रेशम चौधरीलाई रिहाई नगरे थरुहट क्षेत्रमा प्रधानमन्त्रीलाई निषेध !

काठमाडौं । सांसद रेशम चौधरीलाई रिहाई नगरे प्रधानमन्त्रीलाई थारुहट क्षेत्रमा निषेध गर्ने थरुहट थारुवान राष्ट्रिय मोर्चाले चेतावनी दिएको छ ।

तीन महिनाभित्र सांसद चौधरीलगायतका ११ जनालाई रिहाई नगरे प्रधानमन्त्री तथा उनीनिकटका सांसदलाई थरुहट क्षेत्रमा प्रवेश निषेधसँगै सामाजिक बहिष्कार गर्ने मोर्चाले चेतावनी दिएको हो ।

थरुहट थारुवान राष्ट्रिय मोर्चासँगै आन्दोलनमा ऐक्यवद्धता जनाएका नेपाल आदीवासी जनजाति महासंघ ७ नम्बर प्रदेश समन्वय परिषद, नेपाल लोकतान्त्रिक पार्टी कैलाली, खसान राष्ट्रिय संघर्ष समिति लगायतका ८ वटा संगठनले शनिबार (आज) धनगढीमा संयुक्त पत्रकार सम्मेलन गरी बहिष्कारको चेतावनी दिएका हुन् ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले टीकापुर घटनालाई अपराधिक घटना बनाई रेशम चौधरी लगायतका ११ जनालाई बन्दी बनाएको र उनीहरुलाई तीन महिना भित्र नछोडे त्यसबाट उत्पन्न असहज परिस्थितिको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने दह्रो माग राखे ।

“हामीले पटक पटक सरकारको ध्यानाकर्षण गराएका छौं । सुनुवाई भइरहेको छैन ।” संयोजक थारुले भनेका छन्, ‘अब तीन महिनाभित्र पनि सुनुवाई भएन भने निर्णायक आन्दोलन गर्नेछौं ।’

यस्तै उनले ओली सरकारले जनताको आवश्यक्ता र मागलाई बेवास्ता गरेको पनि बताएका छन् । उनले भनेका छन्, ‘केपी ओली नेतृत्वको सरकार जनताका समस्या र मागको वेवास्ता गर्दै अगाडि बढेकाले आन्दोलनको विकल्प छैन ।’

विसं २०७२ साल भाद्र ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो ।

प्रहरीले उनलाई घटनाको मुख्य योजनाकार भएको बताउँदै ‘मोस्ट वाण्टेड’को सूचीमा राखेको थियो । त्यसपछि पक्राउ परी कारागार जीवन बिताइरहेका सांसद चौधरी हाल अस्पतालमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *