वीपी प्रतिष्ठानमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने सिनेटको निर्णय

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४४ औं सिनेटले प्रतिष्ठानमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । राजधानीमा सम्पन्न सिनेटले प्रतिष्ठानमा मानव अङ्ग प्रत्यारोपण केन्द्र निर्माण गर्ने निर्णय गरेको हो ।

स्थापना गर्ने मानव अङ्ग प्रत्यारोपण केन्द्रमा मृगौला, कलेजो, प्यांक्रियाज लगायतका अंगहरु प्रत्यारोपण गरीने प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले बताए । प्रदेश १ को धरानमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना भएपछि प्रदेश १,२ र छिमेकी मुलुक भारतका जनताले ठूलो राहत पाउने डा. रेग्मीकाे भनाइ छ ।

सरकारले विभिन्न जिल्लाहरुका राजमार्गहरुमा ट्रमा सेन्टर बनाउने घोषणा गरेकोमा त्यसलाई सहयोग पुग्ने गरी विशिष्टकृत सेवाहरु प्रदान गर्नेगरी वीपी प्रतिष्ठानमा ट्रमा सेन्टर निर्माण गर्ने निर्णय भएको डा. रेग्मीले जनाए । ‘यो पटकको सिनेट विगतका सिनेटहरु भन्दा ऐतिहासिक भएको छ । प्रतिष्ठानको विकास र विस्तारमा दिर्घकालिन फाइदा हुने ऐतिहासिक निर्णयहरु भएका छन् ।’ डा. रेग्मीले भने ।

सिनेटले मोरङको सुन्दर हरैचास्थित जग्गामा सरूवा राेग अस्पताल स्थापना गर्ने निर्णय पनि गरेको छ । यस अघि उक्त स्थानमा जननेता मदन भण्डारीका नाममा ट्रमा सेन्टर बनाउने हल्ला चलेकोमा रजिष्ट्रार रेग्मीले उक्त हल्ला भ्रामक भएको बताए । ‘त्यहाँ वीपी प्रतिष्ठानले नै सरूवा राेग अस्पताल बनाउने निर्णय गरीएको छ । मदन भण्डारीका नाममा बनाउने भ्रामक हल्लाका पछि नलागौं ।’ डा. रेग्मीले भने ।

प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने विगतका सिनेटले गरेको निर्णयलाई अध्ययन गरिने भएको छ । त्यसकालागि प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको संयोजकत्वमा कार्यदल गठन गरीएको छ । कार्यदलको सदस्य सचिवमा रजिष्ट्रार मोहनचन्द्र रेग्मी रहेका छन् । ‘विगतका सिनेटले प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने निर्णय गरेको थियो, त्यसलाई थप अध्ययन गर्नेगरी ९ सदस्यीय कार्यदल बनाइएको छ ।’ डा. रेग्मीले भने । समितिले ४ महिनामा प्रतिवेदन पेश गर्ने छ ।

यसैगरी सिनेटले प्रतिष्ठानको चलअचल सम्पत्ति (जग्गा) मा स्वास्थ्य सेवा विस्तार गर्न स्थानीय एवं सरोकारवालाहरुसँग छलफल गरी सम्भाव्यता अध्ययन गर्न समिति बनाउने पनि निर्णय गरेको छ । उक्त समिति बनाउने अधिकार कार्यसमितिलाई दिइएको छ । कार्यसमितिले सम्भाव्यता अध्ययन गर्ने एक समिति गठन गर्ने छ । ‘प्रतिष्ठानको जग्गा बेच्न लागे भनेर भ्रामक हल्ला फिँजाइएको मात्र हो । प्रतिष्ठानका विभिन्न स्थानहरुमा रहेका चलअचल सम्पत्तिमा स्थानीय सरोकारवालाहरुसँग छलफल गरेर स्वास्थ्य सेवा विस्तार गर्ने गरि एक समिति बनाउने निर्णय भएको छ । ती स्थानहरुमा प्रतिष्ठान आफैंले स्वास्थ्य संस्थाहरु स्थापना गरेर आम जनतालाई सेवा दिनेछ ।’ डा. रेग्मीले भने ।

यसैगरी प्रतिष्ठानको नियमावली पुर्नलेखनका लागि समिति गठन गर्ने निर्णय पनि भएको छ । नियमावली पुर्नलेखनका लागि प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालको संयोजकत्वमा नियमावली मस्यौदा समितिसमेत गठन गरेको छ । समितिले प्रतिष्ठानको शैक्षिक, कर्मचारी, आर्थिकलगायतका नियमावली तयार गर्नेछ ।

सिनेटले प्रतिष्ठानको आर्थिक वर्ष ०७६/०७७ को खर्च अनुमोदन पारित गरेको छ भने, आर्थिक वर्ष ०७७/०७८ को बजेट तथा कार्यक्रम पनि पारित भएको छ । आर्थिक वर्ष २०७७/२०७८ का लागि २ अर्व ९८ करोड ६७ लाखको बजेटसमेत पेस भएको छ । बैठकले पुनरावेदन आयोगको रिक्त पदमा प्रदेश १ का प्रदेशसभा सदस्य राजकुमार ओझा र प्रा.डा. दिव्यसिंह साहलाई सिफारिस गरेको छ ।

प्रतिष्ठानका रजिष्ट्रार डा. रेग्मीका अनुसार सिनेटले प्रतिष्ठानको सर्वोत्तम हितका लागि निर्णयहरु गरेको छ । उनले सिनेट अगाडी प्रतिष्ठानको जग्गा व्यापारीलाई दिन लागिएको जस्ता हल्लाहरु फैलाएर सिनेट असफल पार्न खोजिएको बताउँदै त्यस्ता हल्लाहरुका पछि नलाग्न आग्रह गरे । सहकुलपति भानुभक्त ढकालको अध्यक्षतामा सिनेटकाे बैठक भएको थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *