मकालु खबर दिनभर : यी हुन्, आजका १० प्रमुख समाचारहरु

सरकारले बालबालिकालाई अभिभावकत्व प्रदान गर्छ–प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानमा मौलिक हकका रूपमा रहेको बालबालिका सम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले बालबालिकाको शारीरिक र मानसिक विकासका लागि सन्तुलित आहार, स्वच्छ उपयुक्त आवास, उपयुक्त प्रविधि प्रयोगसहितको स्तरीय शिक्षा, देशभक्ति, मानवता, सामाजिकता, उद्यमशीलता र रचनात्मकताको भाव धारा जगाउने गुणवत्त शिक्षादीक्षाको अधिकार सुनिश्चित गर्ने सरकारको नीति रहेको प्रष्ट पारेका छन् ।

आजको कोरोना अपडेट 
नेपालमा कोरोना सङ्क्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३६० पुगेको छ ।

यस्तै गत २४ घण्टामा थप ११ सय ७० जनामा सङ्क्रमण पुष्टि हुँदा ८ सय ८९ जना डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५५ हजार ३ सय २९ पुगेको छ । आज थपिएका सङ्क्रमितमध्ये ५१२ जना भने काठमाडौँ उपत्यकाका रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमितको उपचार आफ्नै खर्चमा, गरिबको मात्रै सरकारले गर्ने
सरकारले सबै कोरोना सङ्क्रमितको उपचार नगर्ने भएको छ ।  सङ्क्रमण फैलिएर सङ्क्रमितको सङ्ख्या ५५ हजार नजिक पुगिसकेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत आपत्कालीन कार्य सञ्चालन केन्द्रले अब गरिब, विपन्न कोरोना सङ्क्रमितको मात्रै उपचारको निर्णय लिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालसमेत उपस्थित मन्त्रालय अन्तर्गतको ‘इन्सिडेन्ट कमाण्ड सेन्टर’को आइतबार बसेको बैठकले यो निर्णय गरेपछि सबै सङ्क्रमितको उपचारको जिम्मेवारीबाट सरकार पछि हट्न थालेको हो ।

बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ । जसमध्ये निर्णय नम्बर ८ मा कोरोनाका चिन्ह वा लक्षण देखिएका व्यक्तिहरूको मात्रै उपचार गर्ने जनाइएको छ ।

जग्गा कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयनमा रोक लगाएको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता सन्तोष भण्डारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले असोज ८ गते रिट निवेदक र सरकार दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

२०७४ साउन २६ गते मन्त्रीस्तरको निर्णयले जग्गा कित्ताकाटमा रोक लगाएको थियो । तर भदौ १८ गते फेरि मन्त्रीस्तरको निर्णयले नै कित्ताकाट फुकुवा गरेको थियो ।

मल नल्याउने शैलुङ र होनीको कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस
सम्झौता बमोजिम युरिया मल नल्याउने दुई ठेकदार कम्पनीलाई कालोसूचीमा राख्न कृषि सामाग्री कम्पनी लिमिटेडले सिफारिस गरेको छ ।

शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सिफरिस गरिएको हो ।

सम्झौता गरेर ५० हजार मेट्रिक टन मल नल्याउने दुवै कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कृषि सामाग्री कम्पनी लिमिटेडले पत्राचार गरेको हो ।

यस वर्ष साउनमा ल्याउनुपर्ने मल उनीहरूले ल्याउन नसकेपछि उनीहरूसँगको सम्झौता खारेज भएको थियो ।

अनिवार्य पीसीआर परीक्षण र निषेधाज्ञा अन्त्यको माग राख्दै केसीले पुनः सुरु गरे अनशन
चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले जुम्लाबाट अनशन सुरु गरेका छन् । केसीले ६ बुँदे माग राखेर सोमबार दिउँसो २ बजेदेखि अनशन सुरु गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने, मास्कको प्रयोग र सामाजिक दूरी अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर निषेधाज्ञा र लकडाउन अन्त्य गर्नुपर्नेलगायतको उनको माग छ ।

यस्तै केसीले राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समूहको औषधि खरिद काण्डलगायत सबै ठुला भ्रष्टाचार काण्ड र बालुवाटार जग्गा काण्डका दोषीलाई कानुन बमोजिम छानबिन र कारबाही गर्नसमेत माग गरेका छन् ।

घुमथाङ पहिरो – मृतकको सङ्ख्या १३ पुग्यो
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीम खर्क र नागपुजेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

शनिवार राति गएको पहिरामा ११ जनाको शव भेटिएको र खोजतलासका क्रममा आज बिहान थप दुई जनाको शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

उनका अनुसार आज बिहान २२ वर्षीय कुमार विक र २१ वर्षीया सोनिया विकको शव फेला परेको थियो ।

अझै १८ जना बेपत्ता छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट तीन वटा टोली बनाई नेवार टोल, लामा टोल र विक टोलमा उनीहरूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।

सामान्य अङ्कले बढ्यो आज शेयर बजार, कति भयो कारोबार ?
साताको दोस्रो दिन आज शेयर बजार झिनो सामान्य अङ्कले बढेको छ । हिजो १६.५६ अङ्कले बढेको नेप्से परिसूचक आज भने ३.२६ अङ्कले बढेको हो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार आज ०.२१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५४०.५१ अङ्कमा पुगेको छ ।

नेप्सेका अनुसार आज १९० कम्पनीका ८६ लाख ३१ हजार ७ सय ४१ कित्ता शेयर किनबेच हुँदा ३ अर्व १३ करोड ४१ लाख ३५ हजार ९ सय ८ रुपियाँ बराबरको कारोबार भएको छ ।

प्रिमियर लिगः एभर्टनले टोटेनहमलाई हरायो
इङलिश प्रिमियर लिग अन्तर्गत पहिलो खेलमा एभर्टनले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा एभर्टनले टोटनह्यामलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनको जितमा डोमिनिक काल्भेर्ट लेविनले खेलको एक मात्र गोल गरेका हुन् । उनले खेलको ५५ औँ मिनेटमा गोल गरेका हुन् ।

बाइडेनको चुनावी प्रचारका लागि ब्लुमबर्गले दिए १० करोड डलर चन्दा
न्यूयोर्क नगरका पूर्व मेयर माइकल ब्लूमबर्गले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी प्रचारमा सघाउन १० करोड अमेरिकी डलर चन्दा दिने घोषणा गरेका छन् ।

यो रकम विशेष गरी फ्लोरिडा राज्यमा चुनावी अभियानमा खर्च गरिने छ । आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपतिका दुई उम्मेदवारहरू राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेनबीच कडा प्रतिस्पर्धा हुने जनमत सर्वेक्षणहरूले देखाएका छन् ।

अझ ‘ब्याटल ग्राउन्ड’ राज्यका रूपमा चिनिने फ्लोरिडामा दुवै उम्मेदवारबीच मतान्तर अति झिनो छ ।

अमेरिकामै सबैभन्दा ठुलो राज्यका रूपमा रहेको फ्लोरिडामा विजयी हुन दुवै उम्मेदवारले विशेष ध्यान दिएका छन् । दोस्रो कार्यकालको खोजीमा रहेका राष्ट्रपति ट्रम्पलाई फ्लोरिडामा विजयी हुनुपर्ने चुनौती छ ।

प्रतिक्रिया