‘कागजी एम्बुलेन्स’ भुक्तानी प्रकरण : गल्ती ढाक्न झुटको खेती गर्दै प्रहरी

काठमाडौं । बोलपत्र नियमानुसार यतिबेला ४ वटा एम्बुलेन्स आफ्नो परिसरमा राखेर भुक्तानी दिनुपर्ने प्रहरी प्रधान कार्यालयले ‘कागजी एम्बुलेन्स’लाई भुक्तानी दिएसंगै थप रहस्यहरु बाहिर आउन थालेको छ ।

मिलेमतो र परम्परागत सेटिङ्ग विवाद चुलिँदै गएपछि प्रहरी प्रशासन ढाकछोप र कागजी मिलानमा अघि सरेको हो । नियमविपरीत कागजी एम्बुलेन्सलाई भुक्तानी दिएर अख्तियारको घेरामा परेको प्रहरी प्रधान कार्यालयले अझ उदाङ्गो रुप देखाउन थालेको छ ।

निर्धारित मितीमा सामान उपलब्ध गराएर प्राविधिक समितिले चेकजाँच पास गरेपछि मात्रै भुक्तानी दिनुपर्ने नियमविपरीत सेटिङ्ग मिलाएर व्यापारीलाई पोसेपछि अहिले कार्यालयको आर्थिक प्रशासन शाखा अख्तियारको फन्दामा परेको उच्च श्रोतले जनाएको छ ।

नियमानुसार सामाना दाखिला र प्राविधिक चेकजाँच परीक्षणमा पास भएको प्रमाणपत्रसहित निर्देशनालयमा बुझाएर यातायात व्यवस्था विभागबाट प्रहरी प्रधान कार्यालयको नाममा नामसारी गरेपश्चात् मात्रै भुक्तानी दिनुपर्ने हो ।

यो पनि हेर्नुहोस् :
प्रहरी प्रधान कार्यालयमा २ करोडको घोटला : ‘कागजी एम्बुलेन्स’लाई भुक्तानी

तर नियम मिचेर प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखाले सामान दाखिलानै नभइ भुक्तानी दिएपछि प्रहरी हेडक्वार्टरमा अख्तियारले निगरानी बढाएको एकजना वरिष्ठ प्रहरी अधिकृतले जानकारी दिएका छन् ।

यी सबै सन्दर्भहरु बाहिरिँरहँदा प्रहरी प्रधान कार्यालयले भने ढाँटेको ढाँट्यै छ । कार्यालयका एसएसपी कुबेर कडायतले एम्बुलेन्स आइसकेको भए पनि तातोपानीमा रोकिएको हुन सक्ने अनुमान व्यक्त गरे ।

यस्तै उनले सबै काम प्रक्रियागत रुपमा भएको जिकीर गरे । जबकि, प्रक्रिया गलत हुँदै मिचिइसकेको उच्च प्रहरी अधिकारीहरुलेनै स्वीकार गरिसकेका छन् ।
यो पनि हेर्नुहोस् :
‘कागजी एम्बुलेन्स’ भुक्तानी प्रकरण : कागज मिलाउँदै प्रहरी, छानविन समिति बनेन

सबै प्रक्रिया र काम सकेपछि मात्रै भुक्तानी दिनुपर्नेमा सामान दाखिलानै नगरी भुक्तानी दिइएपछि प्रहरी प्रशासन ढाकछोपमा उत्रिएको हो ।

प्रहरी प्रवक्ताको जवाफ : ‘योबारे मलाई पनि थाहा हुन्न’
एम्बुलेन्स दाखिलाविना भुक्तानीबारेमा सोध्दा प्रहरी प्रधान कार्यालयका प्रवक्ता निरज शाहीले आफूलाई योबारे थाहा नहुने बताए ।

