पूर्वमन्त्री फत्तेसिंह थारुको निधन

बाँके । पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता फत्तेसिंह थारुको ८७ वर्षको उमेरमा नेपालगञ्जमा निधन भएको छ ।
वि.सं १९९६ मा बाँकेको थपुवा गाउँ (हाल बैजनाथ गाउँपालिका) मा जन्मिएका नेता थारुको हृदयघात भइ वेस्टर्न अस्पतालमा उपचारको क्रममा आज निधन भएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए ।
उनका अनुसार नेता थारुको दाहसंस्कार शुक्रबार राप्ती नदीको सिधनियाघाटमा गरिने भएको छ ।
राप्रपा नेता तेजविक्रम शाहका अनुसार, नेता थारु २०३८ साल र २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए ।
वि.सं २०५१ मा उहाँ बाँके निर्वाचन क्षेत्र नं–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । नेता थारु शिक्षा, सञ्चार, कृषि, रक्षा, उद्योग र वाणिज्यलगायत गरी सात पटक मन्त्री भएका थिए ।
नेता थारुले २०२३ सालमा बाँकेको हस्नापुर गाउँपञ्चायतको प्रधानपञ्च भएर राजनीति आरम्भ गरेका थिए ।
उनी तीन पटक बाँके जिल्ला पञ्चायतको सभापतिसमेत भएका थिए । नेता थारुका दुई श्रीमती तथा चार छोराछोरी छन् ।








