उच्च ज्वरोबारे अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ ।

शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमुना सङ्कलन गरी जाँचका लागि काठमाडौंस्थित प्रयोगशाला पठाएको छ ।

२ साताको अवधिमै उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि टोली सङ्क्रामक रोगबारे अनुसन्धान गर्न महाकाली पुगेको हो । जापानीज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको आशङ्कामा १० जनाको रगतको नमुना सङ्कलन गरी जाँचका लागि पठाइएको निर्देशनालयका भेक्टर कन्ट्रोलर हेमराज जोशीले बताए ।

‘महामारीको सङ्केत छैन,’ उनले भने, ‘रगतको नमुना जाँचपछि रोगबारे जानकारी हुनसक्छ ।’ उच्च ज्वरो आएका तीन बिरामीको दोधारा प्राथमिक स्वास्थ्य केन्द्र र २ को घरमै उपचार भइरहेको छ । स्वास्थ्य केन्द्रका डा. गगन चौधरीका अनुसार उच्च ज्वरोसँगै मौसमी ज्वरोका बिरामीको चाप बढेको छ ।

निर्देशनालयको टोलीमा निर्देशनालयका भेक्टर कन्ट्रोलर जोशी, स्वास्थ्य कार्यालय कञ्चनपुरका सिद्धराज जोशी र २ जना दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी रहेका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *