गाईलाई लत्याएर हलो अंगाल्दा कत्तिकाे फलिफाप होला ?

मकालु डेस्क
काठमाडौं । तीन राप्रपाको एकतापछि बनेको राप्रपाले आफ्नो लोकप्रिय चुनाब चिन्ह गाईलाई लत्याएको छ । नेपालको राष्ट्रिय जनावर गाईलाई चुनाब चिन्ह बनाएर सनातन हिन्दु राष्ट्रको अगुवाई गर्ने राप्रपाले हलोलाई अंगालेपछि आलोचना बढ्दो छ ।
राप्रपा र राप्रपा संयुक्तको हिजो बसेको संयुक्त बैठकले एकता प्रक्रियालाई जोगाउन गाईलाई लत्याउनु परेको हो । पार्टी अध्यक्ष कमल थापाले समेत हिन्दु राष्ट्रको एजेण्डा बोकेको राप्रपालाई चुनाब चिन्ह गाई उपयुक्त भएपनि पार्टी एकतालाई जोगाउन हलोलाई चुनाब चिन्ह बनाउनु परेको प्रतिक्रिया दिएका छन् ।

‘हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनाव चिन्ह हो । तर,पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो ।’ अब राप्रपालाई बलियो प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा जुट्न उनले आग्रह त गरेका छन् । तर, के राप्रपालाई ०७० सालको संविधान सभा निर्वाचनमा ‘एक भोट दाईलाई एक भोट गाईलाई’ भन्दै आएको जनमत आउला ? प्रश्नहरु उठ्न थालेका छन् ।

त्यसो त राप्रपा नेपालका प्रणेता पूर्वप्रधानमन्त्री स्वर्गिय सुर्यबहादुर थापाको लिगेसी बर्तमान राप्रपाले लत्याएको आरोप छ । खासगरी तीन राप्रपा, लोकेन्द्रबहादुर चन्द, कमल थापा, पशुपति शमसेर राणा विचको एकतापछि राप्रपाले सुर्यबहादुर थापाको लिगेसी विर्सिएको आरोप छ ।

कतिपयले बर्तमान राप्रपाले हिन्दु राष्ट्रको नारा एजेण्डाका रुपमा भन्दापनि सनातन हिन्दुधर्मावलम्बीको भोट तान्ने हिसाबले मात्र बोकेको आरोप छ भने राप्रपालाई ‘पिंध नभएको लोटा’ भन्नेहरु पनि छन् । ‘राप्रपा अब सुर्यबहादुर थापाले जन्माएको राप्रपा रहेन । सुर्यबहादुर थापाले जुन उद्देश्य र सिद्धान्त लिएर राप्रपा बनाएका थिए, पशुपति शमसेर, कमल थापाहरुले त्यसलाई बागमतीमा बगाइसके ।’ सुर्यबहादुर थापाका उत्तराधिकारीका रुपमा राजनीतिमा उदाएका छोरा सुनिल बहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गर्दैगर्दा दिएका अभिब्यक्तिहरु अहिले कार्यकर्ताहरुले झल्झल्ती सम्झँदैछन् ।

हलो साविक राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चुनाब भएपनि आम जनताका नजरमा ‘गाई’ नै राप्रपाको प्रमुख चुनाब चिन्ह थियो । ०७० सालको संविधानसभा निर्वाचनमा राप्रपा नेपालले प्रत्यक्षतर्फ २.७९ मत ल्याउँदा समानुपातिकतर्फ ६.६६ प्रतिशत मत ल्याउनुमा हिन्दु राष्ट्र कै प्रभाव थियो । ‘गाई’कै प्रभाव थियाे । समानुपातिकमा मात्रै २४ सिट जितेर मुलुकको चौथो दल बनेको राप्रपा ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने पत्ता साफै भयो । जसको मुल कारण भनेको राप्रपाभित्र देखिएको पदलोलुपता, आन्तरिक कलह र हिन्दु धर्म लत्याउनु प्रमुख विषयहरु थिए ।

झापाबाट राजेन्द्र लिङ्देनले इज्जत नजोगाई दिएको भए आज राप्रपाको अस्तित्व समाप्त नै हुने थियो । पार्टीको भन्दा पनि व्यक्तिगत लोकप्रियताका कारण संसदमा एक सिट पाएको राप्रपा सुर्यबहादुर थापाको बर्हिगमन पछि झनै कमजोर र एजेण्डा विहिन भएको छ ।

जसरी धर्मनिरपेक्षता, संविधानसभा र परिवर्तनको नाराका कारण नेकपा माओवादी प्रति जनताको सहानुभूती थियो, त्यसैगरी हिन्दु धर्म र गाईकै कारण राप्रपालाई जनताले विर्सिएका थिएनन् । नत्र पटकपटक सत्ता र शक्तिमा गएको राप्रपालाई जनताले नबिर्सने कुनै आधार छैन । ०६४ सालदेखि ०७० सालको संविधानसभासम्म हिन्दु धर्मलाई प्रमुखताका साथ बोकेको राप्रपा ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने एजेण्डा विहिन भयो ।

०७० सालमा धर्मनिरपेक्षता र राजसंस्थाकै वकालत गरेर संविधानसभामा गएको राप्रपाले हिन्दु धर्म स्थापना र राजसंस्थाका पक्षमा सिन्को भाँच्ने काम गर्न सकेन । बरु राजनीतिक दाउपेचमा कसरी हुन्छ सत्ता ढाल्ने र बनाउने खेलमा रुमलिए । मुलुकमा अस्थिर राजनीति स्थापित गर्ने कार्यको भागिदार भए । हिन्दु धर्म र राजसंस्थालाई सत्तामा पुग्ने भर्याङ् मात्र बनाए ।

पटकपटक जनतालाई झुट्टो सपना देखाएर सत्ताको लुछाचुँडीमा रुमलिएको राप्रपालाई ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा जनताले विस्वास गर्न सकेनन् फलस्वरुप कमल थापासमेत नराम्ररी पछारिए । स्पष्ट सिद्धान्त र एजेण्डामा स्थिर नहुँदा राप्रपा दिनप्रतिदिन जनताका नजरमा गिर्दै गएको छ । अब आएर सनातन धर्ममा भगवान लक्ष्मीको अवतार पुज्य ‘गाई’लाई समेत लत्याएर अझै अलोकप्रिय भएको छ । ‘गाई’लाई लत्याएर हलोलाई अंगाल्दा राप्रपालाई अबको राजनीति फलिफाप होला भन्न सकिन्न ।

६० प्रतिशत बढि सनातन धर्मावलम्बीको आस्था बोकेको पार्टीले ‘गाई’लाई लात हान्नु सामान्य कुरा हैन । पार्टी एकता जोगाउनु पर्यो भनेर जनमतकै अवमुल्यन गर्दै सम्झौताको राजनीति गरिन्छ भने त्यसले पार्टी र मुलुक कसैलाई फाइदा गर्दैन । अहिलेपनि हिन्दु धर्म र राजसंस्थाका पक्षमा स्वतन्त्र रुपमा जनमत संग्रह गर्ने हो भने धेरै जनताहरु हिन्दु धर्म र राजसंस्था प्रति नतमस्तक छन् ।

०६२/०६३ सालको जनान्दोलनमा राजतन्त्रको समुल अन्त्य, संविधानसभा र स्थायी शान्तिको कुरा उठेको थियो । त्यहाँ कसैले पनि धर्मनिरपेक्षताका कुरा उठान गरेका थिएनन् । तर, ०६४ सालको संविधानसभा निर्वाचनबाट मुलुककै ठूलो दल भएको माओवादीले राजसंस्थासँगै हिन्दु धर्मलाई समेत समाप्त पार्ने दुस्प्रयास गरे । र, युरोपियन युनियन, विदेशी चलखेलमा सदियौंदेखि मानि आएको सनातन धर्मलाई समाप्त पार्ने हिसाबले धर्मनिरपेक्ष राष्ट्र घोषणा गरे । यहाँ निर आफुलाई कठ्ठर सनातन धर्मका पक्षमा उभ्याएको राप्रपाले पनि धर्मनिरपेक्षताका अगाडी घुँडा टेक्यो । पदीय लोभमा परेर कमल थापा, पशुपति शमसेरहरु एजेण्डा विहिन भए ।

राप्रपाले एकमात्र हिन्दु राष्ट्रको एजेण्डा घनिभूत गरेको भए परिस्थिति अर्कै हुने थियो । परिवर्तनलाई आत्मसाथ गरेको भन्दैमा इतिहासलाई विर्सने गल्ती गर्नु हुँदैनथ्यो, राप्रपाले आफ्नो धरातल र इतिहासलाई विर्सियो । ‘गाई’लाई छाडेर राप्रपाले ‘खोलो तर्यो लौरो विर्सियो’ उखान चरितार्थ गरिदिएको छ । आउँदो इतिहासले यसको मुल्यांकन पक्कै गर्नेछ ।

राप्रपाको राजनीतिक धरातल कमजोर हुनुमा नेतृत्व वर्गमा देखिएको विचलन र पदलोलुपता पनि प्रमुख कारक हो । पञ्चायत कालमा प्रथम पञ्चायती प्रधानमन्त्री भएका सुर्यबहादुर थापा उदारवादी नेताका रुपमा थिए । पञ्चायती व्यवस्थामा प्रधानमन्त्री भएपनि उनले उदारवादी राजनीतिक व्यवस्थालाई अंगाल्दै आएका थिए । २०३६ सालको जनमत संग्रह हुनु अगाडीनै मुलुकमा विद्यमान निरंकुश पञ्चायती शासनको अन्त्य हुनुपर्छ भन्ने माग राखेका थिए । ०३६ सालको जनमत संग्रहमा पञ्चायती व्यवस्थालाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थापाको राजा विरेन्द्रसँग राम्रो सम्बन्ध स्थापित भएन र पछि राष्ट्रिय पञ्चायतमा ल्याइएको अविस्वासको प्रस्तावमा पराजित भएका थिए ।

त्यसपछि उनैले २०४६ सालको राजनीतिक व्यवस्थालाई स्विकार गरी उदारवादी राजनीति गर्नका लागि ०४७ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना गरेका थिए । पछि उनीसँगै निर्वाचन आयोगमा दर्ता भएको राप्रपा नेपाल (लोकेन्द्रबहादुर चन्द) विच एकीकरण भयो र राष्ट्रिय राजनीतिमा उदारवादी छवी बनाउँदै राप्रपाको उदय भयो । तर, सुर्यबहादुर थापाको अवसानसँगै राप्रपा रुखबाट झरेका पात भएको छ ।

२०६२/६३ को राजनीतिक परिवर्तनपछि पशुपतिशमशेर नेतृत्वको राप्रपा र सुर्यबहादुर थापा नेतृत्वको राजपाले गणतन्त्र र धर्मनिरपेक्षता जस्ता परिवर्तनका विषय स्वीकार गरेर आफुलाई उदारवादी नेताकै रुपमा उभ्याएपनि कमल थापा, लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनीहरु भने सत्ता र पदलोलुपतामा रुमलिँदा राप्रपाको इतिहाससँगै भविष्य पनि अन्धकारमय भएको छ । अब झन सनातन धर्मका अनुयायीको पुज्य ‘गाई’लाई समेत राप्रपाले लत्याएर गम्भिर गल्ती गरेको छ ।

‘गाई’लाई लत्याएर हलोलाई अंगाल्दैमा राप्रपाका नेतृत्वहरु सुध्रिदैनन्, चोखिँदैनन् । ‘गाई’लाई भोट हाल्नेहरुले हलोलाई विस्वास गर्ने आधार चैं बनेको छैन । हलोलाई जनतामाझ उभ्याउन राप्रपाका नेताहरुले सिद्धान्त र विधिको राजनीति गर्न जरुरी छ नकि व्यक्तिकाे स्वार्थका लागि ।

प्रतिक्रिया