अब विद्यालयमै चलचित्र पढाई हुने

काठमाडौं । आगामी वर्षदेखि विद्यार्थीहरुले विद्यालयमै चलचित्र पढ्न पाउने भएका छन् ।

नेपाली चलचित्रको इतिहास र प्राविधिकलगायतका पक्षमा जानकारी दिने उद्देश्यले विद्यालयको पाठ्यपुस्तकमा चलचित्रलाई समेट्न लागेको हो ।

पाठ्यक्रम विकास केन्द्रसँग चलचित्रलाई पाठ्यक्रममा समावेश गर्ने मोटामोटी सहमति भइसकेको चलचित्र विकास बोर्डले जानकारी दिएको छ ।

यसका लागि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम निर्माण समितिको सदस्यको रुपमा आमन्त्रित गरिएको छ ।

अध्यक्ष दाहालले पाठ्यक्रम विकास केन्द्रसँग यसबारेको छलफल करिब अन्तिम चरणमा पुगिसकेको बताएका छन् । यस वर्ष ढिला भइसकेका कारण अर्को वर्षदेखि चलचित्रलाई पाठ्यक्रममा समावेश गरिनेछ ।

विद्यालय तहको पाठ्यक्रममा चलचित्र समावेश गर्ने सहमति भए पनि कलेजमा के गर्ने भन्ने विषयमा टुंगो नलागेको उनको भनाई छ ।

आउँदो वर्षबाट पाठ्यक्रममा सम्भव भए १०० पूर्णाङ नभए ५० पूर्णाङको पाठ्यक्रम बनाउने पहल भइरहेको दाहालले बताए ।
उनीले अहिले पाठ्यपुस्तक लेखकहरुसँग पनि छलफल गरिरहेका छन् ।

कोरोनाको प्रभाव कम भएपछि आगामी वर्षका लागि पाठ्यक्रम निर्माणको काम शुरु हुने बोर्डका दाहालको भनाइ छ । चलचित्रसम्बन्धी अध्यापन गर्दै आएका कलेजको पाठ्यक्रम पनि परिमार्जन हुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *