‘हिमालयन अनलाइन ट्यालेन्ट रियालिटी शो २०२०’ अमेरिकामा

काठमाडौँ । हिमालयन म्युजिक एकेडेमीको आयोजनामा ‘हिमालयन अनलाइन ट्यालेन्ट शो प्रतियोगिता २०२०’ हुने भएको छ । प्रतियोगिता १५ अगस्टदेखि अमेरिकामा हुने आयोजक हिमालयन म्युजिक एकेडेमीका अध्यक्ष पुष्प गजमेरले बताए ।

कार्यक्रममा सहभागिताका लागि अगस्ट १५ तारिखदेखि सेप्टेम्बर १८ तारिखसम्म फर्म भर्ने मिति तोकिएको छ। कार्यक्रममा ५ देखि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिले भाग लिन पाउनेछन् ।

कार्यक्रममा गायन, नृत्य, हास्य विधा र विभिन्न बाजागाजा बजाउने विधा गरी कलाका ४ विधा समावेश गरिएको छ । कार्यक्रमको अफिसियल पोस्टर पनि सार्वजनिक गरिएको छ ।

यस प्रतियोगिताको फाइनल भने नेपालीहरूको महान् चाड दशैँ र तिहारको बीच पारेर नोभेम्बर ७ मा हुने अध्यक्ष गजमेरले बताएका छन् ।

कार्यक्रमको जजमा विकास थुलुङ, सारंगा श्रेष्ठ र अर्जुन रसाइली रहेका छन् । यस्तै कार्यक्रममा जुरी तर्फ भने गोपी दाहाल, डम्बर खापुङ र सन्तोष रामदम रहेका छन् । कार्यक्रमलाई सुजिता गुरुङ, रमेश दियाली, अस्मिता रसाइली र सिड निरौलाले सञ्चालन गर्नेछन् ।

ठूलै धनराशिको यस प्रतियोगितामा विजेताले ट्रफीसहित २५०० अमेरिकन डलर, फर्स्ट रनर अपले ट्रफीसहित १५०० अमेरिकन डलर र सेकेन्ड रनर अपले ट्रफीसहित १००० अमेरिकन डलर पुरस्कार र फोर्थ रनर अपले भने ट्रफीसहित अन्य पुरस्कार प्राप्त गर्नेछन् ।

यसै गरी कार्यक्रममा क्यानडा र अमेरिकामा रहेका हिन्दू वा क्रिष्टियन जसले नेपाली बोल्न सक्ने वा नेपाली समुदायबाट प्रतिनिधित्व गर्ने सबैले यस प्रतियोगितामा भाग लिन पाउनेछन् । यस्तै कार्यक्रमका प्रायोजक बामा, दिक्षा, ग्रेटर हिन्दी सेवा समिति र बि.सी.ए.ए रहेका छन् ।

कार्यक्रमका मुख्य प्रायोजक सेन्टरलाईट होम केयर एलएलसी, कन्चनजङ्गा ज्वेलर्स, भाभी लाल गोल्ड हाउस लिमिटेड, केलर विल्लिअम्स रेअलटी र रिमेकस वान रहेका छन् ।

विश्वभर फैलिएको कोरोना महामारीकै त्रासबीचमा समेत नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने हेतुले यस किसिमको प्रतिभामूलक कार्यक्रमको आयोजना गर्न सक्नु साँच्चै नै चुनौतीपूर्ण रहेको देखिन्छ । तर यस प्रतियोगिताले विश्वमा नै नेपाल र नेपालीको परिचय खोल्ने छ । विदेशमा बसेर आफ्नो कला र संस्कृति बिर्सिँदै गएका नेपालीहरुलाई यस कार्यक्रमले सचेत गराउने छ ।

जुन हिसाबले यस प्रतियोगितामा जज र जुरीलाई समावेश गरिएको छ यस हिसाबले कार्यक्रम निकै रोमाञ्चक हुने देखिन्छ । अब कार्यक्रमले कस्तो सन्देश दिने हो र कुन हिसाबसम्म सफल हुने हो त्यो भने समयले नै बताउने छ । तर कार्यक्रमलाई अहिलेको अवस्था हेरेर कोरोनाको जोखिमलाई ध्यानमा राखेर सक्दो राम्रो बनाउने प्रतिबद्धता अध्यक्ष पुष्प गजमेरले जाहेर गरेका छन् । अर्को वर्ष अवस्था सामान्य हुँदै गए यस प्रतियोगिताको दोस्रो संस्करण अझ भव्य हुनेसमेत उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *