मकालु खबर दिनभर : यी हुन्, आजका १० प्रमुख समाचारहरू (भिडिओसहित)

निरङ्कुशतन्त्र विकल्प र विधिको शासन लोकतन्त्र– प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र, निरङ्कुशतन्त्र विकल्प र विधिको शासन भएको बताएका छन् ।संविधान दिवसलाई सैनिकमञ्च, टुँडिखेलबाट सम्बोधन गरेका प्रधानमन्त्री ओलीले हल्लाबाट प्रभावित हुने र जता हावा बग्छ त्यतै बरालिने परिपाटी लोकतन्त्र नभएको बताउँदै यस्तो बताएका हुन् ।यस्तै उनले लोकतन्त्रमा असहमत स्वरहरूले स्थान पाउने पनि बताएका छन् । लोकतन्त्र, निरङ्कुशतन्त्र विकल्प भएको बताएका प्रधानमन्त्री ओलीले सात दशकभन्दा लामो सङ्घर्षमा हामीले सामन्ती प्रतिक्रियावादी राज्य सत्ताका विरुद्ध नेपाली जनतालाई परिचालित गरेको स्मरणसमेत गरेका थिए ।

 

‘जनअपेक्षा छिट्टै पूरा हुनेछन्’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रूपमा विकास परियोजना अगाडि बढ्ने बताएका छन् ।संविधान दिवस, २०७७ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले आगामी दिनमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता अझै सुदृढ हुँदै जाने विश्वास दिलाए ।संविधानले निर्दिष्ट गरेका मौलिक अधिकारसँग सम्बन्धित होस्, या स्थानीय तह, प्रादेशिक तह वा सङ्घीय संरचनासँग सम्बन्धित अनगिन्त ऐन कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले समयमै निर्माण गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेकपा नेतृत्वको सरकारले अन्तर्राष्टिय सम्बन्धलाई सहज बनाउने, खासगरी छिमेकीसँगको सम्बन्धलाई सुदृढ गर्ने कुरामा समेत विशेष ध्यान दिएको बताएका छन् ।आजको कोरोना अपडेटः थप ११ जना बिते, १,२०४ जना सङ्क्रमित थपिए
नेपालमा कोरोना सङ्क्रमण कारणका थप ११ जनको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४०१ पुगेको छ ।यस्तै गत २४ घण्टामा थप १,२०४ जना सङ्क्रमित थपिएका छन् भने १४ सय ४७ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजको थप सङ्ख्यासँग देशभर सङ्क्रमितको सङ्ख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।
सङ्क्रमितमध्ये ४५ हजार २ सय ६७ जना निको भएर घर फर्किसकेका छन् ।

सरकारसँग काँग्रेसको माग– ‘डा. केसीसँग संवाद गरौँ’
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अनशनरत डा. गोविन्द केसीसँग संवाद गर्न सरकारसँग माग गरेको छ । चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि विगत देखिनै सत्याग्रहमा सरिक अभियन्ता डा. केसीको जुम्लामा जारी पछिल्लो अनशन एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगरेको विषयलाई गम्भीरतापूर्वक लिएको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्मको माग अघि सारेर अनशनरत डा. केसीसँग संवाद गरेर उनको जीवनलाई जोखिमबाट जोगाउँदै जायज मागहरू पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न प्रवक्ता शर्माले सुझाएका छन् ।
डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनशन बस्दै आएका छन् ।

बाबुराम भट्टराईले औँल्याएका संविधान संशोधनका विषयहरू के के हुन् ?
जनता समाजवादी पार्टी (जपसा)का नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ५ विषयमा संविधान संशोधन हुनुपर्ने बताएका छन् । शनिवार बिहान आफ्नो प्रमाणित तथा आधिकारिक ट्विटर ह्याण्डलमार्फत् ट्वीट गर्दै भट्टराईले संविधानका अपूर्णतालाई संशोधनबाट पूर्णता दिनुपर्ने बताएका हुन् ।

महिलालाई पुरुष सरह नागरिकताको व्यवस्था गर्नुपर्ने, पहिचान र सामर्थ्यको आधारमा संघीय पनर्संरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद्को व्यवस्था गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

‘संविधान दिवस मनाउने समय भएको छैन’
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवस मनाउने बेला आइनसकेको बताएका छन् । संविधान दिवस मनाउने सन्दर्भमा राखिएको जिज्ञासामा मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । सरकारले धूमधामका साथ ५औँ संविधान दिवस मनाइरहँदा प्रदेश नं. २ मा भने सुनसान प्रायः छाएको छ । विशेष गरी मधेस केन्द्रित दलसँगै, आदिवासी जनजातिलगायतले आजको दिनलाई कालो दिनका रूपमा मनाउँदै आएका छन् ।

अनुयायीलाई कुलमानको आग्रह : ‘पुनः नियुक्तिको माग गर्दै प्रदर्शन नगरिइदिनुस्’
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिनका लागि समर्थकहरूलाई आग्रह गरेका छन् । शनिवार एक विज्ञप्ति जारी गर्दै घिसिङले आफ्नो समर्थनमा प्रदर्शन नगर्न आग्रह गरेका हुन् ।

सरकारले आफूलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको बताउँदै कुलमानले प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नुपर्ने बताएका छन् । घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै स्वतःस्फूर्त रूपमा काठमाडौँलगायत केही बाहिरी जिल्लामा प्रदर्शन हुँदै आएको छ ।

डा. केसीको समर्थनमा काठमाडौँमा प्रदर्शन
डा. गोविन्द केसीको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ । जुम्लामा १९औँ सत्याग्रह बसेका डा. केसीको माग पूरा गर्नुपर्ने माग गर्दै काठमाडौँमा शनिवार प्रदर्शन भएको हो । उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्नेलगायतका माग राखेर सत्याग्रहमा बसेका छन् । ‘डा. केसीका माग पूरा गर’, ‘डा. केसीको जीवन रक्षा गर’लगायतका नारा लेखिएको प्लेकार्डसहित युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

आइपीएल आजदेखि उद्घाटन म्याचमा मुम्बई र चेन्नई खेल्दै
यस वर्षको इण्डियन प्रिमियर लिग (आइपीएल) आजदेखि शुरु हुँदैछ । कोरोना महामारीका कारण यस वर्ष युएईमा हुन लागेको आइपीएल कडा स्वास्थ्य प्रोटोकलका बीच हुन लागेको हो । आज हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स खेल्दै छन् । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ । आइपीएलको इतिहासमा सबैभन्दा बढी फाइनल खेलेका दुई टिम मुम्बई र चेन्नईबीचको यो खेल रोचक नै हुने अनुमान गर्न सकिन्छ ।

भारतका १० सीमा गस्ती क्षेत्रमा चिनियाँ सैनिकको कब्जा
भारत–चीन सीमा क्षेत्रको पूर्वी लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (एलएसी)मा रहेका भारतका कम्तीमा १० वटा पेट्रोलिङ्ग पाइन्ट्समा चिनियाँ सैनिकले भारतीय सैनिकलाई जान नदिएको बताइएको छ । भारतको अङ्ग्रेजी पत्रिका द हिन्दुले प्रकाशित गरेको खबरमा उत्तरमा डेपसाङ्ग मैदानदेखि दक्षिणमा प्याङ्गोङ्ग तालसम्मका १० वटा पेट्रोलिङ्ग प्वाइन्टमा चिनियाँ सैनिकका कारण भारतीय सैनिक जान नसकेको उल्लेख छ । द हिन्दुले वरिष्ठ सैन्य अधिकारीलाई उद्धृत गरी भारतीय सैनिकले गस्ती गर्न नपाएको उल्लेख गरेको छ । भारतीय सैनिकले बेस क्याम्पबाट ती पोइन्टसम्म गस्ती गर्ने गर्छन् ।

प्रतिक्रिया