“योबारेमा मलाई राम्रो थाहा हुन्न । अरुलाई सोध्नुपर्छ । एसएसपीलाई सोध्नुस् ।” पटक पटक फोन गर्दासम्म खासै नउठाउने प्रवक्ता शाहीले हामीसँग भने, ‘सम्बन्धित मान्छेलाई नै सोध्नुस् । एम्बुलेन्स तातोपानीमा रोकिएको हुन सक्छ ।’

प्रहरी प्रधान कार्यालयका प्रवक्ता निरज शाही

कार्यालयका एसएसपी कडायतले हामीलाई एम्बुलेन्स तातोपानीमा रोकिएको हुनसक्ने भन्दै बचाउ गरे ।एसएसपी कडायतले के पुष्टि गरे भने असार पहिलो साताभित्र ४ वटा एम्बुलेन्स प्रहरी प्रधान कार्यालयमा बुझाएर, प्राविधिक चेकजाँच परीक्षण, यातायात व्यवस्था कार्यालयबाट समेत सबै प्रक्रिया हुनुपर्ने सामान अहिले तातोपानीतीरै छ ।

“एम्बुलेन्स आइसकेको हो । तातोपानीको बाह्रबिसेमा रोकिएको छ ।” उनले भनेका छन्, ‘सबै काम प्रक्रिया अनुसारनै भएका छन् । कति पटक भनौं तपाईँलाई ।’ उनले एम्बुलेन्स हेडक्वार्टरमा नभएको पुष्टि गरे पनि प्रकरणको बचाउ गरे ।

समाचार बाहिरिएपछि कसले के भने ?
पूर्व डीआइजी हेमन्त मल्लले सामान दाखिला भइसकेपछि मात्रै भुक्तानी दिनुपर्ने बताए । “सामान दाखिलानै नभइ त भुक्तानी नदिनुपर्ने हो । यस्तो प्रावधान त छैन ।” उनले मकालु खबरसँगको कुराकानीको क्रममा भने,  ‘२० प्रतिशतसम्म चाहिँ अग्रिम भुक्तानी दिन सकिन्छ । यद्यपि सबै भुक्तानी त सामान दाखिला र चेकजाँच गरेपछि मात्रै दिने व्यवस्था छ । यो त बदनामी भयो नी ।’ उनले भनेका छन् ।

पूर्व डीआइजी हेमन्त मल्ल

पूर्व एसपी गोपीमान श्रेष्ठले पनि सबै भुक्तानी दिने कुरा आपत्तिजनक भएको र दिनु नहुने बताए । उनले हामीसँग भने, ‘सामान दाखिला नगरी पूरै भुक्तानी दिने कुरा त नौलो भयो ।’

यसैगरी वरिष्ठ एआइजी हरि पालले आफूले ‘कागजी एम्बुलेन्स भुक्तानी प्रकरण’बारे समाचारमा हेरेको बताउँदै यो बारेमा अबको कुरा कसरी आउँछ भन्नेबारे पर्खिरहेको बताए ।

“समाचार हेरेको थिएँ । त्यसमा अबको कुरा कसरी आउँछ भनेर पर्खिरहेको छु ।” उनले हामीसँगको कुराकानीमा भनेका छन्, ‘अहिल्यै बोलिहाल्ने स्थिति पनि छैन । पर्खिरहेको छु ।’

महालेखा परीक्षक टंकमणि शर्मा

यस्तै महालेखा परीक्षक टंकमणि शर्माले काम अगाडि नै भुक्तानी दिने कुरा मान्य नहुने बताए । “योबारेमा जानकारी छ । यद्यपि भुक्तानीको प्रकृति भने फरक नै देखियो ।” उनले भनेका छन्, ‘यो सबै कुरा अडिटको बेलमा थाहा हुन्छ ।

नियमविपरीत विचौलिया र कमिसनको चक्करमा सामान दाखिला र अन्य प्रक्रिया पूरा नगरी भुक्तानी दिनु भ्रष्टाचार हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *