यातायात मजदुरलाई निःशुल्क खाना खुवाउँदै लोक–लक्ष्मी स्मृति प्रतिष्ठान

धरान । यातायात मजदुरहरु भोकभोकै पर्ने अवस्था आएको भन्दै लोक लक्ष्मी स्मृति प्रतिष्ठानले मजदुरहरुका लागी आज (बिहीबार) बाट एक महिने निः शुल्क खाना खुवाउने कार्यक्रम सुरु गरेको छ ।

यातायात मजदुरलाई लक्षित गर्दै लोक–लक्ष्मी स्मृति प्रतिष्ठानले धरान उप–महानगरपालिकाको कार्यपालिका तथा नेपाल रेडक्रस सोसाईटीसँग समन्वय गरी असोज महिनाभरी नै निःशुल्क खाना वितरण सुरू गरेकाे प्रतिष्ठानका अध्यक्ष ईन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए । श्रेष्ठ धरानका गणेश टाकिज सिनेमा हलका मालिक समेत हुन्।

श्रेष्ठका अनुसार कोरोना महामारीका कारण हरेक क्षेत्रमा समस्या आइरहे पनि विशेषगरी यातायात क्षेत्रका मजदुरहरुको रोजीरोटी खोसिएर चुल्हो नै नबल्ने स्थिति आएपछि प्रतिष्ठानले आजदेखि एक महिनाभरी निःशुल्क खाना वितरण सुरू गरेकाे हो ।

श्रेष्ठले नेपाल सरकारले गरेको पहिलो लकडाउनमा पनि स्थानीय सरकार धरान उप–महानगरपालिकाद्वारा स्थापित फुड बैंकलाई राहत वितरण गर्न आफूहरुले १ लाख रुपैयाँ प्रदान गरेको बताउँदै भविष्यमा पनि अन्य समस्याहरु आईपर्दा प्रतिष्ठान सदैव सहयोगको लागि तयार भएको पनि बताए ।

प्रतिष्ठानले धरान ८ स्थित सभागृहमा बिहान ११ बजेदेखि १२ बजेसम्म दैनिक डेढ सय देखि २ सयसम्म यातायात मजदुर तथा उनीहरूका परिवारलाई निःशुल्क एक छाक शाकाहारी खाना उपलब्ध गराई रहेको जनाएको छ ।

यता धरान उप–महानगरपालिकाका मेयर तिलक राईले लकडाउनका कारण लामो दुरीका यात्रु बाहक सवारी साधन नचल्दा मजदुरको झनै बिजोग भएको बताउँदै लोक लक्ष्मी स्मृति प्रतिष्ठानले यातायात मजदुरलाई निःशुल्क खाना वितरण गर्दा उनीहरूलाई केही राहत मिलेको बताए ।

प्रतिक्रिया