म्याग्दी पहिरो अपडेट : २७ जनाको मृत्यु, ४ अझै बेपत्ता, करिब एक हजार विस्थापित

काठमाडौँ । अविरल वर्षासँगै शुक्रवार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनको सङ्ख्या २७ पुगेको छ । म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा आएको पहिरोमा परी मृत्यु हुने २७ जनाको शव फेला परेको र ४ जना अझै बेपत्ता रहेको म्यादी प्रहरीले जानकारी दिएको छ ।
धवलागिरि गाउँपालिकामा मात्रै १८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरण जङ्ग गुरुङले बताए । मृत्यु हुनेमा धवलागिरि–६ मराङका तुबहालुर क्षेत्री, सुकना लामागादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कलला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, १८ वर्षका प्रकाश केसी, अन्दाजी ३३ वर्षीया हिरामति जुग्जाली, ७ वर्षीया करिश्मा, ५ वर्षीया कञ्चन, ५५ वर्षीया गौशरा, २० वर्षीया दिमा, उनकी छोरी ४ वर्षीया दिप्ती र एक वर्षका छोरा दिवान जुग्जाली रहेका छन् ।
याे पनि- म्याग्दी पहिरो अपडेट : १३ जनाको शव भेटियो, १८ जना अझै बेपत्ता-खोजी कार्य जारी
धवलागिरी–६, कल्लेरीका ५१ वर्षीया जमिना केसी र १६ वर्षीय सविन पुन अझै बेपत्ता छन् । हराएका भनिएका मराङ रिखाका ४० वर्षका धनबहादुर जुग्जाली, १५ वर्षीया रितु कुमारी र ५ वर्षीय अर्जुन जुग्जाली भने सम्पर्कमा आएको प्रहरीले जानकारी दिए ।
यस्तै मालिका गाउँपालिकाको पहिरोमा परेर ८ जनाको मृत्यु भएको छ । मालिका–७ विमका ४० वर्षीय विष्णु पौडेल, ४ वर्षीय इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, विष्णु नेपाली, सन्दीप नेपाली, वीरबहादुर नेपाली र उनका तीन महिनाकी छोरी निशाको मृत्यु भएको छ ।
यस्तै रघुगंगा गाउँपालिका–६ ठाडाखानीका अन्दाजी ५० वर्षका नलिमान छन्त्यालको पनि मृत्यु भएको छ ।
यस्तै प्रहरीका अनुसार १२ जना घाइतको उद्धार गरिएको छ । घाइते मध्ये ४ जनालाई पोखरास्थित मणिपाल अस्पताल पठाइएको छ । एक जनालाई काठमाडौंस्थित मेडिसिटी अस्पताल पठाइएको छ र सामान्य घाइते ७ जनाको भने बेनी अस्पतालमा उपचार भइरहेको छ ।
पहिरोका कारण जोखिममा परेका करिब एक हजार जनालाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । उनीहरूलाई खानको लागि ड्राइफुड, दाल चामल लगायत पाल, ब्ल्याङ्केट तथा कम्बल वितरण गरिएको छ ।
उद्धारमा स्थानीयसहित तीन वटै सुरक्षा निकाय खटिएको प्रहरीले जानकारी दिएको छ ।








