वीपी प्रतिष्ठानमा लापरवाही भएको भन्दै बिरामी कुरुवाहरुले दिए धर्ना

- भरतराज शर्मा (गोपाल)
सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित बिरामीलाई आईसीयूमा राख्ने गरिएको भन्दै नर्स र बिरामीका कुरुवाहरूले धर्ना दिएका छन् । आईसीयूमा कार्यरत नर्स र बिरामीका कुरुवाहरूले आज (सोमबार) प्रशासन अगाडि धर्ना दिएका हुन् ।
आईसीयूमा रहेका बिरामीमाझ पीसीआर परीक्षणविना संक्रमितलाई ल्याएका कारण बिरामीकाे रक्षाका लागि आन्दोलनमा उत्रिनु परेकाे एक बिरामी कुरुवा जसोदा लिम्बुले बताइन् । ‘खासमा पिसिआर परीक्षण गरेपछि मात्रै बिरामीलाई आईसीयूमा ल्याइनुपर्ने हो, तर विना परीक्षण ल्याइयो’, उनले भनिन् । आईसीयूमा भर्ना गरेर पिसिआर परीक्षण गराउँदा पोजेटिभ देखिने गरेको र यसले बिरामी कुरुवा र नर्स समेतमा भागाभाग बन्ने स्थितिसम्म आएको उनकाे भनाइ छ ।
पछि रिपाेर्ट पाेजेटिभ आउँदा आईसीयूमा रहेका बिरामी, बिरामी कुरुवा र नर्स नै जोखिममा पर्ने गरेको नर्सहरु बताउँछन् ।
तीन पटकसम्म यस्तो घटना घटिसकेपछि आफूहरू आन्दोलनमा उत्रिएको एक नर्सले नाम नबताउने सर्तमा भनिन् । ‘करिब तीन पटकसम्म यस्ताे घटना घटिसकेकाे छ । हाम्रो सुरक्षाका लागि भएपनि हामी आन्दोलनमा उत्रिएका हौं,’ उनले भनिन् ।
प्रतिष्ठानले यस्तो लापरवाही तुरून्तै सुधार गर्नुपर्ने बिरामी कुरुवा मुकेश खड्काले बताए । यस्तै अर्का बिरामी कुरुवा काजी लिम्बूले वीपीले बिरामीलाई पोजेटिभ देखिइसकेपछि पनि त्यो ठाउँमा सेनिटाइज समेत नगर्ने गरेको गुनासो गरे ।
त्यस्तै उनीहरुले पिसीआर परीक्षणविना बिरामी ल्याउन नहुने, कोरोनासँग जुध्न पिपिइलगायतको व्यवस्था गरिनुपर्ने, यदि कसैलाई पोजेटिभ देखिए क्वारेन्टाइनको व्यवस्था हुनुपर्ने, फ्रन्टलाइनमा काम गर्नेहरूका लागि उचित जोखिम भत्ताको व्यवस्था गर्नुपर्न लगायत माग पनि राखेका छन् ।









