भैंसेपाटीमा ६ नेताकाे वामदेव गाैतमलाई साेधनि, ‘तपाईंले चाहीँ गर्नु के भयाे र ?’

काठमाडौं । सत्तारुढ नेकपा भित्रको विवाद मत्थर पार्ने अभिप्रायले नेकपा उपाध्यक्ष वामदेव गौतमले अघि सारेको ६ बुँदे प्रस्ताव प्रति पूर्वएमाले पक्षकै युवा नेताहरुले असन्तोष व्यक्त गरेपछि गौतमलाई बुधबार युवा नेताहरुलाई फकाउन सकस भयो ।

गौतमले पूर्वमाले धारका ६ युवा नेतालाई बुधबार बिहान भैंसेपाटी निवासमा भेटघाट र छलफलका लागि डाकेकोमा उनीहरुले उल्टै गौतमलाई विवाद मिलाउन भन्दा विगार्न सक्रिय रहेको आरोप लगाए । पार्टीभित्रको विवाद समाधान गर्न ६ बुँदे प्रस्ताव अघि सारेको भोलिपल्टै गौतमले ठाकुर गैरे, दीपकप्रकाश भट्ट, रामकुमारी झाक्री, रविन कोइराला, जीवनराम श्रेष्ठ र सुरेन्द्र मानन्धरसँग निवासमै छलफल गरेका थिए ।

छलफलमा युवा नेताहरुले उल्टै गौतमलाई ६ बुँदे प्रस्तावबाट पछि हट्न आग्रह गरे तर, गौतमले उनीहरुको प्रस्ताव स्विकार्न सकेनन् । ‘एउटा कुर्सीकै लागि पार्टी फुटाउन दिने कुरा हुन्न । जोगाउन म लागेको हुँ । लात खाए पनि खाऔंला, बात खाए पनि खाऔंला । अहिले यही प्रस्ताव हेरौं ।’ उपाध्यक्ष गौतमको जवाफमा युवा नेताहरुले पनि विगतमा उनले पार्टीभित्र खेलेको चलखेलको राम्रै पाठ पढाई दिए ।

गौतमसँगको छलफलमा एक युवा नेताले भने ‘तपाईंले जे प्रस्ताव ल्याउनुभयो, त्यसमा हामी सहमत छैनौं । तपाईं केपी कमरेड (केपी शर्मा ओली) बाट उपयोग मात्र हुनुभयो ।’ ६ बुँदे प्रस्ताव दिउँसो सार्वजनिक हुने, साँझ प्रधानमन्त्री केपी शर्मा ओली पार्टी महासचिव विष्णु पौडेल र श्रीमती राधिका शाक्यसहित गौतम निवास पुगेका विषयमा ती नेताहरुले गौतमलाई र्याखर्याख्ती पारेका थिए । ‘तपाईंको प्रस्ताव आउनु, प्रधानमन्त्री निवासमै आएर डिनर गर्नु, बाहिर अनेक कुरा आए, खासमा के कुरा भयो ? स्पष्ट पार्नुस ।’ साँझ प्रधानमन्त्री आफ्नै निवासमा आएर भेटघाट गरेको प्रसंग उठाए ।

‘मलाई त उहाँ (प्रधानमन्त्री) आउँदै हुनुहुन्छ भन्ने थाहै थिएन । यहाँ कुनै त्यस्तो डिनर खाएको पनि होइन । घरमा एक्कासि सेनाका सुरक्षाकर्मी आएपछि तपाईंहरू यहाँ किन ? भनेर सोध्दा प्रधानमन्त्री आउँदै हुनुहुन्छ भनेपछि मात्र उहाँ आउँदै गरेको जानकारी मैले थाहा पाएको हुँ । बाहिर धेरै भ्रम गए, त्यस्तो केही भएको छैन ।’ उपाध्यक्ष गौतमले प्रष्टिकरण दिए । तर, युवा नेताहरु खासै कन्भिन्स हुन सकेनन् ।

सोहि विहान उपाध्यक्ष गौतमले पार्टीभित्रको विवाद मत्थर पार्न सार्वजनिक गरेको ६ बुँदे प्रस्तावमा कुरा उठ्दा एक युवा नेताले भने– ‘तपाईंलाई बारम्बार उपयोग गर्ने काम मात्र भयो, केपी कमरेडले, तपाईं पनि पटक–पटक प्रयोग मात्र भइरहनुभयो, यो तपाईंले अगाडि सारेको प्रस्तावले पनि पार्टीभित्रको समस्याको समाधान गर्दैन, पार्टी धेरै अगाडी गईसक्यो, यत्रो संकटको बेला ६ बुँदेले के गर्छ ?’

युवा नेताको प्रश्न सुनेर गौतमले भने–‘केपी ओली कमरेडले पार्टी पनि बर्बाद बनाउनुभयो । सरकार पनि सम्पूर्ण रुपमा प्रभावकारी ढंगले चलाउन सक्नुभएन । उहाँले दुवै पदबाट राजीनामा दिनुपर्छ भनेर सुरुमा विषय उठाउने मै हुँ । मैले कोहीसँग सल्लाह गरेर यो प्रस्ताव ल्याएको होइन ।’ गौतमले अगाडी भने–‘पार्टी विभाजन हुन्छ कि भन्ने लाग्यो एकातिर, अर्काेतिर बाढीपहिरो छ, कोरोनाको भयावह अवस्था छ । यस्तो बेला सरकारलाई केही गर्न हुँदैन कि भन्ने मनमा आयो । त्यही भएर यो प्रस्ताव ल्याएको हुँ ।’

गौतमले युवा नेताहरुलाई आश्वस्त पार्न भने –‘अन्ततोगत्वा उहाँले राजीनामा नदिई सुखै छैन, दिनै पर्छ । त्यही भएर मैले लेख्दा नै माथि तत्काल भन्ने शब्द लेखेको छु ।’ गौतमको प्रष्टिकरणमा युवा नेताहरुले खासै चित्त बुझाएनन् । किनभने पार्टीमा गौतमले जहिल्लै धुलमुले चरित्र देखाउँदै आइरहेका छन् । अर्का युवा नेताले प्रश्न गरे–‘त्यसो भए पहिलो बुँदामै किन फेरि ५ वर्ष नै लेख्नुभयो ?’

गौतमले पुनः उत्तर दिए–‘पहिलो बुँदा मात्र ओली कमरेडका लागि हो, अन्य ५ बुँदा सबै हाम्रा लागि हो, मैले पार्टी सम्पूर्ण रुपमा कार्यकारी अधिकारसहित प्रचण्ड (पुष्पकमल दाहाल) कमरेडले चलाउने पनि लेखेको छु । यसैमा अहिले जाँदा ठीक होला ।’
ढुलमुले चरित्र भएकैले गौतमको जवाफमा ६ जना युवा नेताहरु खासै सन्तुष्ठ हुन सकेनन् । उनीहरुले गौतम र प्रधानमन्त्री ओलीविच ठूलै खिचडी पाकिरहेको अनुमान गरे । ‘यो तपाईंको ठीक कुरा हो भन्ने महसुस गर्न सकिएन । तपाईंले भनेजस्तो केपी कमरेडले नै पनि मान्नु हुन्न’ एक युवा नेताले आशंका गरे ।

अर्का नेताले पनि ओलीको परिवारसँगको डिनर भेटमा भएको कुरा सार्वजनिक गर्न भने । ‘केपी कमरेड भेट्न आउनुभयो, तपाईंको प्रस्तावमा उहाँले के भन्नुभयो ?’

गौतमले जवाफ दिए–‘उहाँको रेस्पोन्स त्यत्ति राम्रो छैन । बुँदा २ मा प्रचण्डलाई सम्पूर्ण अधिकार दिने कुरा काटौं भनेर भन्नुभयो, मैले त्यो काट्न हुन्न भनेको छु । उहाँले रेस्पोन्स राम्रो गर्नुभएको छैन । मैले सम्पूर्ण रुपमा अधिकार दिने प्रचण्डलाई भनेको छु । कहाँ मैले प्रचण्डलाई छोडेको छु र ? तत्काल राजीनामा मात्र नमागौं भनेको हो ।’

गौतमले अबको बाँकी प्रतिनिधिसभाको कार्यकाल पनि ओलीलाई नै प्रधानमन्त्री भनेपनि ओलीको बानी नसुध्रने तर्क गरे । ‘तपाईं हामी सबैलाई थाहै छ, उहाँको बानी । पाँच वर्षको पाँच दिन पनि उहाँ जान सक्नु हुन्न । फेरि आइहाल्छ विषय । अहिलेलाई मात्र नगरौं भन्ने मेरो प्रस्ताव हो ।’

गौतमले आफुले ओलीलाई विगतमा पटकपटक समर्थन गर्दा पाएको हन्डर र धोका समेत सम्झिए । ‘ओली कमरेडलाई समर्थन गर्दा मैलेजति कसले खाएको होला हण्डर र धोका ? तैपनि सहमति हुन्छ भने यसरी गरौं भन्ने हो ।’  उनले ६ वुँदे प्रस्ताव आफुले ओलीसँग छलफल गरेर नल्याएको स्पष्टिकरण पनि दिए । ‘नेताहरूले रुचाउनुभयो भने त्यही अनुसार सल्लाह गरौं । भएन भने ठीक छ के गरौंला ।’ उनले भने ।

कसरी हुन्छ गौतमलाई ६ वुँदेबाट पछि हटन लगाउने मनस्थिति सहित भैंसेपाटी पुगेका उनीहरुले गौतमलाई तत्कालका लागि ६ वुँदेबाट पछि हट्न आग्रह गरे । थर, गौतम टसमस भएनन । ‘तत्कालका लागि ब्याक हुन्नँ । बरु मलाई सहयोग गर्नुस् । नेताहरूलाई कन्भिन्स गर्न तपाईंहरूले पनि सहयोग गर्नुस् ।’

गौतमले अहिले पार्टी विषम परिस्थितिमा अगाडी बढेको स्मरण गराउँदै यो बेला पार्टी बोक्नुपर्ने अवस्था आफुमा आएको तर्क गरे । ‘म माधव, प्रचण्ड, केपी कोही पनि बोक्दिनँ । म विचार निर्माण गरिरहने मान्छे, यो हुन्छ कि भनेर अगाडि बढाएको हो । तपाईंहरुले पनि सहयोग गर्नोस्’ गौतमको कुरा सुनेपछि युवा नेता मध्येका एकले भने–‘तपाईंको प्रस्तावमा हामी नै सहमत छैनौं, अरू नेतालाई कसरी सहमत गराउन कुदौं ?’

युवा नेताहरु कन्भिन्स नभएको देखेपछि अलिक कठोर हुँदै गौतमले भने–‘पार्टी फुट्नु र फुटाउनु भनेको नेकपाको लागि ठूलो घात गर्नु हो । यो बेला विमतीहरु छलफलबाटै टुंग्याउनु पर्छ भन्ने मेरो बुझाई हो ।’ केही भन्दापनि युवा नेताहरु कन्भिन्स नभएको बुझेपछि गौतमले केन्द्रीय कमिटिमा दुई तिहाई भएको बताउँदै जे मन लाग्छ त्यहि गर्नोस भनेर झर्किए ।

‘तपाईंहरुसँग केन्द्रीय कमिटिमा दुई तिहाई छँदैछ, जे मन लाग्छ त्यहि गर्नोस, मलाई जे मन लाग्छ त्यहि गर्छु । त्यहि गरें ।’
वामदेव गौतमको टर्रो कुरा सुनेर एक युवा नेताले जवाफ फर्काए–‘गर्नुचाँही के भयो त ? पटकपटक तपाईंलाई लात मार्ने उनै केपी ओलीलाई बोकेर फेरी अर्को लात खान तयार हुनुभयो हैन ? हामी त तपाईंले लात खान नपरोस भन्ने कार्यकर्ता हौं, हाम्रो कुराको पनि कदर गर्नोस ।’

युवा नेताहरु अझै कन्भिन्स नभएको देखेर अन्तिममा गौतमले भने–‘ लात खाए पनि, बात खाए पनि खाऔँला । तर,मुख्य शर्त भनेको केपीको सनकमा पार्टी फुट्न नदिने हो । म पार्टी जोगाउने कुराको चिन्ता गरेर यो ६ बुँदे प्रस्ताव तयार पार्न तम्सिएको छु । यसमा अडिग छु । यदि केपीले केही गरी पार्टी फुटाए भने म उनको साथमा पनि हुने छैन ।’
गौतमको निष्कर्ष सुनेपछि निराश हुँदै उनीहरु फर्किए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *