रश्मीदेखि गणेश नेपालीसम्मः आत्मदाहको आगोले देखाएको समाजको ऐना

काठमाडौं । शुक्रबार बिहान कार्यालय जान घरबाट आफ्नै विद्युतीय कार चलाएर निस्किएकी ४५ वर्षीया रश्मी रिजाल शनिवार मृत फेला परिन् ।

तारकेश्वर नगरपालिका–९ को साङ्गलाखोला–पटापु क्षेत्रमा कारभित्र जलेको अवस्थामा उनी मृत फेला परेकी थिइन् । घटनापछि सामाजिक सञ्जालमा अनेक अनुमान र टिप्पणी भइरहेका छन् । तर प्रहरीले अनुसन्धान नसकिएकाले कुनै निष्कर्षमा पुग्न हतार नगर्न आग्रह गरेको छ ।

प्रहरीका अनुसार सीसीटीभी फुटेजमा रश्मीले आफैं कार उक्त स्थानमा पार्किङ गरी गाडीभित्र आगो लगाएको देखिएको छ ।

तर उनले यस्तो निर्णय किन लिइन् भन्ने विषय अझै रहस्यमै छ । घटनास्थलको अवस्था, पोस्टमार्टम रिपोर्ट, प्राविधिक प्रमाण, मोबाइल विवरण र अन्य तथ्यहरूको विश्लेषण भइरहेको प्रहरीले जनाएको छ ।

कार्यालय नपुगेपछि सुरु भयो खोजी

नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा कम्प्लायन्स अफिसर तथा प्रवक्ताका रूपमा कार्यरत रश्मी शुक्रबार बिहान करिब ७ः११ बजे कार्यालय जान भन्दै घरबाट निस्किएकी थिइन् । परिवारलाई पनि उनले कामका कारण चाँडै पुग्नुपर्ने बताएकी थिइन् ।

तर उनी त्यसदिन कार्यालय नै पुगिनन् । नियमित रूपमा कार्यालय आउने र बिना जानकारी बिदा नबस्ने रश्मी सम्पर्कविहीन भएपछि सहकर्मीहरूले परिवारलाई खबर गरेका थिए । उनको मोबाइल बन्द थियो भने अन्तिम लोकेसन नेपालटार–बनियाटार क्षेत्रमा देखिएको थियो । परिवारले नेपालटार, बनियाटार, टोखा, बुढानीलकण्ठ, बालाजु, नुवाकोट, चितवनलगायत क्षेत्रमा खोजीका लागि सार्वजनिक अपिल गरेको थियो ।

परिवारले विभिन्न स्थानमा खोजी अभियान चलाए पनि कुनै जानकारी नपाएपछि शुक्रबार साँझ उनका श्रीमानले प्रहरीमा खोजतलासको निवेदन दिएका थिए । त्यसको भोलिपल्ट शनिवार उनको शव कारभित्र जलेको अवस्थामा भेटिएको हो ।

घटनापछि सामाजिक सञ्जालमा रश्मीको मृत्युलाई सेयर बजारमा भएको घाटासँग जोडेर विभिन्न दाबी गरिए । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पनि सामाजिक सञ्जालमार्फत सेयर बजारमा लगानी डुबेको तनावका कारण उनले आत्मदाह गरेको दाबी गरेका थिए ।

उनले लेखेका छन्, ‘फागुनदेखि अहिलेसम्म करिब रु. २.१५ खर्ब (करिब रु. २१५ अर्ब) सेयर लगानीकर्ताले रकम गुमाए । सेयर बजार ध्वस्त भयो । रश्मी रिजाल आत्महत्या गर्न बाध्य भइन् अर्थमन्त्रीज्यू, यो विषयलाई गम्भीरताका साथ लिनुहोस् ।’

उनले अर्थमन्त्री स्वर्णिम वाग्लेको नीतिका कारण आज सेयर बजार ध्वस्त भएको र देशका हजारौँ लगानीकर्ता ठूलो आर्थिक संकट र तनावमा परेको लेखे । उनीजस्तै धेरै मानिसले रश्मी सेयर बजारमा लगानी डुबेको कारण तनावमा रहेको र यस्तो कदम उठाएको अड्कलबाजी गरिरहेका छन् ।

तर रश्मीलाई नजिकबाट चिन्ने सहकर्मीहरूले यस्तो दाबी तथ्यमा आधारित नभएको बताएका छन् । उनीहरूका अनुसार रश्मी व्यक्तिगत रूपमा ठूलो जोखिम लिएर दोस्रो बजारमा लगानी गर्ने स्वभावकी थिइनन् । उनी जिम्मेवार, शान्त र व्यावसायिक व्यवहार गर्ने कर्मचारीका रूपमा परिचित थिइन् ।

सहकर्मीहरूका अनुसार उनी ग्राहकसँग नम्र भएर बोल्ने तथा विषयवस्तु बुझेर व्यवहार गर्ने गर्थिन् । ‘उहाँ जोखिम मोलेर आफैं ठूलो लगानी गर्ने प्रकृतिको व्यक्ति होइन, उनका एक सहकर्मीले भने, ‘सेयर बजारमा डुबेको कारण यस्तो कदम उठाएको भन्ने मलाई विश्वास लाग्दैन ।’

प्रहरीले पनि अनुसन्धान पूरा नभएसम्म कुनै पनि अनुमानलाई तथ्यका रूपमा प्रचार नगर्न र अपुष्ट सूचना फैलाउनबाट जोगिन सबैलाई आग्रह गरेको छ ।

बढ्दो आत्मदाहका घटनाले गम्भीर प्रश्न

पछिल्लो समय नेपालमा आत्मदाहका घटनाहरू बढ्दै गएका छन् । गत असार २५ गते राहदानी विभाग अगाडि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए । त्यसयता रौतहट, बुद्धनगर, बौद्धलगायत स्थानमा पनि यस्ता घटना भएका छन् ।

गणेश नेपालीदेखि रश्मी रिजालसम्म आइपुग्दा आत्मदाहको लहरले एउटा गम्भीर बहस छेडेको छ । दिनानुदिन मानिस फ्रस्टेड भएर जीवन सिद्ध्याउने पथ समात्नु निकै गम्भीर कुरा हो । मनोविद् पद्मप्रकाश घिमिरे राज्यले आफ्ना नागरिकका लागि आफू अभिभावक भएको अनुभूति दिलाए यस्ता घटनामा न्यूनीकरण हुनसक्ने बताउँछन् ।

उनले भने ‘राज्यले आफ्ना नागरिकका लागि आफू अभिभावक भएको अनुभूति दिलाउनुपर्छ, जसले गर्दा नागरिकले जहाँ गए पनि राज्य छ भन्ने विश्वास गर्छन् जसले यस्ता घटनामा न्यूनीकरण ल्याउन मद्दत पुर्‍याउन सक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + fifteen =