वीपी प्रतिष्ठानमा १० वर्षिय बालिकाको अण्डासयमा रहेको ट्युमरको दुर्लभ शल्यक्रिया

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक बालिकाको दुर्लभ शल्यक्रिया गरीएको छ । प्रतिष्ठानमा एक १० वर्षिया बालिकाको अण्डासयको ट्युमरको दुरविन प्रविधिबाट सफल उपचार गरीएको हो ।

सुनसरी इटहरी कि ती बालिकामा रहेको ट्युमरको प्रतिष्ठानका गाइनो विभागका एडिसनल प्रोफेसर डा. अजय अग्रवाल र डा. मदन खड्काको टोलीले सफल शल्यक्रिया गरेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

एक हप्ता अगाडी पेटको समस्या लिएर प्रतिष्ठान आएकी ती बालिकाको सिटी स्क्यान गर्दा पेटमा दुवै अण्डासयमा १०×१५  सेन्टिमिटरको ट्युमर रहेको पुष्टि भएको थियो ।

त्यस लगत्तै उनको स्वास्थ्य परीक्षण गर्दै चिकित्सकले शल्यक्रियाको मिति तय गरेर दूरबीन प्रविधिबाट शल्यक्रिया गर्न सल्लाह दिएको थियो । जसमा डा.द्वय अगवाल र खड्काको टोलीले ती बालिकाको ट्युमरको सफल शल्यक्रिया गरेको प्रतिष्ठानले जनाएको छ ।

‘प्रतिष्ठानकै इतिहासमा यस किसिमको शल्यक्रिया बच्चामा भएको थिएन । उक्त शल्यक्रियाको प्रविधिमा विशेष प्रकारको उपकरण र सीपको आवश्यक्ता पर्छ ।’ प्रवक्ता डा. सापकोटाले भने ।

शल्यक्रियामा संलग्न डा. डा.अग्रवालका अनुसार ती बालिकाको अण्डासयको एकातर्फ १० सेन्टिमिटर र अर्कोतर्फ १५ सेन्टिमिटरको ट्युमर थियो । बच्चाहरुमा सामान्यतया यस्तो प्रकारको ट्युमर पलाएको हुँदैन ।

चिकित्सकका अनुसार ती बालिकालाई पेट चिरेर शल्यक्रिया गर्नेकि दुरविन प्रविधिबाट गर्ने दुईवटा मात्र विकल्प थियो । १० वर्षिय बालिका भएकाले पेट चिरेर शल्यक्रिया गर्दा केही जोखिमपूर्ण हुन सक्ने भएकोले प्रतिष्ठानका चिकित्सकहरुले दुरविन प्रविधिबाट नै शल्यक्रिया गर्ने निर्णय गरेका थिए ।

‘यस प्रकारको दुर्लभ र जटिल शल्यक्रिया हामीले गरेका थिएनौं । तथापि, मैले ताइवानबाट तालिम लिएर आएको थिएँ, त्यसले मलाई र मेरो टीमलाई ती बालिकाको शल्यक्रिया गर्न सक्छौं भन्ने आत्मविस्वास थियो ।’ डा. अग्रवालले भने । उनले विगतमा वयस्क व्यक्तिहरुको पेट चिरेर सफल शल्यक्रिया गरेको भएपनि बच्चाको हकमा पेट चिरेर गर्न नसकिने भएकोले दुरविनको प्रविधिबाट गरीएको जनाए ।

बालिकाकाे ट्युमरकाे शल्यक्रिया गर्दै डा. अजय अग्रवालकाे टाेली । तस्विरः डा. अजय अग्रवाल ।

प्रतिष्ठानमा बच्चाको अप्रेसनको लागि चाहिने औजार तथा उपकरण नभएपनि डा. अग्रवालको टीमले वयस्कहरुले प्रयोग गर्ने औजार र उपकरणबाटै ती बालिकाको अण्डासयको सफल शल्यक्रिया गरेका हुन् । शल्यक्रिया गर्न २ घन्टा लागेको थियो ।

प्रतिष्ठानले अहिलेसम्म बच्चामा यो प्रकारको शल्यक्रिया गरेको थिएन । शल्यक्रिया पश्चात बालिकाको स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको र आजै डिस्चार्ज हुने प्रवक्ता डा. सापकोटाले बताएका छन् ।

तस्विरः डा. अजय अग्रवाल ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *