महामारीका बेला अग्रभागमा खटिने राष्ट्रसेवकप्रति उच्च सम्मान छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका बीच जीवन जोखिममा राखी अग्रभागमा खटिनुभएका राष्ट्रसेवकप्रति सम्मान प्रकट गरेका छन् । निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९को विषम परिस्थितिलाई सामना गर्ने सिलसिलामा जीवन जोखिममा राखी अग्रभागमा खटिनुभएका राष्ट्रसेवकप्रति सम्मान प्रकट गरेका हुन् ।

राष्ट्रसेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ लागि आफ्नो दक्षता अभिवृद्धि गर्दै देशको विकास एवं जनताका सेवामा निष्ठापूर्वक समर्पित हुन समेत आग्रह गरे । विसं २०१३ मा तत्कालीन टङ्कप्रसाद आचार्यको सरकारले नेपालमा पहिलो पल्ट आजकै दिन निजामती सेवा ऐन ल्याएको थियो ।

प्रधानमन्त्री ओलीले कर्मचारीलाई राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटामा अग्रसर हुनसमेत आग्रह गरे । सन्देशमा उनले कर्मचारीमा उच्च नैतिक आचरण र पेशागत निष्ठामार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्नेसमेत कामना गरेका छन् ।

नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य रहेको सन्देशमा उल्लेख गर्नुभएको छ । ‘तानाशाही शासनविरुद्धको सङ्घर्ष, त्यस सङ्घर्षमा खेप्नुपरेको पीडा र गर्नुपरेको बलिदान एवं आफ्ना पेशागत हकहितका लागि गरेका सङ्घर्ष सकारात्मक र प्रशंसायोग्य नै छन्’, सन्देशमा भनिएको छ, ‘तपाईंहरुले सहभागिता जनाएका र योगदान पु-याएका आन्दोलनहरु सफल भएका छन् र तपाईंहरुका मागहरु पनि पूरा भएका छन् ।’

नेपालका विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले लोकतान्त्रिक शासन व्यवस्थामा कर्मचारीको भूमिका र जिम्मेवारी अझै गहन र व्यापक भएको सन्देशमा बताए । लोकतन्त्रका लाभको वितरण नागरिकसम्म पु-याई जनताको सेवा गर्न तथा राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

निजामती कर्मचारीमाथि लाग्ने गरेका तमाम आरोपलाई चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात् गरी उच्च नैतिक आचरण र व्यवहारमार्फत सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीले आफूलाई समयानुकूल ढङ्गले रुपान्तरण गर्नु जरुरी रहेकामा उनले जोड दिए । निजामती सेवाका संरचनालाई सङ्घीय शासन व्यवस्थानुरुप रुपान्तरण गरी तीनै तहबीच संरचनागत, कार्यगत र भावनात्मक अन्तरसम्बन्धलाई संस्थागत गर्नुपर्ने आवश्यकता पनि प्रधानमन्त्रीले औँल्याए ।

कोभिड-१९ लगायत समयसमयमा आउने अकल्पनीय बाढी, पहिरो, आगलागीजस्ता विपद्का अवस्थामा कर्मचारीले देखाएको परोपकारी भावना र सम्पादन गरेको काम प्रशंसनीय रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएकोे छ । मुलुकभर आज निजामती सेवा दिवस मनाइँदै छ ।

हेर्नुहोस् सन्देशको पूर्णपाठ :-

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977025822″ /]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *