं । गत २४ घण्टामा नेपालमा प १ हजार २ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ५३ हजार १३ जना निको भएर घर फर्किसकेका छन् । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

४.शिक्षामन्त्रीको आग्रह : ‘जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्नू’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्च्यूअल छलफलमा शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गरेका हुन् ।

मन्त्री पोखरेलले न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई असोज पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरुलाई अनिवार्य पुग्नका लागि निर्देशन गरिएको जनाए ।

कतिपय जिल्लाका विद्यालयले अहिले सामाजिक दूरी कायम गरी प्रत्यक्ष सिकाइ पनि आरम्भ गरिसकेका छन् ।

५. पूर्वराजदूत राजभण्डारीको निधन
पूर्व राजदूत पुष्करमान सिंह राजभण्डारीको निधन भएको छ । उपचारका क्रममा गए राति निधन भएको परिवारले जनाएको छ । पाकिस्तानका लागि नेपाली पूर्वराजदूत राजभण्डारीले अफगानिस्तान, टर्की, ईरानका लागि राजदूतको भूमिका निर्वाह गरेका थिए ।

पूर्व राजदूतहरूको संस्थाका अध्यक्ष समेत रहेका राजभण्डारीले परराष्ट्र मन्त्रालयमा १९७१ देखि २००६ सम्म विभिन्न पदमा रहेर काम गरेका थिए । राजभण्डारीको श्रीमती र चार छोराछोरी छन् ।

६. हालसम्म करिब ७७ हजार नेपाली स्वदेश फर्किए
कोरोेना महामारीका कारण विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश फर्किएका छन् । कोभिड १९ व्यवस्थापन केन्द्र(सीएमसी)का अनुसार बिहीवारसम्म जहाजमार्फत् ३२ मुलुकबाट सो संख्यामा नागरिक स्वदेश फर्केका हुन् ।
मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरव इमिरेट्सबाट २२ हजार २१४ जना छन् भने सबभन्दा कम श्रीलङ्काबाट ५ जना छन् । उनीहरु अधिकांश रोजगारीका लागि गएका हुन् ।

केन्द्रका अनुसार, हालसम्म कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५, मलेसियाबाट ११ हजार ३५२, साउदी अरेबीयाबाट ११ हजार ८१९, दक्षिण कोरियाबाट १ हजार ४४७, बहराइनबाट १ हजार २७४, ओमनबाट १ हजार १५०, अष्ट्रेलीयाबाट १ हजार ९१ र टर्कीबाट ९३६ छन् । यस्तै प्रदेश नं १ का १४ हजार ५४६, प्रदेश नं २ का ११ हजार ९०९, वाग्मती प्रदेशका १८ हजार २४७, गण्डकी प्रदेशका ८ हजार ९७३, प्रदेश नं ५ का ११ हजार ४५०, कर्णाली प्रदेशका १ हजार ५१८ र सुदुरपश्चिम प्रदेशका १ हजार ७३७ रहेको केन्द्रले जनाएको छ ।

फर्कने मध्ये ८हजार ४९७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ ।

७. आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने सरकारको तयारी
कोरोनाको सङ्क्रमण दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ । ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सङ्क्रमणको अवस्था कम हुने बित्तिकै सङ्गठित क्षेत्रका व्यक्तिहरुलाई सङ्गठित रुपमा देश दर्शन गराउने बताएका छन् ।

काठमाडौँमा शनिबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले संस्थान, वित्तीय क्षेत्र, शिक्षा क्षेत्रका व्यक्तिहरु, शिक्षक र कर्मचारी सबैलाई सङ्गठित रुपमा देश दर्शन गराउने तयारी सरकारले गरेको बताए ।

८. प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंह शाहलाई कोरोना संक्रमण पुष्टि
प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की डिनसमेत रहेकी डा. सिंहलाई आज संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि त्रिवि शिक्षण अस्पतालको ल्याबमा पीसीआर परीक्षणको क्रममा भएको हो । उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । रिपोर्ट पोजेटिभ देखिएकी उनी अहिले होम आइसोलेसनमा बरिहेकी छन् ।

९. आईपीएलमा दिल्लीको दोस्रो जित, चेन्नई ४४ रनले पराजित
इण्डियन प्रिमियर लिग आईपीएलमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ ।

राति भएको खेलमा दिल्लीले चेन्नईलाई ४४ रनले हराएको हो । चेन्नईले लगातार दोस्रो हार बेहोरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको हो । बलियो सुरुवात गरेको दिल्लीका लागि शिखर धवन र पृथ्वी शाले पहिले विकेटका लागि ९४ रनको साझेदारी गरे ।

शिखर धवन २७ बलमा ३५ रन बनाएर आउट भए । पृथ्वी शाले ४३ बलमा ६४ रन जोडे । ऋषभ पन्त र कप्तान श्रीयस ऐयरले ५८ रनको साझेदारी गरे । चेन्नईका पिउस चावलाले २ विकेट लिए । जितका लागि १ सय ७६ रनको लक्ष्य पाएको चेन्नईले निर्धारीत २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३१ रन मात्रै बनाउन सक्यो ।

चेन्नईका सेन वाट्सन १४ र मुरली विजय १० रनमा आउट भए । चेन्नईले ४४ रनमा तेस्रो, ९८ रनमा चौथो र १ सय १३ रनमा पाँचौ विकेट गुमायो । टिमका कप्तान महेन्द्रसिंह धोनी १५ रनमा आउट भए । दिल्लीका कागिसो राबाडाले तीन विकेट लिए । यो जितसँगै दिल्ली लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

१०.युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा २५ जनाको मृत्यु
युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । युक्रेनका सैनिक अधिकारीहरुले उक्त विमान दुर्घटनामा परी ज्यान जानेको संख्या २५ पुगेको जनाएका छन् ।

शुक्रबार सो विमान दुर्घटनमा परेको थियो । युक्रेनको राष्ट्रिय सेनाले शनिबार बिहानसम्ममा त्यसमा परेका २५ जनाको ज्यान गएको बताएको छ । युक्रेनको किभ क्षेत्रमा सो विमान दुर्घटनामा परेको बताइएको छ । त्यसको अनुसन्धान जारी रहेको युक्रेन सरकारले जनाएको छ ।

युक्रेनका स्थानीय पत्रिकाले उक्त विमान इन्जिन फेल भएका कारणले दुर्घटनमा परेको बताएका छन् । विमान दुर्घटनामा बारे अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिकृयाहरु
Loading...