विश्व बैंकद्वारा नेपाललाई अहिलेसम्मकै ठूलो रकम ५४ अर्बको ऋण सहयोग, सडक पूर्वाधार सुधारका लागि सम्झौता

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरको सडक सहयोग आयोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा ४५ करोड अमेरिकी डलर (करिब ५४ अर्ब रुपैयाँ) बराबरको आर्थिक सहयोग रहेको सडक सहयोग आयोजनामा हस्ताक्षर भएको हो ।

नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले उक्त आयोजनाको सम्झौतामा हस्ताक्षर गरेका छन् । विश्व बैंकले कोरोना पछि नेपालको आर्थिक गतिविधिलाई बढाउन सडक सहयोग आयोजना अन्तर्गत उक्त रकम सहयोग गरेको हो ।

आयोजनाले यातायात पूर्वाधारको क्षमता, सुरक्षा र सुधार लगायत सीमापार व्यापारको दक्षतामा सुधार गर्नका लागि उक्त रकम खर्च गर्नेछ ।

सहयोग सम्झौता कार्याक्रममा बोल्दै अर्थमन्त्री डा युवराज खतिवडाले सहयोग रकमले सीमापार बजारलगायत सडक सञ्जालको विस्तार र राष्ट्रिय एकीकरणलाई बढवा दिँदै कोरोना पछिको आर्थिक पुनरुत्थानलाई सघाउने बताए । उनले नेपालमा आर्थिक वृद्धि गर्न, राष्ट्रिय र क्षेत्रीय आर्थिक एकीकरणलाई तीव्रता दिन र दिगो विकासका लक्ष्यहरुलाई प्राप्त गर्न आयोजना सहयोगी हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *