विराटनगरको कोभिड–१९ अस्पतालमा संक्रमितको पीडा ‘कोरोना लागेको भनेर होला पशु जस्तै व्यवहार भयो ?’

विराटनगर । विराटनगरस्थित कोभिड–१९ अस्पतालमा कोरोना पोजेटिभलाई पशुजस्तै व्यवहार गरीएको एक संक्रमित महिलाले बताएकी छन् । हिजो कोरोना पुष्टि भएकी ती महिलाले आफुलाई अहिलेसम्म कोभिड–१९ अस्पतालबाट कुनैपनि प्रकारको रेखदेख नभएको बताइन् ।

मकालु खबरसँग सम्पर्कमा आएकी ति संक्रमितले आफुलाई अहिलेसम्म कोभिड–१९ भएको रिपोर्ट समेत नदिइएको भएपनि कोभिड–१९ अस्पतालसम्म आफैं सुरक्षित रुपमा आएपनि अस्पताल भित्रै प्रवेश समेत असहज भएको बताइन् । दिउसो कोभिड–१९ अस्पताल पुगेकी उनी एक घण्टा कोभिड–१९ अस्पतालको गेट अघिल्तिर एम्वुलेन्समै बस्नु परेको बताउँदै भित्र लगेपनि अहिलेसम्म आफु बस्ने वेड समेत नदिएको जिकिर गरीन् । उनी अस्पतालको करिडोरमा ३ घन्टा देखि उभिइरहेकी छन् ।

काेशी काेभिड अस्पतालमा महिला पुरूष, केटाकेटी सबैलाइ एउटै रूपमा राखिएकाे छ ।

‘म घरमा ११ महीनाको बच्चा छोडेर आएकी हुँ, अस्पतालको गेटमा आएको एक घन्टासम्म कोही लिन आएनन्, बल्लबल्ल आएकाले पनि हर्लिक्स र मास्क भएको एउटा बट्टा दिएर गए, मेरो वेड कहाँ हो, कसरी बस्ने के खाने केही थाहा छैन ।’ हतास हुँदै उनले भनीन् ।

अस्पतालबाट निस्किएकाे फाेहर यसरी करिडाेरमा थुपारिएकाे छ ।

ति संक्रमितले आफुले तीन घन्टा देखि पानी समेत खान नपाएको जिकिर गर्दै कोभिड–१९ अस्पताल भित्र अत्यन्त दुर्घन्ध र फोहर भएकाले बस्न सक्ने अवस्था नरहेको जनाइन् । ‘म यहाँ आएको तीन घन्टा भयो, अस्पतालको गेटमै १ घन्टा बस्नु पर्यो, बल्लबल्ल भित्र छिराए तर, कहाँ जाने केही थाहा भएन । तीन घन्टा देखि म यहाँ अलपत्र छु, मलाई कसैले कसरी रहने जानकारी दिएनन् अन्यौलमा छु ।’

शाैचालयबाट निस्किएकाे मलमुत्र

अस्पतालमा रहेका नर्स तथा फिवर चेक गर्नेहरुलाई सोधखोज गर्दा उनीहरुले ‘हुँदैछ हुँदैछ’ मात्र भनेको बताइन् । ती महिलाले हिजो आएका केही संक्रमितहरुले पनि अहिलेसम्म खान नपाएको बताउँदै भनीन् । ‘अस्पताल भन्ने मात्र रहेछ, केही सुविधा छैन, पानी छैन, ट्वाइलेट समेत महिला पुरुषको एउटै रहेछ । दुर्घन्धले ट्वाइलेट जान सकिँदैन । भित्र महिला पुरुष, केटाकेटी, बृद्धबृद्धाहरू लाई एकै ठाउँमा राखिएको रहेछ । हिजो आएका केही महिला साथीहरुलाई खाना पनि दिइएन छ ।’

उनले विराटनगर स्थित कोभिड–१९ अस्पतालले संक्रमितलाई पशुको जस्तै व्यवहार गरेको बताइन् । ‘ कोभिड भयो भनेर उपचारका लागि पो आएका हौं त, यहाँ सद्दे मान्छे आएपनि विरामी भएर जान्छन् । यहाँको वातावरण देखेर बाहिर निस्कँदा अरु नै विरामी हुने होकी भन्ने डर भयो । पशुलाई जस्तै व्यवहार भयो ।’ तीनले भनीन् ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले कोभिड–१९ अस्पतालमा कोभिडका विरामीलाई त्यस्तो अमानवीय व्यवहार नभएको जिकिर गरे । मकालु खबरसँग कुरा गर्दै उनले हिजो आएकाहरुलाई व्यवस्थित गराउने क्रममा कमी कमजोरी भएको हुन सक्ने बताउँदै एउटा विरामी ३ घन्टासम्म करिडोरमा बस्नु दुखद कुरा भएको बताए । उनले आफु भर्खरै आएकोले सबै कुरा थाहा नभएकोले जानकारी लिने बताए । ‘त्यस्तो त नहुनु पर्ने, फोन गरेर नआएकोले वेड व्यवस्थापनमा समस्या भएको हुन सक्ला तर, त्यो पनी ३ घन्टा लाग्दैन, के भएको रहेछ बुझ्छु ।’

मनिटर रूम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विराटनगरको कोभिड–१९ अस्पतालमा संक्रमितलाई अमानवीय व्यवहार गरीएको प्रति सोधखोज गर्ने बताए । उनले कोभिड–१९ अस्पतालमा विरामी पुगेपछी अस्पतालले उसको खाने बस्ने र उपचारको व्यवस्था गर्नुपर्ने बताउँदै के भएको हो जानकारी लिने बताए ।

नोटः समाचारमा कोरोना संक्रमित महिलाको नाम र ठेगाना गोप्य राखिएको छ । –सम्पादक

काेशी काेभिड अस्पतालकाे शाैचालय

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *