मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

निःशुल्क खाना, सशुल्क चाहना !

'भोको पेटको अर्तनादमा निःशुल्क खाना अभियानको साथ'

• सुजाता लिम्बू

विराटनगर । ओखलढुङ्गाका प्रकाश तामाङको दैनिकी सहजै चलिरहेको थियो, कमसेकम बन्दाबन्दीभन्दा पहिले । गाडीका सहचालक उनको कमाइले आफैँ मात्रै बाँचेका थिएनन्, परिवारलाई पनि खानसम्म भने मज्जैसँग पुर्याएका थिए ।

तर, जब कोरोना भाइरसको त्रासदी बढ्यो । तब यात्रु थुनिए, चालक थुनिए, सहचालक थुनिए । सबै सबै थुनियो । सर्वस्व थुनियो । त्यसपछि संघीय सरकारले कोभिडको जोखिमलाई न्यूनीकरण गर्ने नाउँमा ४ महिना ठ्याम्मै बन्दाबन्दी गर्यो । आज प्रकाशसँग आदि महिनासम्म गाडीमै बसेर कटाएको तितो सत्यका प्रशस्ती अनुभवहरु छन् ।

‘दिनभरी घामको रापले गाडी तातेर बसिसक्नु नहुने । बाहिर निस्कियो प्रहरीले गाली गर्ने, भित्र बस्यो तातोले श्वास नै रोकिने ।’ विगत सम्झिँदै सुनाउँछन् प्रकाश, ‘रातभरी लामखुटेले टोकेर सुत्न सकिँदैन थियो, तर पनि बाध्यताले गर्दा बस्नैपर्थ्यो ।’

केही दिनको कठिनतापछि युवा नेता वोसिम आलमले आफूहरुको उद्दार गरेको कुरा प्रकाशले कृतज्ञ मुद्रामा सुनाउँछन् । त्योभन्दा अगाडि उनीहरुलाई मजदुर संगठनले खाना खुवाएको पनि उनले बिर्सेका छैनन् ।

१ असारबाट भने संगठनले पनि खाना खुवाउन नसक्ने भनी हात उठायो । साहु राम्रो हुनेलाई खोजीखोजी खाना खुवाइयो । तर, तामाङसँगैका केही साथीहरुहरुको खोजी भने न साहुले नै गर्यो, न कुनै नागरिक समाजले । केवल, उनीहरु बाँचिरहेका थिए सिर्फ आफ्नै भरमा ।

उनले सुनाएका छन्,–‘खाना खुवाउने अभियान वोसिम आलम दाइको टोलीले खाना खुवाउन सुरु गरेको छ । जसरी नि जीवन जिउनु हो ।’

यता खोटाङका विनोद विक (नाम परिवर्तन) को पनि तामाङकै जस्तै केही थान बाध्यताहरु छन् । ५ महिनादेखि साहुको गाडी कुरेर विराटनगर बसपार्कमा गाडीसँगै पार्किङ्ग भएका उनी पनि सहचालक नै हुन् ।

‘घर जाऊँ पैसा छैन, बुढाबुढी आमाबुबा छन्, छोराले कमाएर ल्यायो भन्ने आश गर्लान्, नजाँदा पनि अर्काको ठाँउमा गाह्रो छ ।’

गाडी लाइनमा काम थालेको धेरै वर्ष बितिसकेको बताउने उनी भन्छन्, ‘घर जाऊँ पैसा छैन, बुढाबुढी आमाबुबा छन्, छोराले कमाएर ल्यायो भन्ने आश गर्लान्, नजाँदा पनि अर्काको ठाँउमा गाह्रो छ ।’

उनी थप्छन्–‘अब ५ महिना त जसोतसो बिताइयो । समयसँगै केही सहज होला भनेर आशा गरेका छौँ । गरिबको जीवन नै यहि होला सायद । थोरै खुशी, धेरै पीडा’ ।

उनी आफ्नै मालिकको गाडीमा रात बिताउँछन् । साँझको खाना निःशुल्क खाना खुवाउने ‘हाम्रो अभियान’ले खुवाउँछ । टन्न खान्छन् । अनि पार्किङ्ग हुन्छन्, गाडीसँगै पुनः उसैगरी । उनी भन्छन्, ‘दिनभरी जसोतसो दिन चल्छ, साँझ वोसिम दाइको टोलीले दिएको तातो भात नै हाम्रो भोको पेटको भर बनेको छ ।’

सय दिनको निःशुल्क खाना, भोको पेटको सहारा
पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितबाट समाज सेवामा समर्पित हुनुपर्छ भन्ने प्रेरणा पाएको बताउने युवा नेता वोसिम आलमको निःशुल्क खाना खुवाउने अभियानको टोली नै यो समय भोको पेटको भर बनेको छ विराटनगरमा ।

कोरोना नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीमा भोकाएका पेटहरुलाई उक्साउनका लागि आफ्नै गोजीको खर्च गरेको सुनाउँछन् आलम । उनीहरुले रोयल बिरयानी हाउसमा बिहानको खाना बनाएर खुवाउन सुरु गरेका थिए ।

विराटनगरमा कोरोना भाइरस समुदायस्तरमा फैलिएसँगै निषेधाज्ञा जारी भयो । निषेधाज्ञाले दैनिक ज्याला मजदुरी गरेर सडक पेटीमा नै जीविकोपार्जन गर्ने मानिसहरु भोकै रहेको केही पत्रकार साथीहरुले भनेपश्चाात् पुन निःशुल्क खाना खुवाउने अभियान सुरु गरेका हौँ ।

बिहानको खानामा टन्न खाए पनि साँझ भोकै बस्नुपर्ने बाध्यता रहेको धेरै भोको पेटहरुलाई युवा नेतृत्वमा कृष्ण पार्टी प्यालेसमा खाना बनाएर साँझको पनि खाना खुवाउन सुरु गरेको आलम बताउँछन् ।

लकडाउन् खुलेसँगै पहिलो चरणको निःशुल्क खाना खुवाउने अभियानले ८० दिन पुगेर विश्राम लिएको छ ।

आलमले भनेका छन्,–‘विराटनगरमा कोरोना भाइरस समुदायस्तरमा फैलिएसँगै निषेधाज्ञा जारी भयो । निषेधाज्ञाले दैनिक ज्याला मजदुरी गरेर सडक पेटीमा नै जीविकोपार्जन गर्ने मानिसहरु भोकै रहेको केही पत्रकार साथीहरुले भनेपश्चाात् पुन निःशुल्क खाना खुवाउने अभियान सुरु गरेका हौँ ।’ उनी थप्छन्, ‘आज टोलीको मेहनतले निःशुल्क खाना खुवाउने हाम्रो अभियानले १०६ औं दिन पुर्याएको छ । कठिन परिस्थितिमा कोपिन्द्र सिंहले धेरै साथ दिएको र पछिल्लो समय दाताहरुले पनि धेरै साथ दिएको उनले बताए ।

खाना खुवाउने काम अभियानले गरे पनि आफ्नो सयौं चाहनाहरु पूरा नभएकोप्रति उनीहरुको दुखेसो छ । उनीहरु आफ्नो चाहनालाई बाँकीकै रुपमा स्वीकारिरहेछन् ।

अभियान एक प्रेरणा
निःशुल्क खाना खुवाउने अभियानलाई साथ दिने विराटनगर ११ कि दीपा दर्नाल बन्दाबन्दीको समयमा फुर्सदिली थिइन् ।  बन्दाबन्दीबीच सबै काम ठप्प भयो । उनको घरैमा बसेर टीभी, मोबाइल चलाउन सिवायः केही काम थिएन ।

बन्दाबन्दीको समयमा वोसिम आलमको सामाजिक सञ्जाल फेसबूक ह्याण्डलमा पोस्ट् गरिएका निःशुल्क खाना खुवाउने अभियानको तस्वीरहरु देखेसँगै आफूलाई पनि सामाजिक काममा होमिन मन लागेको दीपा सुनाउँछिन् ।

'वोसिम आलम दाइको टोलीले निःशुल्क खाना खुवाउने हाम्रो अभियान सञ्चालनमा नल्याएको भए सयौं भोको पेटहरु झनै भोकाउँथे'

‘मलाई पनि सक्रिय भएर निःशुल्क खाना खुवाउने अभियानलाई साथ दिन मन थियो, मैले यही भनाइ वोसिम आलम दाइसमक्ष राखेँ । उहाँको स्वीकृतिमा आज मैले उहाँलाई नै साथ दिइरहेकी छु ।’ उनले सुनाइन् ।

उनलाई कहिलेकाहीँ साथीहरुले कोरोना लाग्ला भन्दै मन खिन्न पार्ने खालका कुरा गरे पनि श्रीमान् साथै घरपरिवारको दरिलो साथ भएकाले साथीभाइहरुको कुराले आफूलाई फरकै नपर्ने बताउँछिन् ।

यता विराटनगर १२ की मञ्जु मण्डल पेशाले एक शिक्षिका हुन् । लामो समयको बन्दाबन्दीले सम्पूर्ण शैक्षिक संस्था पनि बन्द ।

उनी पनि बन्दाबन्दीबीच फर्सदिली नै भइन् । दैनिकीमा पनि दीपाकोभन्दा फरक थिएन ।

घरैमा बसेर पट्यारलाग्दो समय कटाउने उनलाई खाना खुवाउने अभियानका तस्वीरहरुले आफूलाई पनि अभियन्ता बनाउन सहयोग गरेको प्रेरणा मिलेको बताउँछिन् ।

प्रायः गरेर विराटनगरतिरै भेटिने मण्डल भन्छिन्, ‘वोसिम आलम दाइको टोलीले निःशुल्क खाना खुवाउने हाम्रो अभियान सञ्चालनमा नल्याएको भए सयौं भोको पेटहरु झनै भोकाउँथे ।’

 

 

प्रतिकृयाहरु
Loading...