‘लकडाउन खुकुलो भयो भनेर जथाभावी नहिँडौं, सचेत रहौं’

काठमाडौं । कोरोना संक्रमण समुदाय स्तरकै फैलँदै गएकोमा नेकपा केन्द्रीय सदस्य भगवती चौधरीले चिन्ता व्यक्त गरेकी छन् ।

केही महिनायता दैनिक तीन सयको हाराहारीमा कोरोना पोजेटिभ पुष्टि हुँदै गएकोले नेपालमा कोरोना संक्रमण अब समुदाय स्तरमै फैलिइसकेको देखिएको नेतृ चौधरीले बताएकी छन् ।

पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ चौधरीले पहिलो कोरोना संक्रमण देखिएको पाँच महिना पछि दैनिक तीन सयको हाराहारीमा कोरोना संक्रमण देखिनुले नेपालको स्वास्थ्यवस्था गम्भिर हुँदै गएको तर्फ सचेत गराएकी छन् ।

‘५ महिना पछि दिन दिनै ३०० भन्दा बढी संक्रमित देखिनु भनेको यसको संक्रमण तत्काल कन्ट्रोल तथा ब्यवस्थापन गर्न सकिएन भने नेपालको स्वास्थ्य अवस्था गम्भीर हुने खतरा बढेको छ ।’ चौधरीले भनेकी छन् ।

कोरोना संक्रमण नियन्त्रण, ब्यवस्थापन र उपचारमा सरकारले मात्र हैन अब विपक्षी दल, नागरिक समाज तथा शिर्ष नेतृत्वले गम्भिरतापूर्वक लिनुपर्ने बताएकी छन् । ‘सरकारले आफ्नो जिम्मेवारी गम्भिरतापूर्वक पुरा गर्नुपर्छ भने, यस्तो बेला विपक्षी दल, नागरिक समाज तथा विभिन्न पार्टीहरुका शिषस्त नेताहरुले पनि सहयोग गर्नुपर्छ ।’ चौधरीले भनेकी छन् ।

उनले कोरोना संक्रमण समुदाय स्तरमा गएकोले स्थानीय तह र नागरिकहरु बढि सचेत र जिम्मेवार भएर सामाजिक दुरी कायम गर्दै कोरोना विरुद्ध लड्न सुझाएकी छन् । ‘कोरोनालाई जित्ने एउटै माध्यम भनेको सामाजिक दुरी हो, लकडाउन खुकुलो भयो भनेर जथाभावी हिँडडुल गर्ने, मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्ने कृयाकलाप नगरौं । कोरोना भाइरसलाई रोकथाम गर्ने सामाजिक दुरी कायम गर्ने वाहेक विकल्प छैन ।’

नेतृ चौधरीले स्थानीय तहमा कोरोना महामारी सम्बन्धी सचेतनाको अभाव भइरहेको पनि जनाएकी छन् । गाउँघरमा कोरोना महामारी छ भनेर थाहा हुँदाहुँदै पनि त्यसबाट बच्न सचेतना नअपनाउँदा संक्रमणको जोखिम बढेको उनको भनाई छ । ‘कोरोना भाइरस सर्छ भन्ने पनि छ तैपनी हामीहरु सजग भइरहेका छैनौं । दैनिक कृयाकलाप गर्दा सावधानी अपनाइरहेका छैनौं ।’ चौधरीले भनेकी छन् ।

साथै नेतृ चौधरीले दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गर्दा स्थानीय तहमा तिनीहरुलाई राख्ने आइसोलेसनको संख्या कम भएकोले स्थानीय प्रदेश सरकारले थप आइसोलेसनको निर्माणमा ध्यान दिनुपर्ने जनाइन् ।

सुनसरी क्षेत्र नं. ३ की नेतृ चौधरीले आफ्नो क्षेत्रमा पनि कोरोना संक्रमण फैलिइरहेको प्रति चिन्ता व्यक्त गर्दै नागरिकलाई सावधानी अपनाउन आग्रह गरेकी छन् । केही दिन यता सुनसरीको दुहवी क्षेत्रमा दिन प्रतिदिन कोरोना संक्रमण फैलिइरहेको र समुदाय स्तरमै पुग्न आँटेको चौधरीको भनाई छ ।

‘दुहवीमा पहिलो पटक ४ जनालाई कोरोना पोजेटिभ देखिएको छ । हामीले सावधानी अपनाउन सकेनौंभने आजभोली गर्दा गर्दै ४० जना, सय जना हुँदाहुँदै समुदाय स्तरमै फैलन बेर लगाउँदैन ।’ चौधरीले भनेकी छन्‘म सम्पूर्ण जन समुदायलाई आग्रह गर्दछु । घरमै बस्दा पनि मास्क, सेनिटाइजर लगाउँ, अत्यावश्यक काम वाहेक जथाभावी हिँड्डुल नगरौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *