राजविराजमा बिहीबार बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी

सप्तरी । राजविराजमा बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । बुधबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले अनिश्चित कालाका लागि निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यका अनुसार बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिकाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

राजविराजमा कोरोना संक्रमित भेटिन थालेपछि राजविराज नगरपालिकाले बुधबारदेखि नै लकडाउनमा कडाइ गर्ने निर्णय गरिसकेको छ ।

कोरोना संक्रमण भएर राजविराजमा गत बिहीबार एक वृद्वको मृत्यु भएको थियो । बुधबार मृत्यु भएका वृद्धका परिवारका ५ जनासहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रजिअ आचार्यका अनुसार अति आवश्यक बाहेकका सबै सेवा बन्द गर्न र अन्य सेवा तथा स्थलहरु अनावश्यक आवत जावत, हिंडडुल गर्न नदिने गरी निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको आदेश उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *