अनलाइनमार्फत ४८ लाख ठगी गर्ने विदेशी नागरिक पक्राउ

काठमाडौं । प्रहरीले नक्कली मुद्रा काराेबार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा १ महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी ४८ लाख ५४ हजार ४ सय २० रूपैयाँ ठगी गर्ने रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय सिल्भा एन्टोनियो दा कोस्टालाई पक्राउ गरेको हो ।
महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले पीडित महिलालाई नयाँ वर्षको अवसरमा हिराको औँठी, घडी, सुनको सिक्री र नगद २ लाख ३० हजार पाउण्ड पठाएको र सामानको भन्सार र एक्सचेञ्ज चार्ज बुझाउन पर्यो भनी उक्त रकम ठगी गर्ने विदेशी नागरिक कोस्टालाई शुक्रबार सोल्टी होटलबाट पक्राउ गरिएको जानकारी दिए ।
‘पक्राउ परेका कोस्टाले भन्सार छुटाउनका लागि आवश्यक पीडित महिलासँग थप २० लाख रूपैयाँ मागेपछि प्रहरीको टोलीले शुक्रबार सोल्टी होटलबाट नियन्त्रणमा लिएको हाे’, प्रवक्ता कार्कीले भने ।
पक्राउ व्यक्तिले सोहीदिन अर्की युवतीबाट पनि ३७ हजार रूपैयाँ ठगी गरेको अनुसन्धानमा खुलेको छ । पक्राउ परेकै दिन प्रहरीले कोष्टाको ठमेलस्थित कोठामा समेत खानतलासी गरेको छ । खानतलासीका क्रममा कोष्टाको कोठाबाट नक्कली नोट बनाउन प्रयोग हुने केमिकल र कागजसमेत प्रहरीले बरामद गरेको प्रवक्ता कार्कीले बताए ।
पक्राउ व्यक्ति फागुन २०७६ मा नेपाल आएको प्रहरीले जनाएको छ । पक्राउ व्यक्तिसँग ३ लाख १५ हजार ७ सय ४५ रूपैयाँ, अमेरिकन डलर ९ सय, एटीएम कार्ड, ल्यापट एक थान, नक्कली नेपाली १ हजारका नोट ३ थान, नोट आकारको कालो कागजको बण्डल, ए फोर पेपरलगायतका सामग्री प्रहरीले बरामद गरेको छ । पक्राउ व्यक्तिलाई जिल्ला अदालतको ५ दिनको म्याद थप गरी अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।-रासस








