मकालु खबर दिनभर : यी हुन्, आजका १० प्रमुख समाचारहरु (भिडिओसहित)

मन्त्रिपरिषद् पुनर्गठन हुने, प्रधानमन्त्रीले दिए यी तीन विकल्प
केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको छ ।आइतबार पेरिसडाँडास्थित जनसंगठनको कार्यालयमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले तीन विकल्प दिएसँगै मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको हो ।
प्रधानमन्त्री ओलीले सबै मन्त्री हटाउने, शुरुमा मन्त्री भएकाहरुलाई र केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने गरी तीन वटा विकल्प बैठकमा राखेका छन् । बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित अधिकांश सचिवाल सदस्यहरुले भने सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राखेका थिए ।

रामचन्द्रको प्रस्तावः ‘पुरानै प्रतिनिधि राखेर फागुनमै महाधिवशेन गरौँ’
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३औं प्रतिनिधि कायम गरेर १४ औं महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन् । सुदूरपश्चिम कांग्रेसका नेता कार्य/कर्तासँगको भर्च्यूअल कार्यक्रममा भाग लिँदै वरिष्ठ नेता पौडेलले फागुन ७ मै महाधिवेशन गर्नका लागि विकल्प अघि सारेका हुन् । कांग्रेसको १४औं महाधिवेशन फागुन ७ गतेलाई तोकिएको छ । उनले फागुनमा महाधिवेशन नभए पार्टीमा सभापति शेरबहादुर देउवाको अराजकता बढ्ने पनि बताए । पौडेलले सभापति देउवा महाधिवेशन समयमै नगराउने मनसायमा रहेको भन्दै विभाग गठन, क्रियाशील सदस्यता, नवीकरण गर्दा आफू बलियो हुने भन्ने दाउ मात्रै हेरेको बताए ।

आजको कोरोना अपडेटः थप १० जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४११ पुगेको छ । यस्तै गत २४ घण्टामा संक्रमण पुष्टि हुनेको संख्या ९ सय ६६ रहेको छ भने डिस्चार्जको संख्या १ हजार ३ सय २५ जना छ । आजको थप अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ । आज थपिएका संक्रमितमध्ये ६ सय ७६ जना भने काठमाडौं उपत्यकाका रहेका छन् ।

नेकपा सचिवालय बैठकमा प्रवेश गर्न खोजपछि बालिका खड्का पक्राउ
पेरिसडाँडामा बसेको नेकपा सचिवालयमा प्रवेश गर्न खोजेपछि नेकपा कार्यकर्ता बालिका खड्का पक्राउ परेकी छिन् ।
बैठक चलिरहेका बेला कार्यालयमा प्रवेश गर्न खोजेपछि साढे ११ बजे पेरिसडाँडाबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । बालिका खड्काको यसअघि खड्काले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसँग नाम जोडिँदै आएको छ । उनले मुख्यमन्त्री राईकी श्रीमती हुँ भन्दै अंश माग गरी मुद्दा दायर गरेकी थिइन् ।

श्रमजिवी पत्रकारको हितका लागि खोल्नुपर्ने कल्याणकारी कोषको प्रगति विवरण पेश गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले श्रमजीवि पत्रकारको हक, हित र सुरक्षाका लागि कल्याणकारी कोष खडा गर्ने सम्बन्धमा भएको प्रगति पेश गर्न आदेश दिएको छ ।

श्रमजीवि पत्रकार सम्बन्धी ऐन २०५१ बमोजिम हरेक सञ्चारमाध्यमले पत्रकारको हितमा खर्च हुनेगरी त्यस्तो कोष खडा गर्नुपर्छ । पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाईसमेत विपक्षी बनाएर दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले आज त्यस्तो आदेश दिएको हो ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले सञ्चार माध्यमहरूले त्यस्तो कोष खडा गरे नगरेको विवरण प्रत्येक दुई महीनामा पेश गर्न सरकारलाई आदेश दिएको हो । श्रमजीवी पत्रकार नियमावलीमा सञ्चारमाध्यमले आफूले प्राप्त गर्ने विज्ञापनको १० प्रतिशत रकम त्यस्तो कोषमा जम्मा गर्ने व्यवस्था गरेको छ ।सर्वोच्च अदालतले निवेदनको विषयवस्तु चाडो निर्णय गर्नुपर्ने प्रकृतिको रहेको भन्दै अग्राधिकार पनि प्रदान गरेको छ।

कोरोनाबाट विदेशमा २४४ नेपालीको निधन
कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २ सय ४४ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीहरुको निधन भएको हो । कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६४५ नेपालीको निधन भएको संघले जनाएको छ । गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको समितिका संयोजक सञ्जीव सापकोटाले जानकारी दिए ।

कोरोना संक्रमणबाट पहिलो पटक सैनिकको मृत्यु
कोरोना भाइरस संक्रमणबाट नेपालमा पहिलो पटक एक सैनिकको ज्यान गएको छ । कोरोना संक्रमणबाट सैनिकको मृत्यु भएको यो पहिलो घटना हो । रामेछाप घर भएका उनी काठमाडौंमा सेवारत थिए । उनको भदौ २९ गते मृत्यु भएको थियो । मृत्युपछि असोज १ गते भएको परीक्षणमा उनीमा संक्रमण पुष्टि भएको हो । नेपाली सेनामा हालसम्म दुई हजार ५६ जनामा संक्रमण पुष्ट भएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये ४०१ जनालाई निको भइसकेको छ ।

झिनो अंकले बढ्यो शेयर बजार
साताको पहिलो दिन आज शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार आज शेयर बजार ३ अंकले बढेको हो । ०.१९ प्रतिशतले बढ्दा नेप्से परिसूचक १५७५.१८ अंकमा पुगेको छ । २ अर्ब ७३ करोड ९३ लाख २८ हजार २० रुपियाँ बराबरको शेयर कारोबार भएको छ । आज बजार बढे पनि बैंकिङ समूह, विकास बैंक समूह र वित्त समूहमा मात्रै हरियाली छायो भने बाँकी अरु समूह राताम्मे देखिएका छन् ।

आइपीएलः चेन्नईसँग साविक विजेता मुम्बई पराजित
इन्डियन प्रिमियर लिग (आइपीएल)सिजन २०२० को पहिलो खेलमा साविक विजेता मुम्बईलाई पराजित गर्दै चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ । युएईको अबुधाबीमा शनिबार भएको उद्घाटन खेलमा चेन्नईले मुम्बईलाई ५ विकेटले पराजित गरेको हो ।मुम्बई इण्डियन्सले दिएको १६३ रनको लक्ष्य पछाएको चेन्नईले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
चेन्नईका लागि अम्बाती रायडूले सर्वाधिक ७१ रन बनाए भने फाफ डुप्लेसीले ५५ रन बनाए । त्यस्तै साम कुरानले १८ र रविन्द्र जडेजाले १० रन जोडे । यस अघि मुम्बई इण्डियनले चेन्नई सुपर किंग्सलाई १६३ रनको लक्ष्य दिएको थियो ।

भियतनाममा शक्तिशाली आँधी– तीनको मृत्यु, एक सयभन्दा बढी घाइते
भियतनाममा केही दिनयतादेखिको शक्तिशाली आँधीका कारण तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । त्यहाँ केही मध्य क्षेत्रीय प्रान्तहरुमा यो आँधी आएको छ । नोउल नामको सो आँधीका कारण भौतिक संरचनाहरू पनि भत्किएका छन् । यस आँधीमा परेर ११२ जना नागरिक घाइते भएका छन् । सो कुराको जानकारी भियतनामको राष्ट्रिय प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रले दिएको छ ।

प्रतिक्रिया