लक्षण नदेखिएकाहरूकाे पिसीआर परीक्षण नगर्ने सरकारकाे निर्णय

काठमाडौं । अब काेराेना भाइरस (काेभिड १९) काे लक्षण नदेखिएकाहरूकाे पीसीआर परीक्षण नहुने भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितीमा आइतबार बसेको मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सेन्टरको बैठकले साे निर्णय गरेकाे हाे । उक्त निर्णय कार्यान्वयनमा आएसँगै काेराेनाकाे लक्षण देखिएकाहरूकाे मात्रै पीसीआर परीक्षण हुनेछ । फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको समेत लक्षण नदेखिएसम्म परीक्षण गरिने छैन ।

कोभिड १९ को लक्षण वा चिन्ह देखिएका व्यक्तिहरुमा मात्रै आरटी पिसीआर परिक्षण गर्ने निर्णय भएकाे मन्त्रालयका एक अधिकारीले जानकारी दिए । उनका अनुसार क्वारेन्टिनमा बसेकाहरूमा पनि लक्षण देखिएकामा मात्रै परीक्षण गरिने छ ।

अन्तर जिल्ला आवागमनको हकमा भने स्थानीय तहको नियमित सम्पर्क र जानकारी उपलब्ध गराउने गरी घरमै १४ दिन क्वारेन्टिन बस्ने व्यवस्था मिलाउने, यदि क्वारेन्टिन सम्बन्धी व्यवस्था र मापदण्डहरु पालना नगर्ने व्यक्तिहरुलाई संक्रामक ऐन २०२० अनुसार कारवाही गरिने पनि बताइएको छ ।

नेपालमा हिजाे साेमबारसम्मकाे तथ्यांक हेर्ने हाे भने कुल संक्रमित संख्या ५५ हजार ३२९ पुगेकाे छ । संक्रमितमध्ये ३९ हजार ५७६ जना निकाे भइसकेका छन् भने ३६० जनाकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया