चितवन मेडिकल कलेज भन्छ- १० हजार नमुना नि:शुल्क परिक्षण गर्छाैँ

  • ध्रुवराज खनाल

चितवन । चितवन जिल्ला मुलुकको मध्ये भागमा हुनु र ठुला अस्पताल यहीँ हुँदा बिरामीको चाप अत्याधिक हुने गर्छ । दुई ठुला मेडिकल कलेज, क्यान्सर अस्पताल, भरतपुर केन्द्रिय अस्पताल सहित दर्जनौँ अस्पताल छन् । जसका कारण पनि अहिले बाहिरी जिल्लाका बिरामीहरु यहिँ आउने गरेका छन् ।

बाहिरी जिल्लाका बिरामीहरुकै कोरोना परिक्षण गर्नुपर्ने बाध्यता छ । चितवनमा भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशाला सञ्चालनमा छ । भरतपुर अस्पतालको प्रयोगशालामा दैनिक बढीमा २ सयदेखि ३ सय नमुना परिक्षण हुन्छ भने चितवन मेडिकल कलेजले एकै दिन १२०० सम्म नमुना परिक्षण गर्न सक्छ । तर पैसा तिर्नुपर्ने हुँदा चितवन मेडिकल कलेजमा अहिले खासै चाप छैन ।

भरतपुर अस्पतालको प्रयोगशालामा भने संक्रमित देखिएकाहरुको सम्पर्कमा रहेकाहरुकाे नमुना संकलनका कारण अत्यधिक चाप छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा नमुनाको चाप अत्यधिक हुँदा ८/९ दिनसम्म रिपोर्ट कुर्नुपर्ने अवस्था छ । तत्काल यो अवस्था अन्त्यका लागी चितवन मेडिकल कलेजले भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाको नमुना नि:शुल्क परिक्षण गर्ने जनाएको छ ।

मेडिकल कलेजका अध्यक्ष प्राध्यापक डाक्टर हरिशचन्द्र न्यौपानेले आफ्नो फेसबुक पेजमार्फत् भरतपुर अस्पतालको पेन्डिङमा भएको स्वाब (नमुना) निःशुल्क परीक्षण गर्न तयार रहेको बताएका हुन् । कलेज अध्यक्ष न्यौपानेले भनेका छन्–‘भरतपुर अस्पतालको पेन्डिङमा रहेकाे नमुना त्यहाँबाट एउटा चिठ्ठी पठाएमा सम्पूर्ण चितवनबासीलाई सहयोग गर्ने उद्देश्यले भरतपुर अस्पतालको ल्याब जस्तै निःशुल्क परीक्षण गर्न हामी तयार छौँ, जसले गर्दा चितवनबासीले स्वाब दिएको अर्को दिनमा रिपोर्ट पाउने थिए ।’

न्यौपानेले भरतपुर कोभिड १९ प्रयोगशालाको पेन्डिङ रहेका बाहेक १० हजार नमुना निशुल्क परिक्षण गर्ने मकालु खबरसँगको कुराकानीमा बताए । तर आवश्यक सामान भने भरतपुर महानगरले उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । चितवन मेडिकल कलेजले हाल एक जनाको ५ हजार ५ सय रुपैयाँमा कोरोना परीक्षण गर्दै आइरहेको छ ।

भरतपुर अस्पतालको ल्याब र चितवन मेडिकल कलेजको ल्याबमा पूर्ण रुपमा सञ्चालन गर्न सकिए चितवनमा दैनिक १२ सयदेखि १५ सय नमुनासम्म परीक्षण गर्न सकिने अध्यक्ष डा.न्यौपानेले बताए ।

पछिल्लो समय भरतपुर अस्पताल प्रयोगशालामा नमुनाको थुप्रो लागेको छ । जसका कारण केहीदिन अघि ७ सय नमुना परीक्षणका लागि काठमाडौं र धुलिखेल पठाइएको थियो । मेडिकल कलेजका अध्यक्ष न्यौपाने भन्छन्- ‘कतिको रिपोर्ट नआइ मृत्यु भएको छ । अन्तिम संस्कार गर्न कुर्नु परेको छ । निकै बिजोग अवस्था छ । निजी अस्पताल भएपनि जिल्लाबासीका लागि मेडिकल कलेज सहयोग गर्न तयार छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *