मकालु खबर दिनभर : यी हुन्, आजका १० प्रमुख समाचारहरु(भिडियोसहित)

मन्त्रिपरिषद् पुनर्गठन गर्न ओली–प्रचण्डले थाले गृहकार्य
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर, पुनर्गठन गर्न गृहकार्य थालेका छन् । पार्टी अध्यक्षसमेत रहेका ओली र प्रचण्डबीच बिहीबार बालुवाटारमा झण्डै दुईघण्टा छलफल चलेको थियो । बिहीबारको कुराकानी मन्त्रिपरिषद् बैठकलाई पुनर्गठन गर्नेमै केन्द्रित रहेको स्रोतको दाबी छ । भदौ २६ गते बसेको पार्टी स्थायी कमिटीको बैठक र असोज ४ गते बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।

पर्यटन मन्त्रालयद्वारा हप्तामा दुई दिन बिदा दिने प्रस्ताव, मन्त्रिपरिषदमा पेश गर्ने तयारी
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्च स्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको हो । पर्यटन मन्त्रालयका सह सचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदिपकुमार कोईरालाको संयोजकत्वमा, पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरिएको छ । जसमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरुलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव तयार गर्ने भएको हो ।

कांग्रेसले भन्यो– ‘चीनले सीमा मिचेको छैन भनेर भन्नु हतारको टिप्पणी हो’
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चीनले हुम्लामा नेपाली भूमि मिचेको छैन भनेर सरकारले दिएको प्रतिक्रियालाई हतारको टिप्पणी भनेको छ । हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको खबर आएपछि सरकारले खण्डन गरेको थियो ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै ‘सीमा मिचिएको छैन’ भनेकोमा पार्टीको ध्यानाकर्षण भएको बताउँदै यस्तो बताएका हुन् ।

कोरोना अपडेट : ४५७ संक्रमित निको हुँदा १४९७ जनामा संक्रमण पुष्टि, थप १७ जनाको मृत्यु
गत २४ घण्टामा थप १,४९७जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजको अपडेटसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।आज ४५७ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै ५० हजार ४११ जना डिस्चार्ज भइसकेका छन् । अब १८ हजार ४३७ सक्रिय संक्रमितको उपचार भइरहेको छ । भेन्टिलेटरमा २८ जना छन् ।यस्तै पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४५३ पुगेको छ ।

भारतीय संसदमा नेपालसँगको सम्बन्धबारे दह्रो बहस
भारतीय संसदमा नेपालसँगको सम्बन्धका बारेमा चर्को बहस भएको छ । छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्न नसकेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना भएको बेला संसदमा यस्तो विषयले प्रवेश पाएको हो । पछिल्लो पटक भारतको छिमेकी नीतिको विषयले त्यहाँको दुवै संसद लोकसभा र राज्य सभामा समेत उच्च प्राथमिकता पाएको छ । कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरेर छोटो समयका लागि बोलाइएको संसदमा सांसदहरु उक्त कुराप्रति चर्को गरी प्रस्तुत भएका हुन् ।मंगलबार राज्यसभाको बैठकमा भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरनलाई नेपाल र चीनको बीचमा पछिल्ला वर्षहरुमा भएका व्यापार र वाणिज्य सम्बन्धी सन्धि सम्झौता र त्यसले भारतलाई पार्ने प्रभावबारे निकै कडा प्रश्नहरु गरिएको थियो । त्यसैगरी अघिल्लो साता पनि भारतको लोकसभामा नेपाल लगायत अन्य छिमेकी मुलुकहरुसँगको सम्वन्धको बारेमा निकै बहस भएको थियो । यतिबेला भारतमा प्रधानमन्त्री मोदीको तीव्र आलोचना भइरहेको छ । प्रतिपक्ष इन्डियन नेसनल कंग्रेस, मिडिया र त्यहाँका प्राज्ञिक वर्गले मोदी नेतृत्वको सरकार छिमेक नीतिमा असफल भएको बताइरहेका छन् । ०७२ सालको महाभूकम्पको बेला पनि पनि नेपाललाई लिएर भारतीय संसदमा ठूलै बहस चलेको थियो ।

सम्पत्ति विवरण नबुझाउने १२ हजार कर्मचारीलाई कारबाही गर्न निर्देशन
तोकिएको समयसीमा भित्र सम्पत्ति विवरण नबुझाउने करिब १२ हजार कर्मचारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ । आयोगले ६० दिनभित्र सम्पत्ति विवरण नबुझाउनेहरुलाई कारबाही गर्न आयोगले निर्देशन दिएको हो । राष्ट्रिय सतर्कता केन्द्रबाट प्राप्त आर्थिक वर्ष २०७५/०७६ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदनमा आयोगको बैठकमा छलफल गरी यस्तो निर्णय लिइएको आयोगले जनाएको छ ।

५.७४ अंकले बढ्यो आज शेयर बाजर
साताको अन्तिम दिन आज शेयर बजार ५.७४ अंकले बढेको छ । ०.७४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५६१.२७ अंकमा उक्लिएको छ ।
आज १९३ कम्पनीका ८९ लाख ७१ हजार ३ सय ३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

वालिङ पहिरो अपडेट : एकै परिवारका ९ सहित १० जनाको मृत्यु
आज बिहान स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादि र कालिगण्डकीमा गाउँपालिका–४ मा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

बिहान ६ बजेको समयमा माया नेपालीको घरमाथि पहिरो खस्दा एकै परिवारका ९ जनाको मृत्यु भएको छ भने एक जनाको जिवितै उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय, स्याङजाका प्रजिअ गंगाबहादुर क्षेत्रीले मकालु खबरलाई जानकारी दिए । जिवितै उद्धार गरिएकी १५ वर्षीया मनिषा नेपालीको उपचार भइरहेको प्रजिअ क्षेत्रीको बताए ।

पहिरोमा परी ज्यान गुमाउने ९ जनामा २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली, १४ वर्षीय विक्रम नेपाली, १९ वर्षीया विनिता नेपाली, २१ वर्षीय कुलदिप नेपाली र ७ महिनाको बच्चाको पनि ज्यान गएको छ ।

यस्तै बिहान २ः५० बजेको समयमा कालिगण्डकी–४ गौतमडाँडा स्थित बाबुराम दमाई र जगत ब. दमाईको घर माथिबाट पहिरो खस्दा दुवै घरमा क्षति पुगेको थियो भने बाबुरामको छोरा विष्णु दमाई मृत फेला परेका थिए ।

नेपाल–चीनबीचको सीमा विवाद : ५८ वर्षपछि टाकुले लेकमा भेटियो ११ नम्बर पिलर
उत्तरी छिमेकी मुलुक चीन र नेपालबीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तम्भ ५८ वर्षपछि भेटिएको छ । उक्त स्तम्भ हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरी नेतृत्वको टोलीले गत बुधबार फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराम अधिकारीले मकालु खबरलाई जानकारी दिए ।

सीमास्तम्भ नाम्खा गाउँपालिका ६ टाकुलेमा भेटिएको प्रजिअको टोलीलाई उदृत गर्दै नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार ११ नम्बर सीमास्तम्भ सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करिब ५२ सय मिटर उचाइमा भेटिएको छ । स्तम्भ हिउँले पुरिएको अवस्थामा भेटिएको थियो ।

११ नम्बर सीमास्तम्भ हराएपछि नेपालचीनबीच विवाद हुँदै आएको थिया । सुरक्षाकर्मीको टोलीले त्यसको खोजीलाई अन्तिम लक्ष्य मान्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीलाई सिमानामा दुई टोली बनाएर खटाइएको थियो ।

 अस्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको हृदयाघातबाट निधन
अस्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको ५९ वर्षको उमेरमा निधन भएको छ । भारतको मुम्बईस्थित एक होटलमा रहेका उनको हृदयाघातबाट बिहीबार निधन भएको हो । उनी भारतीय प्रिमियर लिग (आईपीएल)को कमेन्ट्री टोलीको सदस्यका रुपमा भारत आएका थिए । डिन जोन्सले दक्षिण एसियाको क्रिकेटमा सुधारको लागि महत्वपूर्ण सहयोग पु¥याएका थिए । स्टार इन्डियाले उनको मृत्यु पुष्टि गर्दै उनको मृत्युमा गहिरो शोक व्यक्त गरेको छ । जोन्सले सन् १९८४ देखि १९९४ को अवधिमा अस्ट्रेलियाको लागि ५२ टेस्ट खेलमा सहभागिता जनाएका थिए भने १६४ अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका थिए ।

प्रतिक्रिया