जनता गहिरो दुःखमा, सरकार सत्ता–सुखमा

• धनबल राई

जतिबेला कोरोना सन्त्रास उर्लिँदो थियो, भनिन्थ्यो– गर्मी लागेपछि कोरोना कम हुन्छ । परिणामतः संक्रमण घट्नुको साटो बढेको देखियो । कोरोनाको उपचार नै हुँदैन भनेर पनि भनियो । आज धेरै संक्रमितहरु निको भएर फर्किँदैछन् । संक्रमित भइसकेपछि बाँच्ने सम्भावना कम हुन्छ भनिन्थ्यो– यता त तथ्यांकले प्रायः संक्रमितहरु संक्रमणमुक्त नै भएको देखाउँछ । तर यति कुरा चाहिँ थाहा पाइयो, उपचार हुनलाई भने राम्रै पैसा लाग्दोरहेछ । सँगै यो पनि थाहा पाइयो, बाँचेर फर्किनेहरु प्रायः सबै पैसावाला हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुनाउने हरेक दिनको अद्यावधिक विवरणमा अपवादबाहेक पैसावालाहरुको संख्या जोडिएको छैन जस्तो लाग्छ ।

000

यतिखेर सबैजना कामबिहीन भएका छन् । कामबिहीन हुनु भनेको खानाबिहीन हुनु पनि हो । कुनै श्रमिक, मजदुरको त अहिलेसम्म पीसीआर परीक्षण नै भएको छैन । सत्य कुरा ढाँट्नु हुन्न । त्यस्ता वर्गहरुमध्ये कतिले त रोगको शंका नै लागे पनि परीक्षण पाएका छैनन् । कोही त झन्, साह्रै परे पनि परीक्षण हुन पाएका छैनन् ।

बन्दाबन्दी र निषेधाज्ञाको समय र क्षेत्र बढाउँदा पनि संक्रमण दिनानुदिन बढेको बढ्यै छ । समाचारमा ‘हालसम्मकै बढी संक्रमण’ भनेर जनाइन्छ । यता सर्वसाधारणको जनजीवन दयनीय बनेको कुरा पनि अकाट्य हो ।

बाँच्ने अवस्था र आधार हुँदा मात्रै स्वास्थ्यको चिन्ता हुने रहेछ भनेर पनि यही महामारीले सिकायो ।

000

शैक्षिक संस्थान र क्षेत्रलाई एकैछिन बिर्सिदिऊँ । तत्कालीन समस्या यो होइन भनेर पनि यदाकदा भनिएको छ । तर कलकारखाना, उद्योगधन्दासँगै सबैको व्यवसाय ठप्प हुँदा त्यसको असरले श्रमजीवी वर्गलाई मर्नु र बाँच्नुको दोसाँधमा पुर्याएको सत्य हो । यतिबेलै यता कालोबजारीको बिगबिगी छ । दैनिक उपभोग्य सामानहरुको भाउ दोब्बर महँगिँदा जनताहरुको समस्या ज्यूँको त्यूँ छ । मुलुकका युवाहरु अर्कै चिन्तामा छन् । आफ्नो देशमा भोकले मर्नुभन्दा अर्कै देशको शरणमा पर्नु ठीक भन्दै विदेशिनेको लर्को छोटो छैन ।

000

घरेलु हिंसा दोब्बरिएको छ । दीर्घरोगी तथा गर्भवतीहरुलाई अझ गाह्रो भएको छ । विभिन्न समस्यासँग हारेकाहरुले आत्महत्याको बाटो रोजेका छन् । यसबीचमा करिब १६०० भन्दा बढीले त आत्महत्या नै गरेको सरकारी तथ्यांकहरुले देखाउँछन् । यी सबैको परिणाम, श्रमजीवीले श्रम गर्न नपाउनु नै हो । उनीहरुलाई यो तितो सत्यसँग मतलब नै छैन । जो आफ्नो भान्सामा सहज रूपमा भित्रिएको सामग्रीबाट दक्ष भान्सेद्वारा बनाइएको खाना भोजन गर्छन् अनि हाटहुट पारामा आदेश दिएर भित्रभित्रै लाटलुट र चाटचुट गर्न पल्केका छन् ।

000

एकातिर आफ्नो परिवार तथा आफन्तजनहरुको मृत्युले दिएको पीडा सहन नसकी स्तब्ध छन् जनता । अर्कोतिर सरकारले कर तिर्नको लागि ताकेता गर्छ । सरकारले विना हिच्किचाहट निषेधाज्ञा गर्छ, खोल्छ । उसैलाई ज्ञान छैन, कहिले खोल्ने ? कहिले गर्ने भन्ने कुरामा । यसभन्दा अगाडिको सन्दर्भ हेर्ने हो भने पनि गत वर्षको ११ चैत्रदेखि लगाइएको बन्दाबन्दी चार महिनापछि आएर ४ साउनमा खोलियो । जतिबेला संक्रमण ‘पीक’मा पुगेको भनेर कतिपय फ्रन्टलाइनरहरुले बताए । फेरि आएर काठमाडौं उपत्यकाभित्र ३ साताको निषेधाज्ञा गरियो । उक्त निषेधाज्ञा पनि बीचमै खोलियो । जतिबेला उपत्यकामा संक्रमण संख्या दोब्बरको अनुपातमा बढ्दै थियो ।

000

यता यतिबेलै सरकारले जग्गाको कित्ताकाट खुलाएर आफ्नो असक्षमतालाई उदाङ्गो बनाएको छ ।

देशलाई कृषिप्रधान नभएर घडेरीप्रधान बनाउन खोज्छ सरकार, यो झन् अर्को असक्षमताको ज्वलन्त उदाहरण हो । सरकार बुझ्दैन कि, यतिबेला स्थायी रूपमा बसिरहेकालाई घर बनाउनु पर्दैन, शहरमा बसोबास गरिरहेकाहरु पनि अब गाउँ फर्किँदैछन् भनेर ।

यतिबेला सबै उद्योग तथा व्यवसाय धाराशायी बनेका बेलामा घडेरीलाई होइन, कृषिलाई विशेष प्राथकिमतामा राख्नुपर्छ भनेर पनि सरकारले बुझ्दैन ।

000

५ हजार भोको पेटको जिम्मा खुलामञ्चले लियो । महामारीको सुरुआत्सँगै विशेष राहत प्याकेजको घोषणा छिट्टै हुने भनेर कुर्लिएको सरकार आजसम्म चुपचाप छ । सरकारको चुपचापपनले आज जनता भोकले मर्न बाध्य छन् । धन्न नागरिक समाज, विभिन्न मनकारी व्यक्ति अनि केही समाजसेवीहरुले सञ्चालन गरेका ठाउँठाउँका निःशुल्क खाना खुवाउने अभियानले जनताहरुलाई केही सहज बनाएको छ । एउटा राहत घोषणा गर्नको लागि महिनौंसम्म छलफल चलिरहह्यो । तरै पनि राहत प्याकेज आएन । जनतालाई फिर्स आफ्नो पेट पाल्नु थियो । हिजोअस्तिसम्म अति निम्नवर्गीय जनताहरुले खुलामञ्चमा टन्न खाना खाँदै गर्दा कुनै निर्णय चाहिएन, कुनै छलफल चाहिएन । सरकारले सत्ताको चरम् सन्तुष्टि लिइरह्यो । साँचो बोल्ने असन्तुष्टका माग पूरा गरेर मुखबुजो लाइयो, अनि टन्टै साफ ।

000

हामीले सरकारले भनेको मानेको पनि ५/६ महिना उँभो लागिसक्यो । सरकार आफैँले पनि ६ महिनासम्म कोरोनासँग कसरी बाँच्ने भनेर जनतालाई सिकासकेको दावी गरिरहेछ । नभन्दै कोरोनाबारे धेरै कुरा पनि हामीले पनि बुझ्यौँ ।

त्यत्तिकै खान पाउनेहरूले त कहिले काम गरेका हुन् र ? बाँचुञ्जेलसम्म अझै पनि यसरी नै खाँदा भइहाल्यो । सुरक्षित रहेर भित्रै बस्दा भइहाल्यो । तर खानका लागि काम गर्नुपर्ने र कामका लागि बाहिर जानुपर्नेहरू अवस्थाका वर्गलाई त यसरी कहाँ चल्यो र ? स्वास्थ्य सतर्कता र सुरक्षासहित सबैजनाले आ–आफ्नो काम गरिखान पाउनुपर्छ ।

प्रतिक्रिया