वृद्धको मृत्युपछि हटाइयो तुइनको बकेट, बागमती प्रदेश सरकारले पक्की पुल बनाउने

मकवानपुर । मंगलबार तुइन तर्न खोज्दा लडेर ७७ वर्षिय वृद्धको मृत्यु भएपछि हेटौँडा उपमहानगरपालिका–१ स्थित त्रिभुवन राजपथ नजिक रहेको तुइनको बकेट हटाइएको छ । बागमती प्रदेश सरकारले उक्त तुइन हटाएको हो ।

प्रदेश सरकारले पक्की पुल बनाउने प्रतिबद्धता जनाएपछि बुधबार बकेट हटाइएको वडाध्यक्ष सविन न्यौपानेले बताए । राप्ती खोलामाथि चौकीटोल र मैनटार जोड्ने यो तुइनबाट लडेर ७७ वर्षीय कृष्णप्रसाद पराजुलीको मृत्यु भएको थियो ।

तीन दिनदेखिको अविरल वर्षासँगै बाढी आएपछि पराजुलीले राप्ती खोला तरेर पश्चिमको लालझाडी जान नसकेपछि उनी चौकीटोल र मैनटार जोड्ने तुइनको सहारा लिन पुगेका थिए । पराजुली तुइन चढ्न खोज्दा चिप्लिएर करिब १५ फिट तल खसेर ढुंगामा बजारिएर गम्भीर घाइते भएका थिए ।

सेनाको एम्बुलेन्समा राखेर उनलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएकाेमा त्यहाँ उपचार हुन नसकेपछि चुरेहिल अस्पताल लगिएकाे थियाे । त्यहाँ पनि पराजुलीकाे उपचार सम्भव नभएपछि भरतपुर लैजाने क्रममा उनकाे मृत्यु भएकाे थियाे ।

बुधबार तुइन यथावत् रहे पनि मान्छे चढने बकेट हटाइएको वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिएका छन् । बकेट हटाएपछी तुइनबाट आवतजावत बन्द भएको छ ।

वडाध्यक्ष न्यौपानेका अनुसार ७७ वर्षिय वृद्धको मृत्यु भएपछि बागमती प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत पक्की पुल निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । प्रदेश सरकारले पुलका लागि डिपिआर तयार गरिसकेको भएपनि पुल निर्माणको काम अगाडि बढ्न सकेको थिएन ।

एक करोडको लगानीमा दुई वर्षभित्र पुल निर्माण गर्ने योजना छ । तुइनभन्दा केही पश्चिममा झोलुंगेपुल भएपनि पश्चिम क्षेत्रका तीन गाउँका आठ सय परिवारलाई पायक नपर्ने भएकाले उनीहरु प्रत्येक वर्षायाममा तुइनबाटै ओहोरदोहोर गर्दै आएका थिए ।

नेकपाकाे निर्वाचित सरकार गठन भएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका तुइनहरू हटाउने घाेषणा गरेका थिए । तर, आजसम्म देश तुइन मुक्त भइसकेकाे छैन । वर्षेनी तुइनबाट झरेर सर्वासाधारणकाे ज्यान गएपनि प्रधानमन्त्री स्वयंले घाेषणा गरेकाे कार्यक्रम सम्पन्न भएकाे छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *