३७ करोड बढीको राजश्व छली : दुई कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता

काठमाडौँ । राजश्व अनुसन्धान विभागले दुई कम्पनी विरुद्ध ३७ करोड बढीको राजश्व छलीको मुद्दा दर्ता गराएको छ । झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी ३७ करोड साठी लाख २८ हजार ७ सय रुपैयाँ राजश्व छली गरेको आरोपमा काठमाडौँका दुई कम्पनी विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको हो ।

काठमाडौँ महानगरपालिका १ स्थित युनिक वाइड इन्टरनेशनल प्रा.ली. र युनिक इन्टरनेशनलका सञ्चालक/प्रोपराइटरलाई ३७,६०, २८,७०० रुपियाँ बिगो असुल गरी जरिवाना र कैद माग दाबी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

दुवै कम्पनीले बस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजश्व चुहावट गरेको कसुर देखिएको छ ।

राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा ३ ले निषेधित तथा सोही ऐनको दफा ४ को खण्ड क, ख र छ बमोजिम कसुर गरी युनिक वाइड इन्टर नेशनल र न्यु युनिक इन्टरनेशनललाई कूल ३७ करोड ६० लाख २८ हजार ७०० को राजश्व चुहावटको बरदात स्थापित भएको विभागले जनाएको छ ।

दुवै कम्पनीका सञ्चालक/प्रोपराइटर र नक्कली विल विजक उपलब्ध गराउने भुवन पाण्डेसमेतलाई उल्लिखित कसुर बमोजिम राजश्व चुहावट अनुसन्धान ऐन २०५२ बमोजिम जरिवाना र कैद सजाय हुने गरी मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *