राष्ट्रिय सभामा वामदेव कि युवराज ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उपाध्यक्ष वामदेव गौतमले फेरि तरंग ल्याइदिएका छन् । वामदेवले आफूलाई राष्ट्रिय सभाको सदस्य बनाउने सचिवालयको निर्णय कार्यान्वयन गर्न भनेपछि नेकपा तरंगित भएको हो ।

त्यसो त यसअघि पनि पार्टीले गौतमलाई १४ फागुनमा नै राष्ट्रिय सभामा लैजाने निर्णय गरिसकेको थियो । तर, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले यो निर्णय कार्यान्वयन गरेनन् । बरु २० वैशाखमा नेकपामा त्यति बेला देखिएको विवाद समाधान गर्न वामदेव गौतमलाई अर्को अवसर सिर्जना गर्ने नेकपा सचिवालय बैठकले निर्णय गर्यो । त्यो अवसर थियो- उपयुक्त समयमा गौतमलाई निर्वाचनमा उठाउने र प्रतिनिधिसभामा लैजाने ।

त्यसपछि नेकपा विवाद अझ बल्झियो, आफूलाई पद छाड्न दबाव आएपछि प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने गरी प्रतिनिधि सभाको चुनाव लडाउन तयार रहेको बताएको खबर आए । र, त्यससँगै अघिल्लो पटकको विवाद त्यसै सेलायो । गौतमबारेको प्रधानमन्त्रीको प्रस्तावले पनि औपचारिकता पाएको देखिएन । गौतमलाई कहिले राष्ट्रिय सभा त कहिले प्रतिनिधि सभामा पठाउने चर्चा र बहस नेकपाभित्र पटक पटक चलेपनि त्यसले मूर्तरुप नपाउँदा वामदेवले बबण्डर मच्चाइदिने संकेत दिएका छन् ।

यहि १८ गते अर्थात भोली सचिवालय बैठक बस्ने भनिएको छ । त्यसअघि वामदेव गौतमले जुन अभिव्यक्ति दिएका छन्, त्यसले फेरि नेकपा वृत्तमा ठूलो हंगामा सिर्जना गरेको छ । यो समयमा आएर नेकपा उपाध्यक्ष गौतमले किन यस्तो अभिव्यक्ति दिए भन्ने प्रश्नका लागि सहज जवाफ छ । त्यो हो- २१ भदौबाट नेकपाले राष्ट्रिय सभामा मनोनित गरेका अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको कार्यकाल सकिँदै छ ।

अनि उनलाई अब राष्ट्रिय सभामा २० भदौ अगाडि नै मनोनित गर्नु पर्ने हुन्छ । अब राष्ट्रिय सभामा खाली रहेको ठाउँमा वामदेव गौतमलाई मनोनित गरिएको खण्डमा डा. खतिवडाको अर्थमन्त्री कार्यकाल स्वतः सकिनेछ । यही बेला गौतमले पार्टीको पुरानो निर्णय लागू गर्न माग गरेका हुन् । यसले नेकपाको राजनीति फेरि नयाँ किसिमको धुव्रीकरणमा जाने सम्भावना बढाएको छ ।

अर्थमन्त्रीको रुपमा अलोकप्रिय रहेका खतिवडालाई प्रधानमन्त्री ओलीले भने अझै निरन्तरता दिने तयारी गरिरहेका बेला गौतमको यो प्रसंग अगाडी आएको हो । उसो त प्रधानमन्त्री ओलीले हालै एक टेलिभिजन अन्तवार्तामा गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टी निर्णय च्याप्टर क्लोज भएको बताएका थिए । प्रधानमन्त्रीको उक्त भनाईपछि वामदेव शंसंकित भएका हुन् । अब गौतमको यो नयाँ अडानले नेकपामा पुन विवादको शृंखला शुरु हुनसक्ने देखिएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरिरहेको र गौतम सरकारमा सामेल हुन खोजेको यो पछिल्लो घटनाक्रमबाट ओलीलाई आफ्नो चाहना अनुसार अगाडी बढ्नेमा अवरोध हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *