प्राधिकरणको कार्यकारी निर्देशक बन्ने रेसमा को को, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा अब आउने नयाँ कार्यकारी निर्देशक (एमडी) बारेमा निकै चर्चा चलिरहेको छ । प्राधिकरणको कार्यकारी निर्देशक (एमडी) कसले पाउने, को हुने, को बनिनुपर्ने वा कसलाई बनाइनुपर्ने भन्ने विषय सबैतिर चर्चा छ ।
प्राधिकरणको बर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि २६ दिनपछि सकिँदै छ । कार्यकारी निर्देशक घिसिङको कार्यकाल सकिनै लागेको बेला घिसिङसहित केही नयाँ अनुहारहरुले कार्यकारी निर्देशक बन्न राजनीतिक लबिङ्गलाई तीव्र बनाएका छन् ।
विद्युत प्राधिकरणकै वर्तमान कार्यकारी निर्देशक घिसिङ पनि आफ्नो निरन्तरताका लागि भित्री रुपमा लागि परेका छन् । १८ घन्टा लामो लोडसेडिङ अन्त्य गरेर राम्रो छवि बनाएपनि घिसिङलाई निरन्तरता दिने पक्षमा पूर्वएमाले नेताहरु भने देखिँदैनन् । तर, कुलमान घिसिङलाई नै निरन्तरता दिने पक्षमा ऊर्जामन्त्री वर्षमान पुन भने सकारात्मक रहेको स्रोतको दावि छ । ‘लोडसेडिङ हटाएका कारण घिसिङको लोकप्रियता छ, उनी कुशल व्यवस्थापक तथा उज्यालो नेपालका योजनाकार समेत भएकाले पनि फेरी प्राधिकरणमा रहनुपर्छ भन्ने छ ।’ स्रोत भन्दछ ।
यता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहिसकेका सुशील ज्ञवालीले पनि इच्छा देखाएका छन् । लगानी बोर्डमा जाने दाउमा रहेका ज्ञवाली अन्तिम समयमा सुशील भट्ट सीईओ बन्ने भएपछि पछि हटेका थिए । उनी नेकपाका महासचिव विष्णु पौडेलप्रति बफादार हुन् । उनले सरकारी नियुक्ति लिन विष्णु पौडेललाई नै प्रयोग गर्ने गरेका छन् ।
प्राधिकरणकै उपकार्यकारी निर्देशक हरराज न्यौपाने पनि कार्यकारी निर्देशक बन्ने दाउमा विभिन्न शक्ति केन्द्र धाइरहेका छन् । उनी कुन राजनीतिक दलको पक्षबाट लविङ गर्दैछन् यकिन नभएपनि उनको दौडधुप बाक्लो छ ।
प्राधिकरणको उपकार्यकारी निर्देशकबाट अवकाश पाएकी शान्तिलक्ष्मी शाक्यले पनि प्राधिकरणको पहिलो महिला कार्यकारी निर्देशक हुने इच्छा देखाउँदै आएकी छन् । उनको संभावना भने कम देखिन्छ ।
कार्यकारी निर्देशक घिसिङलाई पुनः प्राधिकरणमा नआउन् भनेर केही विपक्षीले उनका कमजोरीलाई अघि सारेका छन् । घिसिङले डेडिकेटेड र ट्रंक लाइन विवादलाई व्यवस्थापन गर्न नसकेको, सरकारदेखि सञ्चालक समितिसम्मलाई विवादमा तानेको, कमजोर व्यवस्थापनकै कारण बिजुली खेर जान थालेको, माथिल्लो तामाकोशी, रसुवागढी जस्ता आयोजनाहरु समयमा सम्पन्न गर्न नसकेको लगायतको विषयमा उनीहरुले प्रचारबाजी शुरु गरेका छन् ।
किन चर्चामा छन् कुलमान ?

घिसिङलाई नेपालकोे १८ घण्टे लोडसेडिङ अन्त्य गरेको जस छ । उनले तीन वर्ष अघि नै मुलुकलाई लोडसेडीङ मुक्त घोषणा गरेका थिए । त्यसपश्चात् घिसिङमात्र होइन उनको सिंगो टिमलाई देश र जनताले कुशल व्यवस्थापकका रुपमा सम्मान दिएका छन् । कुलमानले प्राप्त गरेको जसलाई जोगाउन अब आउने नेतृत्वलाई ठूलै चूनौति त छ सँगै उनको विकल्पमा उनी जत्तिकै सक्षम व्यक्ति पाउन सरकारलाई पनि चुनौति छ ।
भ्रष्टाचार र अव्यवस्थाका कारण अलोकप्रिय भइरहेको केपी ओली सरकारले घिसिङको विकल्पमा सक्षम नेतृत्व ल्याउन नसके जनताका नजरमा झनै अलोकप्रिय हुने अवस्था पनि छ ।
रसुवागढी, मध्य भोटेकोसी, सान्जेन, माथिल्लो सान्जेन अघि बढाउन घिसिङको भूमिका महत्वपूर्ण छ । दुई दशकभन्दा लामो अनुभवपछि उनी वि.स २०७३ साल भदौमा सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरेको थियो । उल्लेखित आयोजनाहरु सम्पन्न गर्न गराउन पनि उनको नेतृत्व आवश्यक छ भन्नेहरु पनि छन् ।








