खानेपानी नपाएपछि वडा कार्यालयमा तालाबन्दी

चितवन । खानेपानीको धारा जडानका लागि पैसा बुझाएको चार वर्ष हुँदा पनि पानी नपाइएको भन्दै चितवन राप्ती ८ पाख्रिवासका स्थानीयले वडा कार्यालय र खानेपानी संस्थाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
धारा जडानको लागि पैसा बुझाएको चार बर्ष बितिसक्दा पनि पानी नपाएपछि वडा नं ८ को कार्यालय र साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा तालाबन्दी गरेका हुन् । खानेपानीका लागि पाख्रिवासका ३६ घरधुरीले सो संस्थामा चार वर्ष अघि धारा जडान शुल्क बापत् जनही १० हजार रुपैयाँ बुझाएका थिए ।
पाख्रिवासमा निर्माणाधीन खानेपानी आयोजना समयमै सम्पन्न हुन नसकेका कारण पाख्रिवासबासीले पानी उपभोग गर्न पाएका छैनन् । ३६ घरधुरीलाई खानेपानी उपलब्ध गराउने विषयमा वडा कार्यालय र साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बेवास्ता गरेका कारण दुई वटा कार्यालयमा एकै दिन तालाबन्दी गरिएको स्थानीय विष्णुहरि ढकालले बताए ।
पाख्रिवासमा अर्को स्किम टु खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आयोजना निर्माण सुरु गरेपछि साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले ३६ घरधुरीमा पानी वितरण गरेको थिएन । ढकालले दुई खानेपानी संस्थाको टकराबका कारण पाख्रिवासबासीले खानेपानी नपाएको बताए ।
यता वडाध्यक्ष वुद्धिराज थपलियाले जनप्रतिनिधिहरु आउनु भन्दा अघिको विवाद रहेपनि प्राविधिक क्रुटीका कारण पानी वितरण हुन नसकेको बताए । विवाद समाधानका लागि सोमवार स्थानीयवासीसँग छलफल राखिएको उनको भनाई छ । पाख्रिवास खानेपानी विस्तारका लागि प्रदेश सरकारले यस वर्ष ५० लाख रुपैयाँ विनियोजन गरिसकेको छ ।








