निषेधाज्ञाले किन रोकेन उपत्यकामा संक्रमण ?

काठमाडौं । देशैभर कोरोना संक्रमित बढेपछि काठमाडौं उपत्यकामा पनि भदौं ४ गतेदेखि निषेधाज्ञा लागू गरियो । निषेधाज्ञा लागू गरिएको अहिले तेस्रो सातामा चल्दैछ । तर, निषेधाज्ञाका बाबजुद संक्रमण घट्नु साटो बढ्दो क्रममा छ ।

चार महिना लामो लकडाउन अन्त्य गरेसँगै काठमाडौं उपत्यकाका शहरी क्षेत्रमा भीडभाड, चाप बढ्यो । लकडाउनका बेला काठमाडौं छाडेर गएकाहरु पनि भित्रिने थाले । काठमाडौं संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गरेका हुन् ।

निषेधाज्ञापछि संक्रमणको दर घट्ने अनुमान गरिएपनि त्यसो हुनुको साटो झन् बढ्नै गएको छ । निषेधाज्ञा सुरु गर्ने बेलामा काठमाडौं उपत्यकामा दैनिक थपिने संक्रमितको संख्या २०० हाराहारी थियो । तर निषेधाज्ञाको १७ औं दिन बित्दा अहिले काठमाडौं उपत्यकामा थपिने संक्रमितको संख्या ४०० हाराहारी र त्यो भन्दामाथि नै छ ।

यसरी बढ्दैछ संक्रमणदर
पछिल्ला तथ्याङ्क हेर्दा काठमाडौं उपत्यकामा संक्रमणले विस्तारै ठूलो महामारीकै रुप लिन संकेत देखिन्छ । १० माघदेखि ३ भदौसम्म उपत्यकामा दुई हजार पाँच सय आठजनामा मात्र संक्रमण देखिएको थियो ।

४ भदौयता यो संख्या बढेर ७ हजार ९ पुगेको छ । चीनको वुहानबाट आएका ३२ वर्षे युवकमा १० माघमा नेपालमै पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । नेपालगन्जका स्थायी बासिन्दा उनी वुहानबाट फर्केर काठमाडौंमा बसिरहेका थिए ।

निषेधाज्ञाका १७ दिनमा उपत्यकामा संक्रमण
४ भदौ : २००
५ भदौ : १८२
६ भदौ : २१६
७ भदौ : १५६
८ भदौ : २२४
९ भदौ : २३२
१० भदौ : ३०१
११ भदौ : ३७७
१२ भदौ : ४१५
१३ भदौ : १८६
१४ भदौ : ४२९
१५ भदौ : २९८
१६ भदौ : ४८१
१७ भदौ : ३८८
१८ भदौ : ४४५
१९ भदौ : ४५४
२० भदौ : ४०८

कहाँ भयो कमजोरी ?
निषेधाज्ञा जारी गरेर उपत्यकाबासीलाई घरभित्रै थुन्दा पनि संक्रमितको संख्या किन दोब्बर बढिरहेको छ ? कम्तिमा स्थीर त रहनुपर्ने । विज्ञहरू निषेधाज्ञाका बाबजुद संक्रमण बढ्नु भनेको त्यसअघि लकडाउन खुकुलो भएका बेलामा गरिएको लापरबाहीको परिणाम मान्छन् ।

सरकारले ११ चैतदेखि लागू गरेको देशव्यापी लकडाउन ६ साउनदेखि खुलेको थियो । त्यसयताको करिब एक महिनामा उपत्यकावासीले स्वास्थ्य सावधानी नअपनाउँदा समुदायस्तरमा संक्रमण फैलिएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको तर्क छ ।

निषेधाज्ञाले उपत्यकामा संक्रमण फैलिएर भयावह हुने अवस्थाबाट रोकेको डा. पुनको भनाई छ । ‘अहिले संक्रमितमध्ये धेरै एकै परिवारका छन्, निषेधाज्ञा जारी हुँदा संक्रमण भएकाहरूले आफ्नै परिवारलाई मात्रै सारे, अन्यत्र फैलिन पाएन,’ उनले भने- ‘त्यसैले निषेधाज्ञाले भयावह हुनबाट केही हदसम्म रोकेको भन्न सकिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *