नायिकाकाे गायन माेह : कसकाे स्वरलाई-कति रूचाए दर्शकले ?

काठमाडौं । केही समययता हेर्ने हो भने गायिकिप्रति नायक/नायिकाकाे आकर्षण बढेको देखिन्छ भने गायक/गायिकाकाे चलचित्रतर्फ आकर्षण बढेकाे देखिन्छ । विशेषगरी नायिकाहरूले आफ्नो स्वरमा गीतहरू निकाल्न थालेका छन् ।

गौरी मल्ल, रेखा थापा, निरुता सिंह, प्रियंका कार्की, नीता ढुंगाना लगायतका कलाकार यसका ज्वलन्त उदाहरण हुन् । यति बेला नायिकाहरु गायिका बन्ने लहर नै चलिरहेको छ । केही समय अगाडि मात्रै नायिका निता ढुंगानाले पनि ‘गणेश भजन’ बोलको गीत सार्वजनिक गरिन् ।

नायिकाहरुले गायिकाको रुपमा आफूलाई स्थापित गर्न खोजेपनि टिक्न भने काेही पनि सकेनन् ।

यी हुन् गायनमा लागेका नायिकाहरूः

अभिनेत्री गौरी मल्लले दुई वर्षअघि ‘जीवन साथी’ बोलको आधुनिक गीत सार्वजनिक गरिन् । गीतले युट्युबमा सकारात्मक प्रतिक्रिया समेत पायो । सो गीतमा लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको थियो । जसमा कुनै समय नेपाली फिल्म् क्षेत्रमा एकछत्र राज गरेकी अभिनेत्री गौरी मल्लले महिलातर्फबाट स्वर दिएकी थिइन् । अहिले पनि सो गीतलाई युट्युबमा हेर्न सकिन्छ ।

लोकप्रिय नायिका निरुता सिंह नेपाली फिल्म् क्षेत्रको अभिनयमा एउटा अब्बल दर्जा बनाएकी नायिका हुन् । उनी केही  समयदेखि भारतको मुम्बईमा बस्दै आएकी छन् । निरुताले सन् १९९३ मा निर्देशक तुलसी घिमिरेको निर्देशनमा रहेको चलचित्र ‘दक्षिणा’ बाट चलचित्रमा प्रवेश गरेकी हुन् । उनै निरुताले ‘दिपसिखा’ नामक एल्बमका लागि एउटा गीत रेकर्ड गराएकी थिइन् । ‘छाडी जाने मायालु’ बोलको आधुनिक गीतमा निरुताले आफ्नो स्वर भरेकी छिन् । जुन गीतलाई दर्शकले अत्यधिक रुचाएका थिए ।

त्यस्तै नायिका रेखा थापाले पनि ‘मा कसम’ ‘जिन्दगीको लामो यात्रा’ लगायतका गीतहरु गाएकी छन् । रेखाले नायिकाबाट गायिकामात्र होइन संगीतमा पनि हात हालेकी छन् । रेखाले आफैँले निर्माण गरेको चलचित्र ‘रामप्यारी’ को ‘अर्को जुनि कुन्नी’ बोलको गीतमा संगीत भरेकी छन् । थापा गायिका, नायिका मात्र नभएर एक अब्बल सामाजिक अभियान्ता पनि हुन् । उनले केहि समय अगाडि छोरीको लागि स्वर्णीम नेपाल अभियान लिएर नेपालका विभिन्न ठाउँमा पुगेकी थिइन् ।

नायिका नम्रता श्रेष्ठले पनि गीत गाएकी छिन् । रोहित जोन क्षेत्रीले गाएको ‘विस्तारै विस्तारै’ बोलको गीत पाँच वर्षअघि कभर गाएर चर्चामा आएकी थिइन् नम्रता । दुईवटा कभर गीतपछि उनले गीत गाएकी भने छैनन् ।

नेपाली फिल्म् बजारमा हट, बाेल्ड र व्यस्त नायिकाका रूपमा परिचित छिन् प्रियंका कार्की । प्रियंकाले अभिनयमा मात्र होइन गायकीमा पनि राम्रो गरेको पाइन्छ । ‘तिमीले त होइन’, ‘माया त माया हो’ , अंग्रेजी गीत ‘आएम गन लुज यु’ बोलका गीत गाइसकेकी छन् प्रियंकाले । प्रियंकाले ३ वटा गीतको कभर गाएपछि ‘स्वतन्त्रता’ बोलको ओरिजनल गीत पनि गाइन् । सो गीत चार वर्षअघि सार्वजनिक भएको थियो । प्रियंकाको यो गीतले महिलाको स्वतन्त्रताको विषयमा बोलेको छ ।

पछिल्लो समयकी जल्दोबल्दो र एकदमै व्यस्त नायिका हुन् पुजा शर्मा । चलचित्र ‘प्रेमगीत’ बाट एकाएक चर्चामा आएकी पूजाले गाउँछिन् पनि भन्ने थोरैलाई मात्र थाहा होला । पूजाले चर्चित गायक अनिल सिंहसँग ‘प्रेम कथा’ बोलको गीत गाएकी थिइन् । पूजा नायिका मात्र नभई एक चलचित्र निर्माता समेत हुन् ।

त्यस्तै चलचित्र ‘नोभेम्बर रेन’ बाट नेपाली फिल्म् क्षेत्रमा डेब्यु गरेकी नायिका छुल्ठिम गुरुङले पनि दुई वर्षअघि सञ्जय चौधरीको संगीत र शब्दमा रहेको ‘खसेको तारा’ बोलको गीत गाएकी थिइन् । त्यसपछि भने उनले अहिलेसम्म कुनै पनि गीत गाएकी छैनन् ।

नायिकाबाट गायिका बनेकी अर्की नायिका हुन् अशिष्मा नकर्मी । नेपाली भाषामा बनेको चलचित्रमा अभिनय गरेपछि फिल्म् क्षेत्रमा प्रवेश गरेकी नायिका हुन् अशिष्मा । नेपाली भर्सनमा रहेको ‘तिम्रो फिगर कोकाकोला’ भन्ने गीतमा अशिष्माले स्वर भरेकी छन् । जसमा अशिष्मालाई स्वरमा यमन श्रेष्ठले साथ दिएका छन् । सो गीतलाई दर्शकले अत्यधिक रुचाएका थिए । २ मिनेट ६ सेकेन्डको उक्त गीत हालसम्म ६ लाख बढीले हेरिसकेका छन् ।

प्रतिक्रिया