भण्टाबारीमा पुल बनेपछि स्थानीय हर्षित, सर्दु करिडोरका सुकुबासी भने चेपुवामा

- भरतराज शर्मा (गोपाल)
धरान । सुनसरीको कोशी गाउँपालिका–८ स्थित भण्टाबारीमा पक्की पुल बनेपछि त्यहाँका स्थानीय हर्षित भएका छन् ।
सो क्षेत्रमा खेलामा पुल नहुँदा आवत–जावतमा समस्या हुँदै आएकोमा पुल बनेपछि त्यहाँका खुशी भएका हुन् ।
कोशी गाउँपालिकाको १० लाख लागतमा निर्माण भएको उक्त पुलको एक कार्यक्रमका बिच शनिबार कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले उद्घाटन गरे । उद्घाटनका क्रममा पुल नहुँदा कोशी गाउँपालिका–८ भण्टाबारीका स्थानीयवासीलाई खेतीपाती गर्नका लागि आवत–जावतमा हुने समस्याको सामाधान भएको अध्यक्ष अन्सारीले बताए ।
वर्षाैँदेखि सो स्थानमा पटक–पटक बासको पुल निर्माणका लागि बजेट विनियोजन गर्दै आएको बताउँदै गाउँपालिका अध्यक्ष अन्सारीले यसपटक १० लाख लागतमा पक्की पुल निर्माण गरी दीर्घकालीन समाधान खोजेको पनि बताए ।
यता धरानको विकासको खाका कोर्ने सर्दु करिडोर आयोजनाले अन्ततः सुकुम्बासी बस्ती नै चेपुवामा पर्ने देखिएकाे छ ।
धरानको राजनीतिक दलहरुको भोट बैङ्कका रूपमा नेताहरूले बसाएको बस्ती सर्दु करिडोरले गर्दा विस्थापित हुने खतरा बढ्दै गएपछि धरान सर्दु करिडोरका सुकुम्बासी चोपुवामा परेका हुन् ।

जलस्रोत तथा सिँचाइ विकास कार्यालय सुनसरीका डिभिजन प्रमुख चूडाराज ढकालका अनुसार सात किलोमिटर लम्बाइको करिडोरभित्र पर्ने १५ सयदेखि १८ सय घरधुरी अन्यत्र सारिनुपर्ने अवस्था छ । करिडोर निर्माणका लागि बोलपत्र आह्वान समेत भई ठेक्का प्रक्रियामा अगाडि बढिसकेकोले पनि ती सुकुम्बासीहरुलाई उठिबासको अवस्था सिर्जना हुनेतिर समेत उनी चिन्तित रहेका छन् ।
विभिन्न कालखण्डमा सो करिडोर क्षेत्रका अधिकाशं जग्गामा धरानका स्थानीय नेताहरूले नै बस्ती बसाएको देखिन्छ । करिडोर बन्ने धरानको वडा नं ११, १३, १६ र १७ का बस्तीहरू विशेष गरेर माओवादी कालमा नै बसेका हुन् । भोट बैङ्कका रूपमा बसाइएको बस्ती अहिले आएर तिनै नेताहरूलाई टाउको दुखाइको विषय बनिरहेको स्थानीयहरुको भनाई छ ।
धरानमा खासगरी सुकुम्वासीकै नाममा राजनीति गर्ने चलन पनि छ । खोलाको छेउछाउमा राजनीतिक दलले नै बस्ती बसाएर राजनिति पनि गर्ने गरेको इतिहास पनि पाइएकाे छ । सोही इतिहास आहिले आएर राजनीतिक दलहरुका लागि समस्याको रूपमा आएको छ ।
करिडोरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को मापदण्ड ८० मिटर खोलाको भाग र ३० मिटर सडकको भाग हुनुपर्ने उल्लेख गरेपछि सो क्षेत्रमा समस्याको पहाड नै खस्ने निश्चित छ !








