‘कञ्चनपुरमा उच्च ज्वरोकै कारणले मात्रै मृत्यु भएको छैन, यो महामारी होइन’

काठमाडौं । कञ्चनपुरको महाकाली नगरपालिकामा ६ जनाको मृत्यु उच्च ज्वरोकै कारणले मात्रै नभएको पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार मृतकहरु दीर्घ रोगीसमेत थिए ।

“उनीहरुको उच्च ज्वरोकै कारणले मृत्यु भएको होइन । बाहिर समाचारमा आएको कुरामा खासै सत्यता छैन । यद्यपि उनीहरुमा ज्वरो पनि देखिएको छ ।” टोलीसहित कञ्चनपुर घटनास्थल पुगेको जोशीले मकालु खबरसँगको कुराकानीमा भने, ‘तर, उनीहरु सबैको उच्च ज्वरोकै कारणले मृत्यु भएको भनेर भन्न मिल्दैन ।’

यस्तै उनले मृतकहरुमा मलेरियालगायतका रोगहरुसमेत देखिएको दावी गरे । उनले भनेका छन्, ‘मृतकहरु कोही अलिक पाका पनि छन् । कोही धेरै छ्याङरक्सी खानेहरु पनि रहेछन् । त्यसैले यसलाई कुनै खालको महामारी पनि भन्न मिल्दैन । किनकी, परिवार र छिमेकीमा त्यस्तो केही अन्य लक्षण देखिएको छैन ।’

२ साताको अवधिमै उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि टोली संक्रामक रोगबारे अनुसन्धान गर्न महाकाली पुगेको थियो ।

टोलीमा निरीक्षक जोशीसँगै स्वास्थ्य कार्यालय कञ्चनपुरका सिद्धराज जोशी र २ जना दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *