मकालु खबर प्रभावः २ घण्टामा सफा भयो विराटनगरको कोभिड अस्पताल

विराटनगर । विराटनगरस्थित कोभिड–१९ अस्पताल सुधार्ने प्रयास भएको छ । कोरोना संक्रमण भएर आएका केही संक्रमितलाई व्यवस्थित नगरेको समाचार मकालु खबरमा प्रकाशित भएपछि कोशी कोभिड–१९ अस्पताल व्यवस्थापनले क्वारेन्टाइन सफा गर्ने र वेडहरू व्यवस्थापन गर्ने काम गरेको हो । भने, खाना र खाजाको पनी व्यवस्थापन गरेको एक संक्रमितले जनाए ।
अस्पतालले गए राती नै अव्यवस्थित रूपमा करिडोरमा थुपारिएको फोहर हटाएको तथा महिला पुरूषलाई छुट्टाछुट्टै वेडको व्यवस्था गरीदिएको क्वारेन्टाइनमा रहेकी ती संक्रमितले बताइन् । ‘हिजो साँढे ९ बजेतिर आएर हामीलाई वेडहरू मिलाई दिए, महिला पुरूषलाई फरक–फरक ठाउँमा राखे । करिडोरमा गन्हाएको फोहर पनि हटाए ।’ 
कोभिड अस्पताल व्यवस्थापनले मकालु खबरमा समाचार प्रकाशित भएपछी सुधार गरेको बताउँदै अहिले समय–समयमा आएर चिकित्सकहरूले सोध खोज गरेको पनि जानकारी दिइन् । हिजो सोमबार मात्र कोभिड अस्पताल आइपुगेकी उनी करिब ३ घन्टा क्वारेन्टाइनको करिडोरमा पानी समेत नखाई उभिएकी थिइन् ।
११ महिनाको काखे सन्तान छाडेर क्वारेन्टाइनमा बस्न आएकी ती महिलालाई अहिले बच्चालाई स्तनपान गराउन नपाएर समस्या भएको छ । ‘स्तनपान गराउन नपाएर गान्निएको छ । बच्चा पनि स्तनपान गर्न नपाएर छट्टपाईरहेको छ ।’ ति संक्रमितले भनीन् ।
ती महिलाका अनुसार कोशी अस्पतालले कोभिड अस्पताललाई स्विपर उपलब्ध नगराई दिएकोले कोठा र शौचालय आफैं सफा गर्नुपर्ने अवस्था रहेको बताइन् । ‘हिजोको भन्दा धेरै सुधार भयो, खाना पनि ठिकै छ, पानी आएको छ । महिला पुरूष, श्रीमान श्रीमतीलाई छुट्टाछुट्टै स्थानमा राख्ने प्रबन्ध भयो । म अहिले एक जना महिलासँग रहेकी छु ।’ उनले भनीन् ।

उनले आफु सामान्य संक्रमित भएकोले घरमै सुरक्षित रहन सक्ने अवस्था भएकोले मापदण्ड अपनाएर जान पाए हुने इच्छा व्यक्त गरीन् । ‘मेरो सानो बच्चाले गर्दा मलाई यहाँ बस्न गाह्रो भइरहेको छ । म घरमै सुरक्षित रूपमा बस्न सक्छु ।’ ती संक्रमितले भनीन् ।
कोशी कोभिड–१९ अस्पतालले अस्पतालमा आइसकेका कुनैपनि संक्रमितलाई आफुखुसी बाहिर वस्न दिएको छैन । अस्पतालका डा. डिनप्रसाद आचार्यले स्तनपान गराईरहेका महिलाहरूलाई उनीहरूको अवस्था हेरेर होम आइसोलेसनमा राख्न सकिने नसकिने छलफल भइरहेको बताए । उनले अस्पतालले स्तनपान गराईरहेका महिलाहरूलाई छुट्टै राख्ने अथवा उनीहरूको स्वास्थ्यवस्था हेरेर कम संक्रमित भए वा घरमा छुट्टै सुरक्षित बस्न सक्ने अवस्था पाए पठाउन सक्ने राय स्वास्थ्य मन्त्रालयलाई दिएको जनाए ।
याेपनि
विराटनगरको कोभिड–१९ अस्पतालमा संक्रमितको पीडा ‘कोरोना लागेको भनेर होला पशु जस्तै व्यवहार भयो ?’
‘अहिलेसम्मको अवस्थामा हामीले कसैलाई होम आइसोलसनमा बस्नुस भनेका छैनौं । तर, भर्खरै बसेको बैठकमा भने, गर्भवती, सुत्केरी तथा ससाना बालबच्चा भएका महिलाहरू र कम संक्रमण देखिएकालाई उनीहरूको घरायसी वातावरण हेरेर घरमा पठाउन होकी भनेर प्रस्ताव गरेका छौं । हामी आफैं निर्णयकर्ता नभएकोले स्वास्थ्य मन्त्रालयले निर्णय गर्नपर्छ ।’ उनले भने ।
डा. आचार्यले स्तनपान गराईरहेको बच्चाको आमालाई कोरोना पोजेटिभ देखिएको भए सकेसम्म बच्चालाई स्तनपान नगराएकै वेस हुने सुझाव दिए । ‘आमालाई पोजेटिभ छ, बच्चालाई नेगेटिभ छ भने यस्तो बेला स्तनपान नगराएकै वेस । ११ महिनाको बच्चाले अन्य कुरा पनि खान सक्न नी । त्यसकारण रिस्क नलिएकै राम्रो ।’
डा. आचार्यले सेना, प्रहरीका संक्रमित जसलाई उनीहरूकै ब्यारेकमा छुट्टै स्थानमा चिकित्सकको निगरानीमा राख्न सकिन्छ उनीहरूलाई पनि आवश्यक मापदण्ड बनाएर ब्यारेकमै राख्न सकिने प्रस्ताव पनि गरिएको जानकारी दिए ।
कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले कोभिड–१९ अस्पताललाई व्यवस्थित गराउने सन्दर्भमा गृहकार्य भइरहेको बताउँदै कतिपय कुराह? एकै पल्ट गर्न नसक्दा समस्या आएको हुन सक्ने बताए । ‘हामीले व्यवस्थापन गर्ने प्रयास गरीरहेका छौं । जनशक्ति र आर्थिक क्षमता भन्ने वित्तिकै व्यवस्थापन गर्न नसक्दा समस्या भएको हुन सक्छ ।’ उनले भने ।








