‘कागजी एम्बुलेन्स’ भुक्तानी प्रकरण : कागज मिलाउँदै प्रहरी, छानविन समिति बनेन

काठमाडौंप्रहरी प्रधान कार्यालयले ४ वटा एम्बुलेन्स खरिदमा सामान दाखिला नै नगरी व्यापारीलाई रकम भुक्तानी दिएको विषयमा अख्तियारले हात हाल्नु अगावै कागजात मिलाउन थालिएको छ ।

बोलपत्र नियम मिचेर सामान दाखिला नगरी नै प्रहरी अधिकृत र व्यापारीले सेटिङ्ग मिलाएर भुक्तानी गरिएको विषयले अहिले प्रधान कार्यालयका आधा दर्जन उच्च प्रहरी अधिकृतको होस् हवास गुमेको छ, अख्तियारले कतिबेला फाइल छापा हालेर कारबाही अघि बढाउला भनेर ।

के हुँदै छ प्रहरी हेडक्वार्टरमा ?
एम्बुलेन्स नल्याइ, प्राविधिक चेकजाँच पास नगरी नै प्रहरी, व्यापारी र विचौलियाहरुको सेटिङ्गमा ऐन, नियम र प्रक्रिया मिचेर रकम भुक्तानी गर्ने प्रहरी अधिकारीहरुको कदमलाई पूर्व डिआइजी रमेश खरेलले विडम्बनाको संज्ञा दिएका छन् ।

प्रहरी संगठनकै साख गिराउने यस्ता प्रवृत्तिको अन्त्यका लागि विशेष सुधार अभियान जरुर रहेको उनले बताएका छन् । ‘अनियमितता भइसकेपछि अब कुनै प्रहरी अधिकारी र व्यापारी जोगाउने होइन कारबाही अघि बढाउने हो ।’ उनले भने ।

प्रधान कार्यालयको पीसीसी बैठकमा एम्बुलेन्स भ्रष्टाचारको विषयले प्रवेश पाए पनि छानविन समिति नबनाएपछि वरिष्ठ प्रहरी अधिकृतहरु अख्तियारको हस्तक्षेपको पर्खाइमा पुगेका छन् ।

प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन शाखा भ्रष्टाचारीहरुको अखडाको रुपमा दूषित हुन थालेको समाचार सार्वजनिक भएसँगै छानविनको माग चर्को रुपमा उठिरहेको बताइएको छ ।

यसअघि कोषराज वन्तसहित आधा दर्जन उच्च प्रहरी अधिकारीहरुविरुद्ध यस्तै प्रकृतिको सामान दाखिला नगरी नै बिल भुक्तानी गरेको अभियोगमा थुनामा राखिएको थियो ।

विचौलियाहरुसँग तानाबाना बुन्नेहरु को को हुन् ?
आर्थिक प्रशासन प्रमुख एसएसपी पुरुषोत्तम कँडेल र प्रबन्ध निर्देशनालय खरिद शाखाका एसपी प्रेम बस्नेत, खरिद शाखाका प्रहरी निरीक्षक केशवप्रसाद गौतम र केही प्रभावशाली विचौलियाहरुलाई समेत साथ लिएर सेटिङ्गमै एम्बुलेन्स बिना नै भुक्तानी गरेर भ्रष्टाचार गरेको बाहिरिएको हो ।

सत्तारुढ नेकपाका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बामदेव गौतमको भतिज भनेर आफूलाई चिनाउने प्रहरी निरीक्षक केशवप्रसाद गौतमले साहस ट्रेडर्सका सुवर्णलाल श्रेष्ठलाई १ करोड ८९ लाखको चेक नियमविपरीत दिलाएर पैसा बाँडेको आरोप छ ।

गौतम विवादित पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो भित्रिया टोलीमा राखेर विचौलियाको भूमिकामा अघि बढाएको प्रहरी संगठनमा व्यापक चर्चा छ ।

कतिपयले तुलानात्मक रुपमा उच्च छवी बनाएको भनिएका नवनियुक्त आइजीपी शैलेश थापा क्षेत्रीको कार्यकालको पहिलो गाँसमै ढुंगा हाल्ने प्रयास सफल भएको भन्दै भ्रष्टाचारीलाई कारबाही गरेर प्रहरीको साख जोगाउनुपर्ने मत अघि सारेका छन् ।

कागज मिलाएर लुकाउन किन अघि सर्यो प्रबन्ध निर्देशनालय ?
नक्कली भुक्तानी प्रकरण छताछुल्ल भए पनि विवादित कागजात मिलाएर व्यापारी र प्रहरी अधिकृत चोखाउने प्रयासमा प्रबन्ध निर्देशनालय र आर्थिक शाखाका अधिकारीहरु खुलेआम लागेपछि प्रहरी हेडक्वार्टरमा हल्लाखल्ला मच्चिएको छ, आइजीपी सचिवालय के हेर्दैछ भनेर ।

कतिपय वरिष्ठ प्रहरी अधिकारीहरु आइजिपी थापा यो प्रकरणमा प्रत्यक्ष नमुछिए पनि अनदेखा गर्नुलाई निको मानिरहेका छैनन् ।मिडियामा अनियमितता र बेथितिबारे छरपष्ट आइसकेपछि पनि एक्सन नलिनु भविष्यमा उनी भ्रष्टाचारमा मुछिने संकेत हो ।

राम्रो छवीका भनिए पनि अब भ्रष्टाचार प्रकरणमा नदेखेझैं गरेर यस्ता सामानै दाखिला नगरी रकम निकासा गर्ने शैलीमा कारबाही र अंकुश लगाउन नसके उनलाई कुन गिरोहले कहाँ कतिबेला मुच्छ त्यतिबेला मात्रै होस खुल्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *