प्रहरी प्रधान कार्यालयमा २ करोडको घोटला : ‘कागजी एम्बुलेन्स’लाई भुक्तानी

काठमाडौं । व्यापारी, बोलवाला नेता र घुस्या प्रहरी अधिकृतको मिलेमतोमा फर्जी कामलाई सल्टाउँदै कसरी भ्रष्टाचार गरिन्छ भनेर बुझ्न प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन शाखाको पछिल्लो प्रकरणले पुष्टि गरेको छ ।

बोलपत्र नियमानुसार निर्धारित मितीमा सामान उपलब्ध गराएर प्राविधिक समितिले चेकजाँच पास गरेपछि मात्रै भुक्तानी दिनुपर्ने नियमविपरीत सेटिङ्ग मिलाएर व्यापारीलाई पोसेपछि अहिले प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन शाखा भ्रष्टाचारीहरुको अखडाको रुपमा दूषित हुन थालेको प्रहरीहरुनै बताउँछन् ।

बोलपत्र नियमानुसार यतिबेला प्रहरी प्रधान कार्यालयको परिसरमा ४ वटा एम्बुलेन्स हुनुपर्ने हो । अझ प्राविधिक चेकजाँच परीक्षणमा पास भएको प्रमाणपत्रसहित निर्देशनालयमा बुझाएर यातायात व्यवस्था विभागबाट प्रहरी प्रधान कार्यालयको नाममा नामसारी गरेपश्चात् मात्रै भुक्तानी दिनुपर्ने हो ।

तर नियम मिचेर प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखाले सामान दाखिलानै नभइ भुक्तानी दिएपछि प्रहरी हेडक्वार्टरमा अख्तियारले निगरानी बढाएको एकजना वरिष्ठ प्रहरी अधिकृतले जानकारी दिएका छन् ।

सेटिङ्ग क–कसको ?
प्रहरी प्रधान कार्यालय, प्रबन्ध निर्देशनालयका आर्थिक प्रशासन प्रमुखलाई सेटिङ्ग मिलाएर प्रहरी निरीक्षक केशवप्रसाद गौतमले साहस ट्रेडर्सका सुवर्णलाल श्रेष्ठलाई १ करोड ८९ लाखको चेक नियमविपरीत दिलाएका हुन् ।

सत्तारुढ नेकपाका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बामदेव गौतमको भतिज भनेर आफूलाई चिनाउने प्रहरी निरीक्षक केशवप्रसाद गौतम खरिद शाखाका हुन् ।

उनले माथिल्लो पहुँचबाट आर्थिक प्रशासन प्रमुख एसएसपी पुरुषोत्तम कँडेल र प्रबन्ध निर्देशनालय खरिद शाखाका एसपी प्रेम बस्नेतसमेतको मिलेमतोमा केही प्रभावशाली विचौलियाहरुलाई समेत साथ लिएर यस्तो सेटिङ्ग गरेको हेडक्वार्टर श्रोतको दावी छ ।

विवादित पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो कोर टिममा राखेका गौतमको पछिल्लो सेटिङ्ग बाहिरिएपछि अहिले प्रहरी वृतमा हल्लाखल्ला मच्चिएको छ ।

के हो बोलपत्र प्रक्रिया ?
गत १३ माघमा प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालयले ४ थान एम्बुलेन्स खरिदका लागि बोलपत्र सार्वजनिक गरेको थियो ।

सोहीबमोजिम २०७७ असार ३१ गतेभित्र ४ वटा एम्बुलेन्स प्रहरी प्रधान कार्यालयमा उपलब्ध गराएर चेकजाँच पास गरी भुक्तानी दिनुपर्ने सम्झौता थियो ।

साहस ट्रेडर्सका पहुँचवाला व्यापारी सुवर्णलाल श्रेष्ठ, वामदेव गौतमको कथित भतिज प्रहरी निरीक्षक केशवप्रसाद गौतमको प्रपञ्चमा एम्बुलेन्सनै दाखिला नगरी मिलेमतोमा भुक्तानी गराउन विचौलियाहरु सफल भए पनि अख्तियारले निगरानी बढाएपछि विचौलियाहरुको ओठमुख सुकेको चर्चा हेडक्वार्टरमा छ ।

यस विषयमा कुरा गर्न खोज्दा प्रहरी प्रवक्ता निरजबहादुर शाहीले आफू मीटिङ्गमा रहेको बताउँदै नेपाल छिरिसकेको सुनेको बताए ।
उता व्यापारी श्रेष्ठको फोन तीनचोटीसम्म पनि उठेन । यस्तै प्रहरी निरीक्षक केशवप्रसाद गौतमको पनि फोन उठेन ।

आइजीपी थापाको पहिलो गाँसमै ढुङ्गा हाल्ने प्रयास सफल
तुलानात्मक रुपमा इमान्दार छवी बनाएका नवनियुक्त आइजीपी शैलेश थापा क्षेत्रीलाईसमेत शुरुवाती चरणमै विवादमा तान्ने प्रपञ्च रचिएको प्रहरी प्रधान कार्यालयमा चर्चाको विषय बनेको छ ।

नयाँ नियुक्ति लिएर आएका थापाको कार्यकालको शुरुवाती चरणमा पुराना हर्ताकर्ताहरुको योजनावद्ध कारणले बदनाम व्यहोर्नु पर्ने निश्चित भएको छ ।

असारे विकास भनेर चिनिने ‘डोजर विकास’ जस्तै विकृत रुप प्रहरी प्रशासनमा सामान उपलब्ध नगरीनै भुक्तानी गर्ने शैलीलाई ‘एचक्यू सेटिङ्ग’को संज्ञा दिने गरिएको प्रहरी अधिकृतको भनाइ छ ।

राज्यका निकायहरूको बढ्दो आर्थिक अनुशासनहीनता र बेथितिका कारण भ्रष्टाचार मौलाइरहेको बेला कागजी एम्बुलेन्स रकम निकाशा प्रकरणलाई अख्तियारले निगरानीमा राख्नुलाई भने पूर्व प्रशासकहरु सकारात्मक मान्नुपर्ने बताउँछन् ।

कार्यकालको शुरुवातमै प्रहरी प्रधान कार्यालयमा भएको यस प्रकारको ‘विचौलिया सेटिङ्ग भ्रष्टाचार’लाई कसरी कारबाहीको भागिदार बनाउलाउन् आइजीपी थापाले, काउन्ट्डाउन शुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *